डा लोहनीको पार्टीमा एकीकृत हुँदै नेपाली कांग्रेस वीपी पार्टी

काठमाडौँ । डा. प्रकाशचन्द्र लोहनी  नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी  र  हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (वीपी) बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ ।  नेपाली कांग्रेस (वीपी) को कार्यालय बिजुलीबजारमा शुक्रबार बिहान बसेको  दुई पक्षीय वार्ताबाट पार्टी एकता गर्ने सहमति भएको एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिए । 

उनका अनुसार दुई पार्टीबीच एकता गर्नेबारेको सैद्धान्तिक लिखित दस्तावेज तयार गर्न एराप्रपा राष्ट्रवादीका झनक प्याकुरेल र नेपाली कांग्रेसका (वीपी)का पुष्पराज पराजुलीलाई जिम्मा दिइएको छ । 
प्याकुरेल र पराजुलीलाई   दस्ताबेज तयार गर्न एक साताको समय दिइएको र प्रतिवेदन प्राप्त हुनासाथ संयुक्त बैठक बसेर एकताको मिति घोषणा गरिने लोहनीले जानकारी दिए । 

पृथ्वीनारायण शाह र वीपी कोइरालाई आदर्श मानेर एकता गर्ने समझदारी बनेको नेपाली कांग्रेस (वीपी) का अध्यक्ष भट्टराईले जानकारी दिए । 

बैठकमा दुबै पार्टीका अध्यक्षसहित एराप्रपा राष्ट्रवादीबाट ऋषिबाबु  परियार, झनक प्याकुरेल, तानाराना लुईटेल र  जनकराज पाठकको सहभागिता रहेको थियो भने  नेपाली कांग्रेस वीपीको तर्फबाट पुष्पराज पराजुली,  सुशीलमान शेरचन, हरिबोल भट्टराई देबेन्द्र प्रकाश पौडेल र प्रणय सिंहको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?