दशैँ आयो, खाऊँला पिऊँला, कहाँ पाऊँला ?

लोकपथ
195
Shares

दशैँ आयो,
खाऊँला पिऊँला,
कहाँ पाऊँला,
चोरी ल्याऊँला,
धत् पापी,
म त छुट्टै बसूँला ।

नेपालीहरुको महान चाड दशैँ र तिहार नजिकिने क्रमसँगै नेपाली समाजमा यस्ता लोकोक्ति बुढापाकाको मुखबाट निस्कन थाल्छन् ।

यस्ता पौराणिक लोकोक्तिलाई नबुझ्नेहरुले रमाइलोका रुपमा ग्रहण गर्छन्, तर बुझ्नेहरुले यसभित्रका गम्भीर विषयवस्तुलाई सूक्ष्म ढंगले अध्ययन तथा अनुशरण गरी व्यवहारमा उतार्छन् ।

दशैँ नेपालीहरुको महान चाड मात्र होइन कि, चाडपर्वको पनि महान् चाड हो । किनकि दशैँको दिन एकसरो कपडा भए पनि राम्रो र नयाँ लुगा लगाउने तथा मीठो खाने प्रचलन यथावत् छ ।

त्यसकारण दशैँ र तिहारलाई अन्य चाडपर्वहरुको भन्दा बढी महत्व दिइएको पाइन्छ । संस्कृतिविद्हरु भन्छन्, अझै पनि दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका लागि दशैँ आउनु नै खान पिउनकै लागि हो ।’

दशैँमा चोरेरै भए पनि मीठो खानुपर्छ, नयाँ लाउनुपर्छ भन्ने कुरा उल्लिखित लोकोक्तिबाट प्रस्ट हुन्छ । प्राचीन कालमा चोरेर ल्याएर भए पनि वर्षमा एक पटक आउने दशैँ राम्रोसँग मनाउनुपर्छ भन्ने आम सर्वसाधारणको बुझाइ थियो ।

तर, त्यो भ्रम ग्रामीण बस्तीबाट बिस्तारै हट्दै गए पनि सहरी क्षेत्रमा भने फस्टाउँदै गएको छ । ग्रामीण क्षेत्रमा चोरी गरी दशैँ मनाउनुपर्ने अवस्था छैन । दशैँ ऋण जोहो गरेर भए पनि मनाउनुपर्छ भन्ने विश्वास बढ्दै गएको छ ।

लोकोक्तिले भनेझैँ छरछिमेकहरुबीच दशैँ मनाउन चोरी गर्नैपर्ने, चोरी गरी दशैँ मनाउँदा कसैलाई दुःख हुने भएकाले चोरलाई पापीको दर्जा दिने, कोही कसैले धत् पापी भन्दै चोरी गरेर दशै मनाउने छिमेकीबाट छुट्टै बस्न खोज्न थालेपछि ग्रामीण बस्तीबाट यस्तो परम्परा हराउन थालेको हो ।

हातको औँला भाँचीभाँची गाउँघरमा सुनाइने यो लोकोक्ति बढ्दो सहरीकरणसँगै सहरमा हाबी हुन थालेको छ । छरछिमेकको देखासिकीमा लागेर तडकभडकका साथ दशैँ मनाउने चलनसँगै चोरेरै भए पनि दशैँ मनाउनेहरुको जमात बढ्दो छ ।

विगतमा सामान्य तरिकाले दशै मनाउने प्रचलनमा परिवर्तन आएको छ । चाडबाडहरु दिनप्रति दिन महँगो बन्दै गएका छन् । दशैँमा फर्सी, काँक्रो, तरकारी, सुन्तलालगायतका फलफूल चोरी खानुलाई शुभ मानिन्थ्यो ।

ग्रामीण क्षेत्रबाट यस्ता प्रचलन हराइसकेका छन् । ग्रामीण क्षेत्रमा सक्रिय चोरहरु सहर पसेसँगै दशैँका नाममा ग्रामीण क्षेत्रमा हुने रमाइला परम्परा हराएका छन् ।

दशैँ हो या दशा

चाडपर्वहरु दिनप्रति दिन महँगो बन्दै गएका छन् । अर्काको देखासिकी र तडकभडक गरी मनाइने चाडपर्वहरु न्यून आयस्रोत भएका निम्न वर्गका लागि दशैँ नभएर दशा बन्ने गरेको छ ।

भगवान् भक्तिका नाममा बली चढाउनैपर्ने, माछा मासु खानुपर्ने, मीठो तथा नयाँ लुगा खरिद गर्नैपर्ने बाध्यताहरु नेपाली समाजका लागि जटिल बन्दै गएका छन् ।

विभिन्न क्षेत्रमा भरियाको काम गर्ने, ज्यालादर लिएर काम गर्नेहरु आफ्ना लागि दशैँ दशा हुने बताउँछन् । कोरोनाको कहरका कारण विगत ७ महिनादेखि अरुको भरमा पेट भरेकाहरुलाई चाडपर्वले पिरोलेको छ ।

दशैँ र दुर्घटना

दशैमा सवारी दुर्घटना अधिक हुनेगरेको छ । महानगरीय ट्राफिक प्रहरीका अनुसार, क्षमता भन्दा बढी यात्रु बोक्नु, ट्राफिक नियमको पालना नहुनु, तीव्र गतिमा सवारी हाँक्नु र मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटनाका घटना बढेका छन् ।

ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार दशैँमा करिब ९० प्रतिशत सवारी दुर्घटना चालककै लापरबाहीका कारण हुने गर्छन् । चाडबाडमा हुने दुर्घटना नियन्त्रण गर्न प्रहरीले विशेष जनचेतना तथा विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

दशैँ र चोरी

चाडबाड सुरु हुनेवित्तिकै काठमाडौंमा चोरीका घटना बढ्न थालेका छन् । आसन्न दशैँको पूर्वसन्ध्यामा पनि चोरीका घटना हुन थालेका छन् । चोरहरुले दिउँसोको समयमा अझै बढी चोरी गरेको पाइएको छ ।

चाडबाडका सरसामान खरिद गर्न घरमा जम्मा गरेको नगद तथा गरगहना चोरी गर्नेहरुको समस्या बढी देखिएको छ । जिन्सी जन्य सामग्रीहरुभन्दा नगद र सुनका गरगहना बढी चोरी हुनेका गरेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखामा रेकर्ड भएका घटनामा अन्य बेलामा भन्दा चाडवाडमा बढी चोरी, डकैती र लुटपाट हुनेगरेको छ ।

प्रहरीले चोरीबाट जोगिन आफैँले नै सुरक्षात्मक उपाय अपनाउनु पर्ने भन्दै नागरिकलाई बेलाबेलामा सचेतनामूलक सामग्री दिइरहेको छ । सार्वजनिक सवारीका साधनमा पकेटमारी, वगलीवारी, व्यापारी केन्द्र तथा सर्वसाधारणको बाग्लो भीडभाड हुने स्थानमा पनि चोरी र पकेटमारी हुने घटनाप्रति सचेत हुन उनले आग्रह गरे ।

दशैँ र उपत्यका

अघिल्ला वर्षहरुमा नेपालीहरुको महान चाड दशैँ मनाउन काठमाडौं उपत्यकाबाट करीब ३० लाख सर्वसाधारण बाहिरिने अनुमान गरी सोहीअनुसारको व्यवस्था गरिन्थयो तर यस पटक समय फेरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण अझै पनि मानिस पहिलेजसरी हिँड्न डुल्न सकेका छैनन् ।

काठमाडौं उपत्यकाको नागढुंगा फर्पिङ, साँगा जगाते, साँखु, मुड्खु बालाजु, रामकोटलगायतका नाकामा नियमित सुरक्षा चेकजाँच सञ्चालन गरी चाडबाडमा बाहिरिने र भित्रिनेहरुको संख्या र सवारीसाधनका विषयमा प्रहरी सूचना संकलन गर्नेगरेको छ ।

ठाउँ–ठाउँमा यात्रु सहायता कक्ष समेत राखिएको छ । सवारीसाधनमा कोरोना भाइरसबाट बच्ने सुरक्षा मापदण्ड अपनाएको नअपनाएको बारेमा पनि प्रहरीले चेकजाँच गरिरहेको छ ।

दशैँ र सार्वजनिक यातायात

यस वर्ष दशैँमा गोंगबु नयाँ बसपार्क लगायत राजधानीका विभिन्न स्थानबाट लामो र छोटो दुरीका बस सञ्चालन हुने बताइएको छ । यसपटक पनि पोहिलेजस्तै कोरोनाको कारण अनलाइन टिकटको व्यवस्था गरिएको र कोरोनाको जोखिमका कारण पनि धेरैजसोले फोनबाटै टिकट बुक गर्ने, अनलाइनबाट फाराम भर्ने गरेका छन् ।

अघिल्ला वर्षहरुमा यात्रुको चाप बढेका कारण बस अपुग हुने भएकोले लामो दूरीका जिल्लाहरुमा चार सयभन्दा बढी बस थपेर यात्रुहरुलाई गन्तव्यमा पुर्याइन्थयो तर यसपटक यात्रुको चाप त्यतिधेरै नहुने यातायात व्यवसायीको अनुमान छ ।

दशैँ र मदिरा

चाडबाडमा माछामासु अनिवार्य जस्तै भएकाले मदिराको खपत पनि अधिक हुने गरेको छ । मदिरा सेवनका कारण दशैँमा झै–झगडाका कारण कतिमपय स्थानमा व्यक्ति समूहको अकालमै ज्यान जाने गरेको छ ।

त्यति मात्र नभई सवारी चालकले मदिरा सेवन गर्नाले सवारी दुर्घटना हुने गरेको छ । प्रहरीले मदिरा सेवन गरी सवारी सञ्चालन नगर्न र गरेको पाइएमा कानुनी कारबाहीको चेतावनी दिएको छ ।

दशैँ र जनस्वास्थ्य

वरिष्ठ चिकित्सक डा. महेन्द्र विष्ट चाडबाडमा फुड प्वाइजनको समस्या बढी हुनेगरेको बताउँछन् । अत्याधिक चिल्लो, पिरो, तेलमा तारेको माछामासु रक्तचाप र मधुमेह भएकाहरुका लागि निकै हानिकारक हुने बताउँछन् ।

माछा, मासुका अतिरिक्त चिल्लोबाट बनेका परिकार बढी नै खाइने भएकाले मानव स्वास्थ्यका लागि खतरानाक हुने गरेको हो । दशैँमा स्वास्थ्यमा समस्या देखिनका साथै झाडापखाला लाग्न सक्ने डा. विष्ट बताउँछन् ।

यसबाट हरेक नागरिक सचेत हुन समेत उनको आग्रह छ । उनले भने, ‘चाडबाडमा नियमित खानपानभन्दा अलि फरक किसिमको खानपान हुने भएकाले शरीरले तत्काल पचाउन नसक्दा यस्तो समस्या आउने गरेको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?