आमाहरूको दशैँ अनुभूति : ‘बाल्यकालको दशैँ सम्झिँदा मुख रसाउँछ’

घिनघिन मादल बजाइदेऊ झ्याउरे 
राम्री राम्री तरुनीलाई फकाइदेऊ रे ।।

काठमाडौंको रविभवनस्थित आमाघरमा बस्दै आएकी सिन्धुपाल्चोककी कान्छी कार्कीले यो गीत गाउँदा उपस्थित झण्डै ३० जना आमाहरूको मलिन मुहारमा एक्कासि हाँसो छायो । कान्छी ‘आमा’ले आफ्नो बाल्यकालको दशैँ सम्झिँदै गाएको यो गीतमा अरु आमाहरुले पनि ताली बजाएर साथ दिए ।

बाल्यकालको दशैँ स्मरण गर्दै उनले भनिन्, ‘उहिले बालकदेखि वृद्धसम्म सबै जना भेला भएर बाटो बनाउने, चौतारा बनाउने सरसल्लाह गर्थे अहिले त जता पनि राजनीतिकै कुरा मात्रै गर्छन् ।’

बाल्यकालमा उनी दशैँका लागि भनेर एक हप्तालाई पुग्ने गरी घाँस काट्थिन् रे । दशैँमा पिङ खेल्ने, राम्रो कपडा लगाउने, मासुभात खाने गरेको उनलाई आजैजस्तो लाग्छ । यस्तै एक महिनासम्म आफन्तकोमा पाहुना बन्न गएको स्मरण पनि गर्छिन् उनी ।

आमाघरमै आश्रय लिइरहेकी अर्की आमा सीताको पीडाले धेरै आमाहरूको मन अमिलो बनायो । सानीमा, बुबा र दाइले उनलाई ९ वर्षकै उमेर विवाह गरिदिए । ‘जीवनमा खुशी कहिल्यै मिलेन बाबु, अरुकै खटनपटनमै जिन्दगी बित्यो ।’

उनले यसरी आफ्नो जीवनकथा सुनाइन् । उनका छोरा अहिले भारतमा छन्, तर ७ वर्ष बित्यो उनलाई एक पटक पनि सम्झेका छैनन् ।

प्युठानकी सीता बराल अहिले ७६ वर्षकी भइन् । दशैँमा दहीच्युरा, मासुच्युरा खाएको स्मरण ताजै छ उनलाई । राम्रो लुगा लगाउने र रमाइलोका लागि गाउँभरि डुल्ने गरेको उनी बताउँछिन् ।

यस्तै धुलिखेल घर भएकी ७८ वर्षीया सुकमाया लामाको दशैँ अनुभूति झनै अनौठो छ । ‘दशैँमा पिङ खेल्ने क्रममा म लडेँ, उपचारका लागि जाँदै गर्दा फेरि गाडी पल्टियो, अनि ड्राइभरको खुट्टा र मेरा हात भाँचियो’, उनले भनिन् ।

लामो समयदेखि आमाघरमै बस्दै आएकी काठमाडौंकी तनलक्ष्मी शाहीलाई बाल्यकालको दशैँ सम्झिँदा मुखै रसाउँछ ।

‘अण्डा, मासु, च्युरा, छोयला, कचिला खाने अहिले सम्झिँदा पनि मुख रसाउँछ ।’ उनले बाल्यकालको दशैँ यसरी स्मरण गरिन्।

प्रस्तुत छ, आमाहरूसँग गरिएको विस्तृत कुराकानी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?