डलरले दुखायो राष्ट्र बैंकको टाउको : के हो वास्ताविकता ?

काठमाडौ । केही दिनयता डलरको माग उच्च हुनु र फिर्ता नआउनु राष्ट्र बैंकको टाउको दुखाइको विषय बनेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट डलरको माग उच्च भएपछि राष्ट्र बैंकलाई टाउको दुखाइको विषय बनेको हो । अहिले राष्ट्र बैंकमा डलरको सञ्चिति पनि घटेको छ । डलर घटेसँगै राष्ट्रले त्यसप्रति चासो देखाएको छ । राष्ट्र बैंकको चालू आर्थिक वर्षको पहिलो महिनामा डलर (विदेशी सञ्चिति) घटेको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा ३.२ प्रतिशतले घटेको छ ।

यस अवधिमा विदेशी सञ्चिति १३५३ अर्ब ८२ करोड कायम भएको छ । २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोडबराबरको विदेशी विनियम रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ साउन मसान्तमा ३.१ घटेर १२०६ अर्ब ५१ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा साउन मसान्तमा ४.६ प्रतिशतले कमी आई १४७ अर्ब ३१ करोड कायम भएको छ । २०७८ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले थाल्यो अनुगमन 

कोरोना संक्रमणका कारण केही समय आयात निकै कम भएको थियो । तर कोरोना संक्रमण केही कम भएर बजार केही मात्रामा चलायमान भएसँगै आयात बढ्न थाल्यो । आयात वृद्धि भएसँगै बैंक तथा वित्तीय संस्थाहरूले उच्च रूपमा डलरको माग गरे । डलरको माग बढेसँगै राष्ट्र बैंकले अनुगमन थालेको छ ।

‘विगतको समयको तुलनामा हाम्रो रिजर्भमा केही कमी आएको हो’, राष्ट्र बैंक स्रोतले भन्यो । डलरको सञ्चितिमा केही कमी आए पनि निकै भने नपरेको स्रोतको भनाइ थियो । ६÷७ महिनाको वस्तु तथा सेवाको आयात गर्न पुग्नेभन्दा तल झ¥यो भने त्यसलाई निकै दबाबमूलक मानिन्छ ।

तर पहिलो महिनाको सञ्चितिले ९.३ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यसैले खासै ठूलो समस्या नभएको स्रोत बताउँछ । कोरोनाका कारण आयात प्रभावित भएको र अहिले संक्रमण कम भएसँगै आयात उच्च रूपले बढेकाले डलरको माग बढेको छ । वैदेशिक रोजगारीमा जानेहरूले आफूसँग भएको पैसा साथमा लिएर आए, अथवा साथमा भएको पैसा पठाए । त्यस्तै, यहाँ भएका नीतिगत अप्ठ्याराहरूका कारण पछिल्लो समय मानिसहरू बाहिर गएका छैनन् । रेमिट्यान्स पनि घटेको छ ।

‘रेमिट्यान्स पनि घट्ने, मानिसहरू पनि बाहिर नजाने, बजारमा चलपलह बढ्ने हुन्छ । यस्तो अवस्थामा अनौपचारिक कारोबार पनि बढ्न सक्छ । त्यसैले राष्ट्र बैंकले हेर्ने, खोजी गर्ने काम त गर्नै प¥यो’, स्रोतले भन्यो । राष्ट्र बैंकले बाहिरबाट नै डलर नआएको हो कि अथवा बैंकहरूसँगै छ भन्ने कुरा मिहिन ढंगलले अध्ययन गर्दै छ ।

बैंकहरूले प्राथमिक पुँजीको ३० प्रतिशतसम्म डलर आफैँले राख्न पाउने व्यवस्था छ । त्यसभन्दा बढी भयो भने राष्ट्र बैंकलाई फिर्ता दिनुपर्छ । तर बैंकहरूबाट डलर फिर्ता नआउने र माग मात्रै बढी हुने भएका कारण राष्ट्र बैंकले अनुगमन थालेको होे । त्यससँगै राष्ट्र बैंकले डलरको सटहीमा पनि कडाइ गरेको छ ।

राष्ट्र बैंकले बैंकहरूलाई २०० डलरभन्दा बढी नगद सटही नदिन निर्देशन दिएको छ । पर्यटन भिसामा पनि प्रतिपासपोर्ट १ हजार ५ सय डलर मात्र सटही सुविधा दिएको छ ।

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठका अनुसार पछिल्लो समय उच्च रूपले आयात बढेको र रेमिट्यान्स घटेकाले डलर र शोधानान्तर स्थितिमा भार परेको बताए । ‘यो खासै ठूलो समस्या होइन, एकातिर आयात बढ्नु र अर्कातिर रेमिट्यान्स घट्नुले डलरको सञ्चितिमा केही चाप परेको हो’, उनले भने ।

चालू आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ५० अर्बबराबरको आयात भएको देखिएको छ । त्यस्तै, भदौमा १ खर्ब ६२ अर्बबराबरको आयात भएको छ । सो समान आयात गर्दा डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैले डलरको माग बढ्नुका साथै सञ्चितिमा समेत दबाब परेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?