व्यवसायीहरूको दशैँ योजना : दुर्गा उपासनादेखि शोक मनाउनेसम्म

लोकपथ
273
Shares

काठमाडौं । यसपालिको बडा दशैँ कसरी मनाउँदै हुनुहुन्छ भनेर हामीले विभिन्न उद्योगी तथा व्यवसायीहरूसँग जान्ने प्रयास गरेका थियौँ ।

राजेन्द्र मल्ल
अध्यक्ष, नेपाल चेम्बर्स अफ कमर्स

कोरोनाको संक्रमण अझै सकिएको छैन । त्यसैले दशैँ मनाउँदा पनि स्वाथ्यसम्बन्धी मापदण्ड अपनाएर मनाउन पर्छ । कोरोना संक्रमण नसकिएकाले कतै घुम्न जाने योजनामा छैन ।

आफ्नै घरमा बसेर टीका थाप्ने,आशीर्वाद लिने, आफन्तसँग भेटघाट गर्ने नै हो । कोरोना संक्रमण नसकिएसम्म घुम्न जाने अरु कुनै नयाँ योजना बनाउनेजस्तो अवस्था छैन ।

भवानी राणा
पूर्वअध्ययक्ष, उद्योग वाणिज्य महासंघ

दशैँ हामी नेपालीहरूको महान् चाड हो । यो चाड सबै नेपालीहरूले हर्षाेल्लासका साथ मनाउने गरिन्छ । व्यावसायिक हिसाबले भन्दा यो बेला विभिन्न उद्योग तथा व्यवसायले बोनस दिनुपर्ने भएकाले आर्थिक रूपमा केही भार पर्छ । तर व्यतिगत रूपमा भन्दा मैले हरेक वर्ष नवदुर्गा देवीका उपासना गरेर मनाउने गरेकी छु । नौ दिनसम्म पूजा गरेपछि अन्तिम दिन दशैँको टीका लगाएर मनाउने गरिन्छ ।

 

मैले विगत १५-१६ वर्षदेखि नै नवदुर्गाको उपासना र पूजा गर्नेगरेकी छु । त्यसले मलाई आत्मिक तथा मानसिक रूपमा आनन्द दिन्छ । हाम्रो हिन्दु धर्मअनुसार देवी दुर्गालाई शक्तिको प्रतिकको रूपमा पूजा गरिन्छ । त्यसैले उहाँको उपासना र पूजाले अध्यात्मिक शक्ति र शान्ति प्रदान गर्छ ।
तर गत वर्ष र यसपालिको दशैँ भने अघिल्ला वर्षहरूमा जस्तो सहज छैन । कोरोना संक्रमणका कारण व्यापार व्यवसाय सबै क्षेत्र शिथिल भएका कारण तल्लो मजदुरदेखि माथिल्लो तहसम्म आर्थिक रूपमा सबै प्रभावित भएका छन् ।

सतिश मोर
पूर्वअध्यक्ष, उद्योग परिसंघ

कोरोना संक्रमणका कारण गत वर्ष कतै घुमफिरमा गइएन । यसपालि कोरोनाको संक्रमण पनि केही कम भएको छ । त्यसैले विदेशतिर घुम्न जाने कि भन्ने विचारमा छु । यसपालिको दशैँमा युरोपतिर घुम्न जाने योजनामा छु । तर पूर्ण रूपमा योजना भने बनिसकेको छैन ।

अघिल्लो वर्षको दशैँमा पोखरातिर घुम्न गएका थियौँ । यसपालि कोरोना संक्रमण पनि कम भएसँगै परिवारसहित विदेशतिर जाने योजनामा छु ।

किशोर प्रधान
पूर्वउपाध्यक्ष, उद्योग वाणिज्य महासंघ 

गत वर्षजस्तै यसपालिको दशैँ उत्साहजनक हुनेछैन । कोरोना संक्रमणका कारण सम्पूर्ण उद्योग व्यवसाय पूर्णरूपमा प्रभावित भएका छन् । व्यापार व्यवसायले अझै राम्रोसँग लय समात्न सकिरहेको छैन । लगानीकर्ताले लगानी गर्नसक्ने अवस्था छैन ।

कोरोनाका कारण मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, स्वास्थ्य रूपमा प्रभावित भएको छ । जसले गर्दा आम नेपाली पूर्ण रूपमा खुशी हुन सकेका छैनन् ।

तर पनि हाम्रो महान चाड हो । सुखदुःख मनाउनै पर्छ । परिवारमा आफूभन्दा ठूलाबडाको हातबाट टीका लगाउने, आशीर्वाद लिने, आफन्तहरूसँग भेटघाट गर्ने । त्यसरी नै बनाउने हो ।

गुणनीधि तिवारी
खाद्यान्न व्यवसायी

दशैँ हाम्रो महान चाड हो । खासगरी दशैँ बालबच्चाका लागि रमाइलो हुने हो । तर हामीले पनि यसलाई परम्परागत रूपमा संस्कृतिको संरक्षण गर्दै मनाउनुपर्छ ।

खास गरेर हाम्रा चाडबाडमा अरुको संस्कृतिको देखासिकीभन्दा आफ्नै संस्कृतिअनुसार मनाउनुपर्छ । हाम्रो घरमा जे छ, त्यसैमा चित्त बुझाएर बनाउनुपर्छ ।

नरेश कटवाल
अध्यक्ष, नेपाल राष्ट्रिय व्यवसायी महासंघ
कोरोनाका कारण नेपालीहरूको दशैँ हर्सोल्लास छैन । व्यवसायीको कुरा गर्ने हो भने व्यवसायले शिर उठाउन सकिरहेको छैन । पुरानो व्यथाबाट माथि उठ्न सकेको अवस्था छैन । किनकि व्यवसायीले व्यवसाय राम्रो भएन, बैंकको ऋण तिर्न सकेनन् भने कसरी रमाएर दशैँ मनाउन सक्छन् ? तर हजारौँ दुःखकस्टका बाबजुद पनि हामीले दशैँ मनाउनै पर्छ ।

 

मेरो व्यक्तिगत कुरा भन्ने हो भने यसपालि मैले शोकको रूपमा मनाउँछु ।

यसपालि मैले टीका पनि लगाउँदिन । किनकि कोरोना संक्रमणका कारण हाम्रा कयौँ व्यवसायीहरूले ज्यान गुमाएका छन् । कयौँ व्यवसायीहरू पलायन भएका छन् । कयौँ टाट पल्टेका छन् भने कयौँले घरबार नै गुमाएका छन् । यीनैका लागि मैले शोका रूपमा मनाउने निर्णय गरेको छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?