दशैँ नमनाउने हिन्दु गाउँको कथा (भिडियोसहित)

काठमाडौंको चक्रपथबाट करिब आधा घण्टाको दूरीमा रहेको गाउँ हो, खोकना । ललितपुर वडा नम्बर २१ मा पर्ने यो गाउँ कला, संस्कृति र सम्पदाले भरिपूर्ण छ ।

हिन्दु धर्मावलम्बीहरुको महान् पर्व दशैँ नजिकिँदै गर्दा यहाँ भने सिकाली जात्रा धुमधामले चलिरहेको छ । त्यसो त हिन्दु धर्मावलम्बीहरु दशैँको रमझममा रमाइरहँदा यहाँका स्थानीय भने सिकाली जात्रामा रमाउँछन् ।

यो मन्दिर र जात्राप्रति यहाँका स्थानीयको अथाह आस्था छ। दशैँलाई नै ओझेलमा पार्ने यो जात्राको महत्व र विशेषता के होला ? जात्रा कसरी मनाइन्छ होला ? यी र यस्तै जिज्ञासा मेटाउन हामी खोकनाका विभिन्न गल्ली र बस्ती डुल्यौँ ।

खोकनालाई दशैँ नमनाउने गाउँ भनेर पनि चिनिन्छ । खासमा यहाँका स्थानीयले दशैँ नै नमनाउनेभन्दा पनि असोज कात्तिकमा पर्ने बडा दशैँचाँहि नमनाउने रहेछन् ।

दशैँमा नेवार समूदायले कृषि सामग्रीहरुको पूजा गर्ने चलन छ । यहाँका नेवार समूदायले गाइजात्राको अघिल्लो दिन नै उक्त पूजा गर्ने गर्छन् ।

नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको यो गाउँमा महर्जन र डंगोल जातिको बाहुल्यता छ । यहाँका पुर्खाहरु काठमाडौंको पचलीदेखि कुदेश हुँदै अहिलेको ठाउँमा आएर बसेबास गरेका हुन् । करिब ७ सय घरधुरी रहेको यो गाउँमा करिब ४ हजार जनाको बसोबास रहेको छ।

यहाँका स्थानीयले कुखुरा पाल्दैनन् भने कतिपयले लसुन पनि खाँदैनन् । तोरीको तेलका लागि पनि प्रसिद्ध ठाउँ हो, खोकना ।

यहाँको प्रमुख धार्मिकस्थल हुन्, रुद्रायणी मन्दिर, सिकाली मन्दिर, श्रीखण्ड भवानी आदि । यो मौसममा धानको बालाले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहनी लगाउँछ । खोकनाको सिकाली चौर त झन् पर्यटकीय हवको रुपमा नै विकास भइरहेको छ । त्यसो त यहाँ घुम्न आउने र म्युजिक भिडियोको सुटिङ गर्नेहरुको संख्या पनि बाक्लै हुनेरहेछ ।

मौलिक कला, संस्कृति र सम्पदाले भरिपूर्ण छ, खोकना । काठमाडौंमा बसेर ग्रामीण जीवनशैली अवलोकनका लागि पनि उत्तम गणतव्य हो, खोकना ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामग्री 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?