कोरोनापछिको पढाइमा विद्यार्थी उत्साहित

RSS
91
Shares

रामपुर । कोरोनाको कहरले बन्द रहेका विद्यालय खुल्न थालेपछि विद्यार्थी नियमित विद्यालय जान थालेका छन् । लामो समयसम्म विद्यालय जान नपाएर घरमै बस्न बाध्य विद्यार्थी झोला बोकेर स्कुल पोशाकमा विद्यालय जान पाउँदा धेरै खुसी देखिएका छन् ।

विद्यालयमा स्वयं उपस्थित भएर पढ्न पाउँदा धेरै छिटो बुझन सकिने रामपुर आवासीय अङ्ग्रेजी बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत सुस्मा सिग्देल बताउछिन्। उनी भन्छिन्, “विद्यालय बन्द हुँदा घरमा बसेर अनलाइन कक्षा पनि पढियो, अनलाइन कक्षाको तुलनामा भौतिकरुपमा विद्यालयमा नै उपस्थित भएर पढ्दा नै छिटो बुझ्न सकिने, धेरै कुरा सिकिने, विद्यालय जान पाउँदा रमाइलो लागेको छ ।”

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खाजा खाने समय कटाएर नियमित पढाउन थालिएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउछन्। “खाजा खाने समयलाई शिक्षण कार्यमा सदुपयोग गरी दिउँसो २ बजेसम्म नियमित कक्षा चलाइएको छ, विद्यार्थी विद्यालयमा आउन पाउँदा असाध्यै खुशी भएका छन्”, प्रअ लम्सालले भने ।

केही पालिकाका विद्यालयले भने दशैँअघि परीक्षा सक्ने गरी प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिरहेका छन् ।कोरोनाको कहर कम हुँदै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत भदौ २७ गतेदेखि नै रामपुर नगरपालिकाका सबै विद्यालयमा नियमित पठनपाठन भइरहेको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउछन् ।

“नगरपालिकाभित्रका सबै विद्यालयमा धमाधम पढाई भइरहेको छ, केही विद्यालयमा प्रथम त्रैमासिक परीक्षा पनि सञ्चालन भएका छन्, नियमितरुपमा विद्यालय खुल्न थालेपछि विद्यार्थी पनि उत्सुक छन्”, काफ्लेले भने।

धेरै समयपछि पढाइ भए तापनि शिक्षण सिकाइ कार्यप्रति विद्यार्थी उत्सुक रहेको पूर्वखोला गाउँपालिका–३ अर्खडाँडास्थित जनउज्ज्वल आधारभूत विद्यालयका शिक्षक डिल्लीराज पङ्गेनीले बताए । माथागढी गाउँपालिकाका सबै विद्यालयमा अहिले धमाधम पठनपाठन चलिरहेको छ । स्वास्थ्य सुरक्षा अपनाउँदै गत भदौ २७ देखि नै विद्यालय सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए।

यस्तै रम्भा गाउँपालिकाले कोरोनाको कहर कम हुन थालेपछि सबै विद्यालयमा पठनपाठन सञ्चालन कार्य अगाडि बढाएको छ । यहाँ विद्यालय सुरु गर्दाको बखत धेरै विद्यार्थी भएका विद्यालयले केही दिन आलोपालो गरी कक्षा चलाइयो, अहिले सबै विद्यालयमा नियमितरुपमा पठनपाठन कार्य चलिरहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

पाल्पाका सबै पालिकामा स्वास्थ्य सुरक्षा सामग्री अपनाएर सावधानीपूर्वक पठनपाठन कार्य चलिरहेको शिक्षा विकास समन्वय तथा इकाइ कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेल बताउछन्।

केही पालिकाका विद्यालयले बन्दाबन्दीका समयमा इन्टरनेटका माध्यमबाट कक्षा सञ्चालन गरेका थिए । इन्टरनेटको पहुँच नभएका विद्यार्थीले बन्दाबन्दीमा घरमै खेलेर समय बिताउन बाध्य थिए ।

अहिले भने विद्यालय खुलेपछि नियमित स्कुल पोशाकमा कापी कलम बोकेर विद्यालय जाने गरेको अभिभावक सुस्मा भट्टराईले बताए। मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोग गरेर विद्यार्थी अनिवार्यरुपमा विद्यालय जान थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?