यात्रा प्रदेशको : नेपालीबाट नै ठगिन्छन् नेपाली यात्रु

धनगढी । डोटी बोगटान गाउँपालिकाका स्थानीय धिरेन्द्र बोगटी कैलाली कञ्चनपुर जोड्ने भारतीय नाका गौरिफन्टामा भेटिए । श्रीमती, भाउजु, छोरा, दाजुभाई सँगै सामान लिएर नाकामा बसेका उनी भारतमा भाउजुको उपचार गरेर फर्केका हुन् ।

दशैँतिहार नजिकिएकाले उनी जतिसक्दो छिटो आफ्नो घर पुग्न चाहन्थे । तर, उनीसँग घर जानका लागि टिकट काट्न समेत पैसा थिएन ।
ट्राभल्स एजेन्सीले भारतको लुदियानादेखि डोटीसम्मै पु¥याउने आश्वासन दिएपछि महँगो भाडा तिरेका थिए । तर, सोही एजेन्सीले उनलाई अल्पत्र छोड्यो ।

‘भारतको लुदियानाबाट दीपायलसम्मै पु-याउँछु भनेर बसले भनेपछि दुई हजार भारुको भाडा तिरे तर, नाकापारि नै त्यो बसले हामीलाई छोड्यो’ धिरेन्द्रले भने, ‘भाउजुको उपचार गराउन गएको थिएँ । बचेको पैसा बसभाडामै सकियो । अब अर्को टिकट काट्ने पैसा पनि छैन । कसरी घर पुग्ने होला ?’

आइतबार लुदियानाबाट बसमा हिँडेका उनी मंगलबार बिहान मात्र सिमावारि प्रवेश गरेका थिए ।
बोगटीकी भाउजु पूर्णादेवीले भनिन् ‘आफूले चिनेकै बस भनेर भाडा तिरेको हो । तर हामीलाई बीचमै छोडेर गयो । भारतीयबाट ठगिने गरेको त सुनेको थिएँ तर आफ्नैबाट पनि ठगिएँ ।’

धिरेन्द्र र पूर्णाजस्तै ठगिएका थिए सोही गाउँपालिकाका गज्जु क्षेत्री । उनले भने, ‘हामीले नाकामा कुनै समस्या झेल्न पर्दैन भनेर एजेन्सीमा पैसा तिरेर यात्रा गरेका हाैँ । तर, आफ्नो स्वदेशमा प्रवेश गर्नसम्म धेरै समस्या भोगियो ।’

उनले यात्रामा भोगेको समस्या सुनाउँदै भने, ‘बसको यात्राबाट डेढ दिनमै स्वदेश आउने आशा लिएका थियौँ तर बाटोमा रोक्दै हामीलाई तीन दिनमा यहाँ ल्यायो । बाटोमा न त राम्रोसँग खाना पाइयो । न त आराम नै गर्न पाइयो ।’

उनले यात्राका क्रममा विभिन्न ठाउँमा यात्रा गरिरहेका यात्रुबाट पैसा उठाएर भारतीय प्रहरीलाई बुझाउनुपरेको बताए ।

‘पलियामा किसान आन्दोलन भइरहेको थियो । त्यहाँ मात्र हामी दुई घण्टा जाममा प-यौँ । प्रहरीलाई पैसा दिएर गाडी त्रिनगर नाकासम्म मंगलबार बिहान मात्र पुगाए’, उनले भने, ‘अहिले गाडीवालाले हामीलाई यहीँ अल्पत्र छोडेर गयो ।’

ट्राभल्स एजेन्सीले सो गाडीमा यात्रा गरिरहेका सबैसँग पैसा लगेको तर टिकट नदिएको प्रतिक्रिया दिएका छन् । गज्जुले भने, ‘टिकट दिएन अब कसरी र कोविरुद्ध उजुरी गर्ने ? हामीले बढी भाडा ति¥यौँ तर, ठाउँमा पुग्न पाएको छैन ।’
उनी नाकामै रहेको एक गाडीलाई रिर्जभ गरेर आफनो गाउँ जाने तरखरमा थिए । उनीसँग सो बसमा ८१ जना सवार थिए ।

ट्राभल्स एजेन्सीका प्रतिनिधि शेरबहादुर महराले बाटोमा बढी खर्च भएका कारण नाकामा मात्रै पु¥याएको बताए । ‘भारतीय प्रहरीलगायतकालाई पैसा दिँदा खर्च बढी भयो’, उनले भने, ‘म एक लाख घाटामा छु ।’

भारत जाने तथा फर्कने नेपालीहरू भारतीय गाडीबाट लुटिन, ठगिनबाट बचाउन र सहज यात्रा गर्न पाऊन् भनेर पछिल्ला केही वर्षयता ट्राभल्स एजेन्सीहरूले भारतका विभिन्न ठाउँदेखि सुदूरपश्चिमका पहाडी जिल्लासम्मको यात्राका लागि बस सञ्चालन गरेका छन् । तर, अहिले उनीहरूबाटै महँगो शुल्क र बाटैमा अल्पत्र पर्नुपर्ने अवस्था यस प्रदेशका बासिन्दाहरूको रहेको छ ।

कैलाली प्रहरी प्रमुख विश्व अधिकारीले अहिले ट्राभल्स एजेन्सीहरूलाई बढी निगरानी गरिरहेको बताए । उनले भने ‘एजेन्सीका कारण सुदूरपश्चिम प्रदेशका भारत जाने तथा फर्कने पहाडी जिल्लाका बासिन्दा बाटोमै अल्पत्र पर्ने गरेको र ठगिने गरेको गुनासो आउने गरेको छ ।’
प्रहरी प्रमुख अधिकारीले एजेन्सीहरूको खोजी गर्दा नभेटिने गरेको प्रतिक्रिया दिए । उनले भने ‘ट्राभल्स एजेन्सीको जालो ठूलो छ । कुन ठाउँमा बसेर टिकट काटिरहेका छन् भनेर खोज्दा पनि भेटिँदैनन् । टिकट काट्नेहरूले पनि ठगिएपछि मात्र जानकारी गराउँछन् । तर, प्रमाण केही हुँदैन ।’

ट्राभल्स एजेन्सी मात्र होइन अहिले विद्युतीय रिक्साबाट पनि स्वदेश फर्कनेहरू ठगिने गरेका छन् । सामान्यतया त्रिनगर नाकादेखि धनगढी बसपार्कसम्म बढीमा ३० रुपैयाँ नेपाली भाडा छ । तर, भारतबाट स्वदेश फर्केकाहरूलाई सोही ठाउँमा पु¥याउँदा एक सयदेखि हजार भारतीय रुपैयाँसम्म भाडा विद्युतीय रिक्सावालाहरूले तिर्नुपर्ने अवस्था छ ।

नाकामा विद्युतीय रिक्सावालाहरूले स्वदेश फर्कने नेपालीहरूलाई तानातान गर्नेगरेका छन् । रिक्सावालाहरूले पारिबाटै सामान बोकेको र चेकिङमा रहेका प्रहरीलाई पैसा दिनुपरेका कारण बढी भाडा लिने गरेको प्रतिक्रिया दिन्छन् । एक रिक्सावालाले नाम नभन्ने सर्तमा भने, ‘हामीले उनीहरूको सामान पारिबाटै बोकेर रिक्सामा हाल्छौँ । प्रहरीले दुःख नदिऊन् भनेर बाटैमा पैसा दिन्छौँ । हामीले भाडा उही लगेका हौँ । सामान बोकेको र प्रहरीलाई दिएको रकम मात्र उनीहरूबाट असुल गरेका हौँ ।’

रिक्सा र ट्राभल्स एजेन्सीका कारण नाकामा तनाव

सुदूरपश्चिमको गौरिफन्टा नाकामा विद्युतीय रिक्सा र ट्राभल्स एजेन्सीबीच झडप भएको छ । एक अर्काले यात्रुहरूलाई दुःख दिएको आरोप लगाउँदै नाकामा झडप भएको हो ।

विद्युतीय रिक्सावालाहरूले आफूहरूले नाकापारि गएर यात्रु बोक्न पाउनुपर्ने माग राख्दै झण्डै एक घण्टा बढी समय सडक जाम गरेका थिए । सोही बेला ट्राभल्स एजेन्सीका पदाधिकारी भेटिएपछि दुवैबीच झडप भएको थियो । यस्तै सामान बोक्ने मजदुरहरूले पनि विद्युतीय रिक्सावालाहरूलाई आवतजावतमा रोक लगाएका थिए ।

भारतमै लुटिँदै

‘हामी हिमाञ्चल प्रदेशबाट नेपाल आउनका लागि बसपार्कमा प्रतीक्षा गरिरहेका थियौँ’ धनगढी–१३ का दिपक जोशीले भने, ‘त्यहाँको बसपार्कमा एक्लै भएको मौका पारी तीन जनालाई खुकरी तेस्र्याउँदै भएको पैसा लगे, कसैलाई भने मार्ने धम्की थिए ।’ आफूूहरूको समूहमा १९ जना रहेकोमा तीन जना एक्लै भएको मौका छोपी लुटेराले खुकुरी देखाउँदै एक लाख ३० हजार लुटेर लगेको उनले बताए ।
असोज १५ गते भारतबाट नेपाल फर्कदै गर्दा उनीहरू लुटिएका हुन् । उनका अनुसार भारतकै हिमाञ्चल प्रदेशबाट आएका अन्य दुई जना बसभित्रै लुटिएका छन् । बसमा यात्रा गरिरहेका बेला खल्ती काटेर दुई जनाको ६२ हजार भारु चोरेको उनले बताए ।
धेरै नेपालीहरू भारतबाट आउँदा सावधानी नै नअपनाएर आउने गरेका उनले बताए । एक्लै हिँड्ने, बाटोमै मदिरा सेवन गर्ने गरेका कारण धेरै नेपाली लुटिने गरेको हुन् ।

त्रिनगर प्रहरी चौकी धनगढीका अनुसार पछिल्लो समय नेपाल आउनेमध्ये लुटपाट भयो भन्दै गुनासो गर्नेको संख्या बढ्न थालेको छ । तर भारतमा लुटिएकाको गुनासो आए पनि आफूहरूले केही गर्न नसक्ने अवस्था रहेको त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक रमेश शाहीले बताए ।

दैनिक झण्डै दुई हजार भित्रिँदै

सुदूरपश्चिम प्रदेशका दुई महत्वपूर्ण नाकाबाट दैनिक झण्डै दुई हजार जति मानिस भित्रिने गरेका छन् ।
दशैँ, तिहार र छठ नजिकिएसँगै भारतका विभिन्न स्थानमा मजदुरीमा रहेका सुदूरपश्चिमवासीहरू यी दुई नाका हुँदै फर्कन लागेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सोमबार गौरिफन्टा नाकाबाट चार सय ९६ र गड्डाचौकीबाट एक हजार नौ जना गरी एक हजार चार सय २५ जना भित्रिएका थिए भने मंगलबार गौरिफन्टा नाकाबाट नौ सय पाँच र गड्डाचौकी नाकाबाट नौ सय ४८ गरी एक हजार आठ सय ५३ जना भित्रिएका छन् ।

सहज भयो आवतजावत

कैलालीसँग सीमा जोडिएको भारतीयको उत्तर प्रदेशस्थित लखिमपुर खिरीमा हिंसात्मक घटनाका कारण समस्यामा परेका नेपालीहरु अहिले स्वदेश फर्किन थालेका छन् । सोमबार दिनभरि पलियामा जाममा परेका उनीहरु मंगलबार बिहानदेखि गौरिफन्टा नाकाबाट सहज प्रवेश गरिरहेका हुन् ।
‘हामी दुई घण्टा आन्दोलनका कारण रोकियौँ’, मंगलबार नाकाबाट प्रवेश गरेका गज्जु क्षेत्रीले भने ।
सीमा बजार तिकुनिया नजिक जारी किसान आन्दोलनका क्रममा आठ जनाको मृत्यु भएपछि खक्रौला र गौरीफन्टा हुँदै स्वदेश फर्किने नेपालीहरू समस्यामा परेका थिए ।

यसरी भयो घटना

आइतबार केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रको बानवीर गाउँमा धेरै योजनाहरुको शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो । उपमुख्यमन्त्री केशवप्रसाद मौर्य प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

केशव मौर्यको हेलिकोप्टर अवतरण गर्ने क्रममा बिहानदेखि किसानहरुले कालो झण्डा बोकेर धर्ना सुरु गरेका थिए । सोही समयमा भाजपा कार्यकर्ताहरु पनि पुगेपछि झडप सुरु भएको हो । केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्राका छोराले कारले च्यापेर चार किसानको हत्या गरेको आरोप छ । अन्य चार जना भाजपा कार्यकर्ताको त्यसपछि हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?