नाममात्रका सुपथ मूल्य पसल : सेवा होइन प्रतिनिधित्व मात्रै

सरकारले दशैँ, तिहारलगायतका चाडबाडलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

तर सो सुपथ मूल्य पसलले आम उपभोक्तालाई राहत दिनुको सट्टा आफ्नो प्रतिनिधित्व मात्रै गरेको देखिएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केही वर्षयता सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीले सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनुको सट्टा विभिन्न जिल्लामा आफ्नो उपस्थिति मात्रै जनाएको छ ।

‘अहिले हामीले हरेक जिल्लामा उपस्थिति जनाउने गरी काम गरेका छौँ’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी सर्मिला न्यौपाने (सुवेदी)ले भनिन् ।

चाडबाडको मौका छोपेर उद्योगी व्यवसायीहरूले अस्वाभाविक मूल्य वृद्धि तथा कालोबजारी गरिरहेका हुन्छन् । सरकारले सञ्चालन गर्ने यस्ता सुपथ मूल्य पसलले आम उपभोक्तालाई सुपथ मूल्यमा एकै ठाउँमा अधिकांश दैनिक उपभोग्य सामान उपलब्ध गराउनुपर्ने भए पनि त्यस्तो हुन सकेको छैन ।

खुद्रा पसलहरूमा पसलैपिच्छे फरक–फरक मूल्य छ । उनीहरूले वास्तविक मूल्यमा नभएर वृद्धि गरेर उपभोक्ता ठगिरहेका हुन्छन् । यस्ता ठगी र अस्वभाविक मूल्य वृद्धि रोक्न पनि यस्ता सुपथ मूल्य पसलले महत्वपूर्ण भूमिका खेल्ने भए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन ।

४३ स्थानमा सुपथ मूल्य पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकका विभिन्न ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले गत असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो । कम्पनीले आफ्ना कार्यालय रहेका ३९ जिल्लाका विभिन्न ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सरकारले हरेक वर्ष दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार यस वर्ष दाल, चामल, चिउरा, पीठो र तेलमा पाँच रुपैयाँ र भटमासको तेल, कर्णाली सिमी र मासुमा १० रुपैयाँ छुट दिनेछ ।

कहाँ–कहाँ छन् सुपथ मूल्य पसल
कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, सूर्यविनायक, नक्खु र लगनखेललगायतका स्थानमा सञ्चालन गरेको छ । यी स्थानबाट उपभोक्ताले आफूलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु खरिद गर्न सक्छन्

त्यस्तै, कम्पनीले उपत्यकाबाहिर हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, बनेपा, विराटनगर, विर्तामोड, नेपालगञ्ज, सुर्खेत, धनगढी, पोखरा, दाङ, महेन्द्रनगर, डँडेलधुरालगायतका स्थानमा सुपथ मूल्य पसलहरू सञ्चालन गरेको छ । यसका साथै कम्पनीले दशैँका लागि १ हजार ५ सय वटा खसीबोका समेत बिक्री गर्ने जनाएको छ ।

सेवा छैन प्रतिनिधित्व मात्रै

सकारले सञ्चालन गरेका यस्ता सुपथ मूल्य पसल नाममात्रैका पसल साबित भएका छन् । उपत्यकाका पसलहरूमा अधिकांश दैनिक उपभोग्य उपलब्ध भए पनि उपत्यकाबाहिरका पसलहरूमा प्रायः चामल मात्रै पाइन्छ । उपभोक्ताले त्यस्ता सुपथ मूल्य पसलबाट कुनै प्रकारका राहत पाउन सकेका छैनन् ।
‘उपत्यकाका पसलहरूमा अधिकांश दैनिक उपभोग्य वस्तुहरू पाए पनि उपत्यकाबाहिरका पसलहरूमा पाइँदैन’, सूचना अधिकारी न्यौपानेले भनिन् ।

सुपथ मूल्य पसलले नियन्त्रण गर्ला अस्वाभाविक मूल्य वृद्धि ?

सरकारले सुपथ मूल्य पसल सञ्चालन गरे पनि आम उपभोक्ताले राहत महसुस गरेका छैन । उपभोक्ताले पसलैपिच्छेका फरक मूल्यमा दैनिक उपभोग्य वस्तु किन्न बाध्य छन् । उनीहरूले व्यवसायीद्वारा गरिएको अस्वाभाविक मूल्य वृद्धिको भार उठाउन बाध्य छन् ।

कम्पनीले केही वर्षअघिदेखि मात्रै सुपथ मूल्य पसल सुरु गरेकाले तत्काल मूल्य वृद्धि र कालोबजारी रोक्न सम्भव नभएको सूचना अधिकारी न्यौपानेको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?