सिभिल बैंकका अध्यक्ष तामाङको अर्काे कर्तुत : सहकारीका निक्षेपकर्ताको ४६ करोड ठगी

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको फेरि अर्काे कर्तुत बाहिर आएको छ । ठगी धन्दामा लागेका पूर्वसांसद समेत रहेका तामाङको एकपछि अर्काे गर्दै कर्तुत बाहिरिरहेका छन् ।

पूर्वसांसद समेत रहेका तामाङ प्रहरीको फन्दामा परेपछि तामाङको कर्तुत बाहिर आएको हो । अध्यक्ष तामाङले सिभिल सहकारीका निक्षेपकर्ताको ४६ करोड रुपैयाँ हिनामिना गरेको भन्दै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सीआईबीले निक्षेपकर्ता ठगेको आरोपमा अध्यक्ष तामाङसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीसहित सिभिल ग्रुपका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र सिभिल सहकारीका १२ जना पूर्वकर्मचारी तथा वर्तमान कर्मचारीलाई पक्राउ गरेको हो ।

सीआईबीका डीआईजी धिरजप्रताव शिंहका अनुसार सहकारीका निक्षेपकर्ताहरुको रकम ठगी गरेको भन्दै उजुरी परेपछि अध्यक्ष तामाङलाई पक्राउ गरिएको हो ।

‘सहकारीका डिपोजिटरहरुको ४६ करोड रुपैयाँ ठगेको भन्ने उजुरी परेपछि हामीले पक्राउ गरेका छौँ’, उनले भने ।

पक्राउपछि अध्यक्ष तामाङले के–कति ठगी गरेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेको डीआईजी सिंहले बताए । सिभिल सहकारीमा संहाल ३ हजारभन्दा बढी निक्षेपकर्ता छन् । जसमा २ हजार २ सयभन्दा बढी निक्षेपकर्ता सक्रिय रहेका छन् । अहिले कति निक्षेपकर्ताहरु ठगीमा परेका हुन् भन्ने यकिन भइसकेको छैन ।

अनुसन्धान थालेकाले केही दिनमा त्यसको नतिजा आउने सीआईबीले जनाएको छ ।
सीआईबीमा ७५ जनाले आफूहरु ठगिएको भन्दै उजुरी दिएका थिए । अध्यक्ष तामाङ पक्राउ परेपछि ठगिएका अरु निक्षेपकर्ता पनि सम्पर्कमा आउन थालेको सीआईबीले जनाएको छ ।

सिभिल बैंकको पैसामा पनि हिनामिना 

अध्यक्ष तामाङले सहकारीका निक्षेपकर्ताको रकम मात्रै होइन सिभिल बैंकका निक्षेपकर्ताको रकम पनि आफूखुसी प्रयोग गरिसकेका छन् ।

अध्यक्ष तामाङले अघिल्लो वर्षको माघताका बैंकको रमको दुरुपयोग गरेको भन्दै सम्पत्ति शद्धीकरण विभागले तामाङको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंक र सिभिल बैंकलाई पत्र समेत काटेको थियो ।

विभागले अध्यक्ष तामाङको १ अर्ब २ करोड रुपैयाँबराबरको स्रोत नखुलेको जनाएको थियो । अध्यक्ष तामाङ र उनका व्यासायिक साझेदार केशवलाल श्रेष्ठले सिभिल बैंकको चेकबाट सो कारोबार गरेका थिए ।

उनीहरुले सिभिल होटलमार्फत सिभिल अपार्टमेन्टलाई पटक–पटक गरी १ अर्ब २ करोड रुपैयाँ सीमाभन्दा बढी भुक्तानी गरेका थिए तर त्यसको स्रोत पनि खुलेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?