विदेशमा नेपालीहरूको दशैँ : कोही रमाइलोसँगै मनाउँछन् त कोही पसिना बगाउँदै काममा जान्छन्

काठमाडौं । हरेक वर्ष हजारौँ नेपाली युवायुवतीहरू रोजगारीका लागि विभिन्न मुलुकहरूमा गएका छन् । दशैँ, तिहारजस्ता चाडपर्वमा उनीहरूका भिन्नाभिन्नै अनुभव छन् ।

कसैले रमाइलोसँग आफन्त तथा नेपाली दाजुभाइहरूसँग दशैँ मनाउने गर्छन् भने कतिपयले छुट्टी नै नपाएर घरपरिवार र आफन्तलाई सम्झिँदै काम गर्ने गरेका छन् । लोकपथले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका नेपालीहरूले कसरी दशैँ मनाउँदैछन् भनेर जान्ने प्रयास गरेको छ ।

सुमन भुषाल, अष्ट्रेलिया
सामान्यतया यहाँ नेपालीले मनाउने दशैँ नेपालमा जस्तै हुन्छ । काममा बिदा मिलाउने, नयाँ कपडा किन्ने, घटस्थापनाका दिनमा जमरा राख्ने, फूलपातीको दिनमा कामबाट बिदा मिलेको छ भने हिन्दु मन्दिर जाने, पूजाआजा गर्ने गरिन्छ । त्यसैगरी अष्टमीको दिनमा नेपालीकै पसलबाट खसी ल्याउने र त्यसलाई काटेर मासुका विभिन्न परिकार बनाउने अनि नातागोता भए उहाँहरूसँग र नभए आफन्तहरूसँग मिलेर खाने चलन छ ।

त्यस्तै, दशैँका दिनमा टीका लगाउन आफन्तकोमा जाने, टीका लगाउन आउनेलाई टीका लगाइदिने, परिवारबाट टाढा भए पनि सकेसम्म रमाइलो गरी मनाउने गर्छौँ ।
तर यस वर्ष कारोना संक्रमणका कारण सिड्नीको लकडाउन अझै खुलेको छैन । त्यस कारण टीका लगाउन सक्ने अवस्था देखिन्न । लकडाउनका कारण आवतजातमा यहाँको सरकारले सहजीकरण गर्ने÷नगर्ने भन्ने यकिन भएको छैन ।

मधुकर (साइमन) अर्याल,कतार
यहाँ दशैँ खासै दशैँ रमाइलो गरी मनाउनै पाइँदैन । गत वर्ष म म बिदामा आएका बेला कोरोनाका कारण फेरि फर्केर लामो समय कतार जान पाइएन । गत वर्ष घरमै भए पनि कोरोना संक्रमणका कारण दशैँ रमाइलोसँग मनाउन पाइएन ।

परिवारबाहेक आफन्तकोमा टीका लगाउन गइएन । यसपालि यहाँ छु । तर दशैँका दिनमा मेरो बिदा छैन । घरपरिवार, आफन्त तथा साथीभाई सम्झेर विरक्त लाग्छ । टीकाका दिनमा बिदा नै भए पनि यहाँ हाम्रो देशमा जस्तो रमाइलो गरी मनाउन सकिँदैन ।

आफूसँग काम गर्ने, कोठामा बस्ने नेपाली दाजुभाइहरूसँग मिलेर अलिअलि खानपान गर्नेभन्दा अरु खासै केही हुँदैन । त्यही पनि कसैको दिनमा काम त कसैको रातिमा काम हुन्छ । त्यसैले पनि सबै जना एकैचोटी भेट भइँदैन । नेपालीहरू एकै ठाउँमा हुन नपाएपछि दशैँको अर्थै हुँदैन ।

मानबहादुर ज्ञवाली
साउदी अरब

अरब मुसलमानहरूको देश हो । यहाँ दशैँका लागि भनेर छुट्टी दिँदैन । कम्पनीले दिने बिदाबाहेक अरु कुनै खालको बिदा दिँदैन । दशैँ आए पनि बाधयात्मक रूपमा काममा जानुपर्छ । गाउँ, घर, परिवार सबैको याद आउँछ । तर के गर्नु ? हाम्रो गरिबी । काम गर्नै प¥यो । गत वर्ष पनि दशैँमा बिदा भएन । यसपालि पनि बिदा छैन ।


तर एउटै कम्पनीमा काम गर्ने, एउटै कोठामा बस्ने नेपाली दाजुभाइहरूसँग मिलेर काम सकिएपछि दशैँको खानपिन गरेर भए पनि दशैँ सम्झने गर्छाैँ । यहाँ हामीले जमरा राख्ने, देवीको पूजाआज गर्ने, आफन्तकोमा टीका थाप्न जाने खासै हुँदैन । त्यसैले हरेक वर्षको दशैँले घर, परिवार, आफन्त र साथीभाइलाई सम्झाउँछ ।

हरी भुषाल
अष्ट्रेलिया

विदेशको दशैँ कहीँ न कहीँ केही नमिलेको जस्तो हुन्छ । केही छुटेको जस्तो हुन्छ । दशैँ हाम्रो महान् चाड भएकाले आफूभन्दा ठूलाबडाको आर्शीवाद लिने र सानालाई माया गर्ने भन्ने भावना मिश्रित हुनुपर्ने हो । तर त्यस्तो नभएर बढी मात्रामा देखावटी, तडकभडक, आयातित संस्कृतिको अनुशरण गर्ने गरिन्छ । त्यो राम्रो होइन ।

तर यहाँ न त वर्षभरि कुरेर दशैँको स्वादिलो मासु खान पाइन्छ, न त यहाँ छिमेकमा दशैँका लागि कुनै पिङ नै हुन्छन् । न त जमरा राख्ने बेलामा ढोलक नै बजाइन्छ । त्यसैले यहाँको दशैँ केवल आफ्नो संस्कृति, आफ्नो जन्मथलोमा बिताएका क्षणहरू सम्झना मात्र हुनेगरेको छ ।

हतार हतारमा परिवारका सदस्य तथा आफन्तहरूसँग भेटघाट र आशीर्वाद लिन नपाउँदै काममा दौडिनुपर्ने बाधयता छ । यहाँको दैनिकी यस्तै हो । हामीले चाहेअनुसार आफ्नै देशमा मनाएझैँ दशैँ मनाउन चाहेर पनि सकिँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?