‘कांग्रेस र एमालेको समीकरण बन्न सक्छ’ (भिडियो अन्तर्वार्ता)

यो सरकार  लामो समय टिक्दैन

लोकपथ
4.1k
Shares

नेकपा एमालेको विधान महाधिवेशन भर्खरै सकिएको छ । विधान महाधिवेशनले दिएको सन्देश, फुटपछिको नेकपा एमाले, वर्तमान सरकारको काम गराइप्रति एमालेको धारणालगायतका विषयमा एमाले सचिव एवं पूर्वपर्यटन मन्त्री योगेश भट्टराईसँग लोकपथका लागि रामेश्वर सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँहरूले मिहिनेत गरेर बनाएको नेकपा एमाले फुटेको छ दुःख लागेको छ होला नि ?

स्वाभाविक रूपमा दुःख त लाग्ने नै भैहाल्यो नि ? आफ्नो पार्टी विभाजन हुँदा को खुशी हुन्छ र ? एमाले यो ठाउँमा पुग्न आवश्यक थिएन । नेताहरूले एमाले विभाजन सैद्धान्तिक र राजनीतिक नभई पदका लागि गरेका हुन् । नेपाली समाज र राजनीतिले यो अवस्था खोजेको थिएन । नेपालमा अस्थिरता खोज्ने देशभित्र र बाहिरका शक्तिले एमाले फुटाएका हुन् । कांग्रेस नेतृत्वको सरकारले पनि राजनीतिक दलहरूको एकतामा जोड दिनुपथ्र्याे तर सहज रूपमा दल विभाजन अध्यादेश ल्याएर एमाले फुटाउनु राम्रो मनसाय देखिएन ।

एमाले विभाजन हुनुमा खासगरी को दोषी छ ? अध्यक्ष केपी शर्मा ओली या माधवकुमार नेपाल ?

सुरुमा त केपी ओलीको दोष थियो । तर पछि माधवकुमार नेपालकै कारण पार्टी फुटेको हो । एमालेमा दुईजना अध्यक्ष रहने विषयमा केपी ओली सहमतिमा आइसकेको अवस्थामा नेपालले भने त्यसलाई अस्वीकार गर्नुभयो । नेपालको नियत नै पार्टी विभाजन गर्ने रहेछ ।

तपाईँ त पार्टीको सचिव अनि एमालेका कार्यकर्ता तपाईँहरूका साथमा थिए । पार्टी विभाजन रोक्न सकिन्छ भन्ने कुरा तपाईँहरूले सोच्नुभएन ?
हामीले एमाले मात्रै होइन त्यसअघि फागुन २३ मा सर्वाेच्च अदालतले नेकपाको नाम अर्काे पार्टीसँग मिलेको भनेर एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि पनि पार्टी मिल्नुपर्छ भनेर पहल गरेको हो ।

माधव नेपालले त तपाईँहरूले उचालेर अन्तिममा धोका दिएको भनेर आरोप लगाउनुभएको थियो त ?

त्यो गलत कुरा हो । माधव नेपालजस्तो नेपाली राजनीतिमा त्यत्रो इतिहास बनाएको व्यक्तिले बेतुकका कुरा गर्न सुहाउँदैन । हामीले कुनै पनि हालतमा पार्टी विभाजनको पक्षमा छैनौ भनेर सुरुदेखि नै भन्दै आइरहेको हो । तर उहाँले मान्नुभएन । यदि हामीले उचाल्दा उचालिने भए हामीले तान्दा तानिनुपथ्र्याे, थचार्दा थचारिनुपर्थ्याे नि त ।

एमाले विगतमा पनि विभाजन भएको थियो, पछि फेरि मिल्यो । अब फेरि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीसँग एकीकरणको सम्भावना छ कि छैन ?

माधव नेपालको पार्टीले नेपाली समाज र नेपाली राजनीतिमा हस्तक्षेप गर्न सक्दैन । अहिले प्रदेश र केन्द्रमा सत्ता समीकरणका लागि मात्रै यो पार्टीको महत्व देखिन्छ । संसदीय समीकरण बदलिनेबित्तिकै माधव नेपालको कुनै भूमिका हुँदैन । उता गएका सबै एमालेमै फर्किन्छन् । एमालेमै समाहित हुन्छन् । एमालेप्रति उग्र हुनेहरू माओवादी र कांग्रेसमा जालान नत्र अरु सबै आउँछन् ।

अहिले फेरि एमाले र कांग्रेसबीच समीकारण हुनसक्ने हल्ला चलेको छ साँचो हो त ?

एमाले र कांग्रेस विगत लामो समयदेखिको राजनीतिक आन्दोलनका सहयात्री हुन् । यी दुई पार्टीबीच समीकरण बन्न सक्छ । दुवै दल मिलेर आगामी निर्वाचन गराउन सक्छन् । संसदीय गणितमा यो स्वभाविक हो । चुनावमा मात्रै विचार हुन्छ । संसदमा हुने गठबन्धन नै हो । मुलुक अप्ठ्यारोमा परेका बेला कांग्रेस उमाले एकै ठाउँमा उभिन्छन् । उभिएका पनि थिए ।

नेकपा एमालेको पहिलो विधान महाधिवेशन भर्खरै सकिएको छ । पार्टी विभाजनलगत्तै यो महाधिवेशन भयो, यसको खास शन्देशचाहिँ के हो ?

यो नेकपा एमालेको पार्टी जीवनको पहिलो महाधिवेशन हो । नवौँ महाधिवेशनमा एउटा महाधिवेशन सकिएर अर्काे महाधिवेशन आउन लाग्दा त्यसको बीचमा विधान महाधिवेशन गर्ने भन्ने कुरा पारित भएको थियो । त्यसैअनुसार यो भएको हो ।

यो नेपालको कुनै पनि राजनीतिक दलको इतिहासमै भएको पहिलो महाधिवेशन हो । राष्ट्रिय महाधिवेशन गर्दा पार्टीको नीति सिद्धान्त र विचारमा छलफलभन्दा नेतृत्व छनोटमै ध्यान जाने गरेकाले हामीले यसलाई ब्रेक गरेका हौँ । एउटा नीति महाधिवेशन र अर्काे नेतृत्व महाधिवेशनका रूपमा छुट्याएका हौँ ।

नेपालको लोकतान्त्रिक स्थायित्व, प्रगतिशील रूपान्तरण, आम नेपाली श्रमजीविको निम्ति नेकपा एमालेको नेतृत्व र पहलकदमी अनिवार्य छ, आगानमी प्रतिस्पर्धाबाट एमाले पुनः स्थापित हुनक्छ, हुनुपर्छ र हुन्छ भन्ने शन्देश विधान महाधिवेशनले दिएको छ ।

यो पहिलो विधान महाधिवेशनमा पूर्वपार्टीप्रमुखहरू माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरू उपस्थित थिएनन् नि, खल्लो लागेन ?

खल्लो लाग्ने त स्वाभाविक हो, उहाँहरू भइदिएको भए अझ राम्रो हुन्थ्यो । दुर्भाग्यवस त्यो हाम्रो हातमा थिएन ।

विधान महाधिवेशनमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढल्नुमा माधवकुमार नेपाल र पुष्पकमल दाहाललाई दोष लगाएर कार्यकर्ताबाट उम्किन खोज्नुभयो के ओलीको चाहिँ कमजोरी थिएन र ?

इतिहासमा हरेक मान्छेको मूल्यांकन हुन्छ । मूल्यांकन कसले गर्ने भन्ने कुरा हो । कसैको नजरमा एक खालको र कसैको नजरमा अर्काे खालको मूल्यांकन हुन्छ । तर इतिहासले सन्तुलित तरिकाले मूल्यांकन गर्छ । सबैका आ–आफ्ना कमी कमजोरी छन् । तिनै कमजोरीहरूको समष्टिगत रूप नै एमाले विभाजन हो ।

तपाईँहरू पार्टीमा पुस्तान्तरणको कुरा गर्नुहुन्छ तर आगामी दशौँ महाधिवेशनमा ओलीअनुकूल विधान संशोधन गरियो भन्ने छ नि त ?

पार्टीको विधि विधान व्यक्तिलाई हेरेर बनाइँदैन । त्यो प्रणाली र त्यतिबेलाको आवश्यकतालाई हेरेर बनाइन्छ । त्यो विधानभित्र को पस्न सक्छ र को पस्न सक्दैन भन्ने त्यसले निर्धारण गर्छ ।

तपाईँहरूको पालोचाहिँ कहिले आउँछ त अध्यक्ष बन्ने ?

प्रतिस्पर्धामा भाग लिन हाम्रो विधानले कहाँ रोकेको छ र ? अहिले पनि चाहेँ भने लड्न सकिन्छ नि, कसैले किस्तीमा राखेर दिने होइन नि नेतृत्व । तर मलाई चाहिएको छ कि छैन भन्ने कुरा हो ।

यो विधान महाधिवेशनलाई त ओलीगुटको भेलाको संज्ञा दिए नि कतिपयले ?

त्यो गलत हो । मैले पनि सञ्चार माध्यममा सुनेको हो । यो एमाले विधान महाधिवेशन हो । कुनै व्यक्तिको महाधिवेशन होइन । एमालेको नीति, विधान र कार्यक्रम पास गरिएको छ । एमालेलाई अझ बढी बलियो बनाइएको छ । भावनात्मक एकता सदृढ भएको छ ।

वर्तमान सरकारप्रति एमालेको विश्लेषण के हो ?

यो सरकारको विश्लेषण गरेर धेरै समय किन खर्चिनु र, यो विश्लेषण गर्न लायक सरकार नै होइन । यसका नीति र कार्यक्रम विश्लेषण गर्न लायक नै छैनन् । यो तत्कालीन आक्रोशस्वरुप बनेको सरकार हो । लामो समय टिक्दैन ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे एमालेको धारण के हो ? यो संसदबाट पास हुन्छ त ?

नेपालको राजनीतिमा यो ठूलो मुद्दा बनेको छ । त्यसकारण नेकपा एमालेले आधिकारिक रुपमा सरकारलाई भनिरहेको छ– सरकारले के गर्ने हो ? संसदमा एमसीसी टेबुल गर्छाै कि गर्दैनौ, एमालेको सहमति लिन खोज्छौ कि खोज्दैनौ, यो जस्ताको तस्तै ल्याउँछौ कि परिमार्जन गर्छाै ? यो के गरेर ल्याउने हो पहिला स्पष्ट पानुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?