सुदूरपश्चिम प्रदेश : बजार अनुगमनमा उदासिन छन् स्थानीय तहहरू

धनगढी । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ञ) ले स्थानीय बजार अनुगमन तथा व्यवस्थापनको जिम्मेबारी स्थानीय तहहरूलाई दिएको छ । ऐन अनुसार बजार मुल्य नियन्त्रण गर्ने र बजार अगनुमन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाहरूले पाएका छन्, तर कैलालीका अधिकांशं स्थानीय तहहरू बजार अनुगमन र मुल्यबृद्धि नियन्त्रणमा उदासिन देखिएका छन् ।

चाडबाड नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य अचाक्ली बढिरहेको छ । कृत्रिम अभाव र कालोबजारी भइरहेको जनगुनासो बढेको छ । उपभोग गर्ने म्याद नाघेका तथा मिसावट भएका वस्तुको बिक्री भइरहेको छ । तर, स्थानीय तहहरूले त्यसतर्फ सामान्य चासो पनि देखाएका छैनन् ।
सोमवार कैलाली जिल्ला प्रशासन कार्यालय नेतृत्वको संयूक्त अनुगमन टोलीले गोदावरी नगरपालिकाको महेन्द्रनगर रोडमा रहेको न्यू जयलक्ष्मी किराना पसलबाट ३९ हजार २० रुपैया मूल्यको अवैध सुर्तिजन्य पदार्थ र म्याद नाघेका खाद्य सामग्रीहरू बरामद गरेको थियो ।

अनुगमन टोलीले बजारमा म्याद नाघेका, अखाद्य बस्तु विक्री वितरण भइरहेको भेटेको थियो । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, कैलालीका निमित्त प्रमुख ललितप्रसाद पन्तले अनुगमनका क्रममा सुपर पावर नामको सुर्ती, बिडीं लगायतका सुर्तीजन्य पदार्थका साथै म्याद सकिएर खान अयोग्य खाद्य सामग्रीहरू जफत गरिएको जानकारी दिए ।

गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले सोमवार कैलाली जिल्ला प्रशासन कार्यालयको संयूक्त टोलीले बजार अनुगमन गरेको जानकारी दिए । सूचना अधिकारी भाटका अनुसार स्थानीय तहहरूको आफ्नै संयन्त्र भए पनि यस वर्ष दशैंतिहारलाई लक्षित गरेर बजार अनुगमन गरिएको छैन ।

उनले भने, ‘स्थानीय प्रशासनको संयूक्त टोलीमा नगरपालिकाका कर्मचारीको पनि सहभागिता रहेको थियो, तर हाम्रो आफनै संयन्त्रले यस वर्ष बजार अनुगमन गरेको छैन ।’ उनका अनुसार गत वर्ष दसैँ तिहारमा नगर उपप्रमुखको नेतृत्वमा बजार अनुगमन गरिएको थियो ।

धनगढी उमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बजार अनुगमन भएको विषयमा आफूलाई जानकारी नरहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयले गर्ने अनुगमनमै प्रतिनिधि पठाएर अनुगमन भइरहेको बताए पनि सो अनुगमन टोलीमा धनगढी उपमहानगरपालिकाको प्रतिनिधि सहभागी भएका छैनन् ।

धनगढी उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका अधिकृत योगेन्द्रबहादुर चन्दले तत्काल आफूले अनुगमनको विषयमा जानकारी दिन नसक्ने बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका सुदूरपश्चिम प्रदेश सचिव भोजराज जोशीले धनगढी उपमहानगरपालिकाले बजार अनुगमन गरेको विषयमा आफूलाई जानकारी नरहेको बताए ।

धनगढी र गोदावरीजस्तै कैलालीका अधिका“स स्थानीय तहहरूले सो समितिलाई सक्रिय बनाउन सकेका छैनन । सो ऐन अनुसार बजार अनुगमन समितिको संयोजक उपप्रमुख तथा उपाध्यक्ष हुन । तर, स्थानीय तहहरूले सो समितिलाई यस वर्ष सक्रिय बनाउन सकेका छैनन् ।
कैलालीको टीकापुर नगरपालिकाले असोज १२ गतेदेखि दुई दिन बजार अनुगमन गरेको थियो । बजार अनुगमन समितिका प्रमुख रन्जु आचार्यको नेतृत्वमा बजार अनुगमन गरिएको थियो ।

बजारमा अझै म्याद नाघेका सामान

कैलाली जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा धनगढी उपमहानगरपालिका र गोदवारी नगरपालिकाभित्र संयूक्त अनुगमन भएको छ । बजार अनुगमन गर्दा म्याद नाघेका, अखाद्य बस्तु, तोकिएको भन्दा बढी मूल्यमा सामग्री विक्री वितरण भइरहेको पाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनले भने, ‘हामीले बजार अनुगमन गर्दा म्याद नाघेका सामान बढी विक्री वितरण भइरहेको पाएका छौँ ।’

टीकापुर नगरपालिकाका सूचना अधिकारी रन्जु आचार्यले उपभोक्ताहरू सचेत नहुँदा बजारमा अखाद्य बस्तुहरू विक्री वितरण बढेको दाबी गरिन् । उनले भनिन्, ‘हामीले बजार अनुगमनसँगै उपभोक्ता सचेतना कार्यक्रम अघि बढाउनुपर्ने देखेका छौँ ।’
अचाक्ली मूल्यबृद्धि

दसैँ तिहार नजिकिएसँगै बजारमा किनमेल बढेको छ । बजारमा सामान किनमेल बढेपछि अखाद्य बस्तु विक्री वितरण, मूल्यवृद्धि हुने गरेको उपभोक्ताहरू बताउँछन् ।

उपभोक्ता अधिकार मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बजारमा व्यवसायीहरूले मनोमानी रुपमा मुल्य बृद्धि गरिरहेको बताउँदै सरकारी निकायले अनुगमन गर्न नसकेको बताए । उनले सरकारी निकायले अनुगमन एकलौटी रुपमा गर्ने गरेको र मुल्य नियन्त्रणमा ध्यान नदिएको आरोप लगाए ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको बजार अनुगमन समितिमा वाणिज्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कैलाली उद्योग वाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्च सदस्य छन् ।

अहिले बजारमा चिनी प्रतिकिलो ९० रुपैयाँ, मुसुरोको दाल प्रतिकिलो १४० रुपैयाँ, मासको दाल प्रतिकिलो १८० रुपैयाँ, राजमा दाल प्रतिकिलो १९० रुपैयाँ, अरहर दाल प्रतिकिलो २०० रुपैयाँ, तोरीको तेल प्रतिलिटर २८० रुपैयाँ र सनफ्लावर तेल प्रतिलिटर २९० रुपैयाँ पुगेको छ ।
केही साता अघिसम्म यी वस्तुको मुल्य १० देखि २० रुपैयाँ कम थियो । लत्ताकपडामा भने पसलैपिच्छे तीन सयदेखि एक हजार रुपैयाँसम्म वृद्धि भएको उपभोक्ताहरूले बताएका छन् ।

बाणिज्य कार्यालय कैलालीका प्रमुख ललितप्रसाद पन्तले दैनिक उपभोग्य वस्तुहरू (दाल, गेडागुडी, चामल, पिठो, चिनी, मसला, फलफूल लगायत) मा १० देखि २० रुपैया मुल्यबृद्धि भएको भेटिएको बताए । उनले दैनिक बजार अनुगमन गरिरहेको बताउँदै तत्काललाई खाद्य पसलको अनुगमन गरिरहेको बताए ।

टीकापुर नगरपालिकाद्वारा अनुगमनबारे जानकारी

टीकापुर नगरपालिकाले यसै साता १५ वटा पसलमा अनुगमन गरिएको बताएको छ । नगरपालिकाका अनुसार सात वटा होटल र नास्ता पसल, चार वटा डेरी उद्योग, एउटा तरकारी पसल, एक कपडा पसल र एक कृषि सामग्री पसलमा अनुगमन गरिएको थियो ।

नगरपालिकाले बुधवार दिएको जानकारी अनुसार अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद नाघेका सेन्चुरी मसाला ३९ पाकेट, पतञ्जलीको अचार एक डिब्बा, हाथी बेसन सात पाकेट, अरहरको दाल २६ किलो, सुजी छ पाकेट, गोल्ड फेसवास तीन थान, अशोका फुड कलर दुई पाकेट, चकलेट दुई पाकेट, अलाइट हेयर रिमुभल क्रिम दुई थान, आरसी कोल्ड ड्रिंक्स दुई बोतल, क्वीकस नौ पाकेट, टमाटरको बीउ १४ पाकेट, बरामद गरिएको छ ।
अनुगमनका क्रममा टोलीले स्थानीय तहमा व्यवसाय दर्ता नगरेका पसल/फर्महरूले सात दिनभित्र वडा कार्यालयमा व्यवसाय दर्ता गरि नगर कार्यपालिकाको कार्यालयमा जानकारी गराउन निर्देशन दिएको छ ।

त्यस्तै, साइनबोर्ड र मूल्यसूची नराखेका पसल/फर्महरूले तीन दिनभित्र राखेर नगर कार्यपालिकाको कार्यालयलाई जानकारी गराउने, म्याद नाघेका सामानहरू छुट्टै राख्न तत्काल एक्सपाएर जोनको व्यवस्था गर्ने, व्यवसाय स्थलमा आवश्यक सरसफाईको व्यवस्था गर्नुका साथै बिक्री वितरण गरिने खाद्य पदार्थहरूको स्वच्छतामा ध्यान दिन निर्देश दिइएको छ ।

त्यस्तै, खरिद बिक्री सम्बन्धी बिल÷बिजक अनिवार्य रुपमा राख्नुपर्ने, टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७६ र स्थानीय बजार व्यवस्थापन तथा अनुगमन नियमावली, २०७७ लगायत कानुनहरूको पालना गर्न निर्देशन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?