दशैँको मुखमा चरम महँगी : भान्सादेखि यातायातसम्म उपभोक्ताको ढाड सेक्दै

काठमाडौं । दशैँको मुखमा महँगीका कारण उपभोक्ता चरम मारमा परेका छन् ।

दशैँ लागेसँगै भान्सादेखि यातायातसम्म महँगी बढेपछि उपभोक्ता चरम मारमा परेका हुन् । सरकारको फितलो अनुगमनका कारण अहिले बजारमा अधिकांश दैनिक उपभोग्य वस्तु, तरकारी फलफूल, लत्ता कपडा लगायत अधिकांशको मूल्य वृद्धि भएको छ । सरकारले नियमित रूपमा बजार अनुगमन नगर्दा तथा दोषीदलाई कडा कारबाही नगर्दा बजारमा उच्च रूपले महँगी बढेको हो ।

पछिल्लो समय तरकारी, फलफूल, दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, गेडागुडी, खानेतेल, लत्ता कपडालगायतको मूल्य वृद्धि भएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि मात्रै भएको छैन, खुद्रा पसलेहरूले पसलैपिच्छे फरक–फरक मूल्य लिएका छन् । उपभोक्ताले वास्तविक मूल्यमा दैनिक उपभोग्य वस्तु खरिद गर्नै पाएका छैनन् । तरकारीमा लगभग दोब्बरले मूल्य वृद्धि भएको छ ।

१०० रुपैयाँभन्दा घटी कुनै पनि तरकारीको मूल्य छैन । उत्पादन कम भएको भन्दै व्यवसायीले मनपरी मूल्य वृद्धि गरेका छन् । जति मूल्य बढे पनि उपभोक्ताले भने चुपचाप खरिद गर्न बाध्य छन् । त्यस्तै, बजारमा लत्ताकपडाको मूल्य २० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।

घटस्थापनापछि बजारमा चहलपल बढेको छ । तर कारोबार भने त्यति नभएको व्यवसायीको गुनासो छ । बजारमा दैनिक उपभोग्य वस्तु मात्रै होइन, हवाई तथा स्थलमार्ग (सार्वजनिक यातायात)को भाडा वृद्धिले उपभोक्ता थप मारमा परेका छन् । पछिल्लो समय सरकारले चाडबाडलक्षित अनुगमन सुरु गरेको छ ।

दोहोरो मारमा उपभोक्ता

कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र ध्वस्त भयो । कतिको रोजगारी गुम्यो । कतिको तलब सुविधा कटौती भयो । त्यसले गर्दा आम उपभोक्ताको क्रयशक्तिमा ह्रास आयो । क्रयशक्तिमा ह्रास आएलगत्तै उपभोक्ताले अत्यावश्यक वस्तु हेरेर मात्रै खरिद गर्ने अवस्था आयो । त्यसैमाथि दैनिक उपभोग्य वस्तु यातायातको भाडादर समेत वृद्धि हुनुले उपभोक्तालाई थेग्नै नसक्ने गरी भार परेको छ । दशैँको मुखैमा यसरी बढेको महँगीले उपभोक्ताको ढाड सेकिएको छ ।

निरिह उपभोक्ता अधिकारीकर्मी

बजारमा चरम मूल्य वृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरूले कुनै पहलकदमी चाल्न सकेका छैनन् । ‘सरकारले चाडबाडलक्षित गरेको अनुगमन प्रभावकारी छैन’ भन्नुबाहेक उनीहरूको अरु खासै प्रगति देखिँदैन । उपभोक्ताका अधिकारका लागि निरन्तर लडिरहेको बताए पनि उनीहरूको पहल पनि खासै प्रभावकारी देखिँदैन ।

सरकारलाई मौसमी अनुगमन गर्ने भन्दै आरोप लगाए पनि उनीहरूको पहल पनि त्यति प्रभावकारी छैन । तैपनि उनीहरू निरन्तर पहल गरिरहेको भन्न छुटाउँदैनन् । ‘सरकार अरु समयमा सुतेर बस्ने तर चाडबाड आएसँगै देखावटी अनुगमन गर्छ’, उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले भने ।

चाडबाडको वरिपरि उद्योगी तथा व्यवसायीहरूले दैनिक उपभोग्य वस्तुमा उपभोक्ताको ढाड सेक्ने गरी मूल्य वृद्धि गर्ने तथा कालोबजारी गर्दा पनि सरकारले प्रभावकारी अनुगमन गरेर आम उपभोक्तालाई राहत महसुस गराउन नसकेको उनको भनाइ छ ।

‘उपभोक्ताले महसुस गर्नेगरी बजार अनुगमन हुन सकेको छैन’, तिमल्सिनाले भने । सरकारको देखावटी अनुगमन सरकारको देखावटी र मौसमी अनुगमनले बजारमा हुने कालोबजारी र मूल्य वृद्धि नियन्त्रण हुने देखिँदैन । चाडबाडको मौका छोपेर व्यवसायीहरूले बजारमा अधिकांश दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि गर्ने गर्छन् ।

जसका कारण चर्काे मूल्य तिर्नुपर्दा उपभोक्ता मारमा पर्ने गरेका छन् ।तर, सरकारको चाडबाडलक्षित अनुगमनले आम उपभोक्तालाई राहत भने दिन सकेको छैन । तर पनि निरन्तर बजार अनुगमन गरिरहेको सरकारले जनाएको छ । ‘हामीले अनुगमनलाई तीव्र बनाएका छौँ’, उद्योग आपूर्ति तथा वाणिज्य विभागका प्रवक्ता शिवराज सेँढाइले भने । अनुगमनका साथै कारबाहीको दायरा पनि बढाइएको उनले बताए ।

सरकारले अहिले अनुगमन टोलीको संख्या बढाएको छ । सामान्य अवस्थामा २÷३ वटा टोलीले मात्रैले अनुगमन गर्दै आएकोमा अहिले संख्या बढाएर छवटा पु¥याएको छ ।

सरकारले अनुगमनलाई तीव्रता दिएको बताए पनि बजारमा महँगी भने ज्यूँका त्युँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?