भरियाको दशैँ : कोरोनाले दर्दनाक बनायो, कसरी मनाउने चाडपर्व ?

काठमाडौं। दोलखाका लामीडाँडाका प्रेमप्रसाद खतिवडा विगत ६-७ वर्षयता काठमाडौंको न्यूरोड आसपासमा भारी बोक्ने काम गर्छन् ।

उनले विगतका वर्षहरूमा प्रशस्तै काम पाउँथे । मासिक रूपमा १५-१६ हजारको हाराहारीमा कमाउँथे । कोठाभाडा तिरेर, खाना खर्च कटाएर मासिक रूपमा ८ हजारको हाराहारीमा बचत हुथ्यो ।

तर कोरोना संक्रमण सुरु भएपछि लामो समय बजार बन्द रह्यो । लामो समयपछि खुलेको बजारमा पनि चहलपहल छैन । अघिल्लो वर्षहरूमा जस्तै सर्वसाधारणको चहलपहल छैन । जसले गर्दा उनले काम पाउनै मुस्किल भएको छ ।

अहिले मुस्किलले मानिक रूपमा ६-७ हजार कमाउँछन् प्रेमप्रसादले । काम नहुँदा निकै सास्ती भएको उनी सुनाउँछन् । ‘कोरोनाले गर्दा काम पनि पाउन छाडियो, पहिले जस्तो कमाइ पनि हुँदैन’, उनले भने ।

भारी बोकेर गुजारा चलाउन निकै सास्ती भएको उनको गुनासो छ । उमेरले ६० वर्षको हाराहारीमा पुग्न लागेका खतिवडाका दुई जना छोरी र दुई जना छोरा छन् ।  छोराहरू गाउँमै तरकारी बेच्ने व्यवसाय गर्छन् । परिवारमा आम्दानीको राम्रो स्रोत नभएका कारण उनी भारी बोकेरै भए पनि केही आम्दानी गर्न काठमाडौँ झरेका थिए ।
‘कोरोनाका कारण आम्दानी कम भएपछि ‘दशैँ कसरी मनाउने’ भन्छन् खतिडा । साथै उनको स्वास्थ्य अवस्था पनि अलि नाजुक भएकाले खासै भारी बोक्न पनि सक्दैनन् ।

प्रेमप्रसादजस्तै दालेखाकै अर्का भरिया हुन्, कृष्ण कार्की । उनको समस्या पनि प्रेमप्रसादको भन्दा कम छैन । उनले भारी बोकेरै काठमाडौंमा परिवार पालेका थिए, छोराछोरी पढाएका थिए । तर लकडाउनका कारण बजार बन्द भएसँगै काम पाउन गाह्रो भयो ।

काम नभएपछि परिवार पाल्न धौधौ भयो । छोराछोरीको पढाइ पनि बिग्रियो । परिवार पाल्नै नसक्ने अवस्था भएपछि गाउँ पठाए । अहिले काम पाउन निकै समस्या छ । त्यसैमाथि भारी बोकेरै गुजारा गर्नेहरू थुप्रै छन् । त्यसैले दशैँ कसरी बनाउने भन्ने चिन्ताले उनलाई सताएको छ । ‘कमाइ छैन, कसरी मनाउने चावपर्व ?’ कृष्णले भने ।

आम्दानी कम हुँदा छाक टार्न पनि समस्या भइरहेका बेला चाडपर्व मनाउन आर्थिक जोहो गर्न निकै कठिन भएको उनले सुनाए ।
दोलखाका प्रेमप्रसाद र कृष्णको मात्रै होइन, अहिले भारी बोकेर दैनिक गुजारा चलाउने अधिकांश भरिया तथा मजदुरहरूको हालत यस्तै भएको छ ।

उनीहरूलाई दैनिक गुजाराकै चिन्ता भइरहेका बेला चाडपर्व मनाउन निकै मुस्किल भएको छ । दशैँ लाग्दा पनि बजारमा चहलपहल छैन । जसका कारण उनीहरूले काम पाउन नसक्दा चरम मारमा परेका छन् ।

काम नहुँदा उनीहरूलाई दैनिक छाक छार्न समेच धौधौ भएको छ । कोरोना सुरु हुनुभन्दा पहिले न्यूरोड, महाबौद्ध, नयाँ तथा पुरानो बसपार्क, रत्नपार्क, असन, क्षेत्रपाटी, कलंकी, कोटेश्वरलगायतका विभिन्न क्षेत्रको बजारमा निकै चहलपहल हुने गथ्र्याे ।

मजदुरहरूलाई पनि काम गर्न भ्याइनभ्याइ हुन्थ्यो । तर कोरोना संक्रमणको दोस्रो लहरका कारण बजार क्षेत्रमा भारी बोक्ने भरियाहरूको जीवन भयावह बन्दै गइरहेको छ । अघिल्ला वर्षहरूमा फुर्सद नपाउने भरियाहरू अहिले घण्टौँसम्म काम कुरेर बस्न बाध्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?