सरकारको मौसमी बजार अनुगमन : रोकिएला मूल्य वृद्धि र कालोबजारी ?

काठमाडौं । पछिल्लो समय सरकारले चाडबाडलक्षित अनुगमन सुरु गरेको छ । मौसमी अनुगमनले बजारमा हुने कालोबजारी र मूल्य वृद्धि नियन्त्रणमा अनुगमनको भूमिका साखै देखिँदैन ।

दशैँ सुरु हुन लागेसँगै सरकारले अनुगमन तीव्र बनाएको हो । चाडबाडको मौका छोपेर व्यवसायीहरूले बजारमा अधिकांश दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि गर्ने गर्छन् । जसका कारण चर्काे मूल्य तिर्नुपर्दा उपभोक्ता मारमा पर्ने गरेका छन् । तर सरकारको चाडबाडलक्षित अनुगमनले आम उपभोक्तालाई राहत भने दिन सकेको छैन ।

सरकारले अहिले अनुगमन टोलीको संख्या बढाएको छ । सामान्य अवस्थामा २÷३ वटा टोलीले मात्रैले अनुगमन गर्दै आएकोमा अहिले संख्या बढाएर ६ वटा बनाएको उद्योग आपूर्ति तथा वाणिज्य विभागले जनाएको छ ।

‘बजार अनुगन टोलीको संख्या बढाएर तीव्ररूपमा अनुगमन गरिरहेका छौँ’, विभागका प्रवक्ता शिवराज सेढाईले भने ।

विभागका ६ वटा अनुगमन टोलीमध्ये ५ वटा टोलीले नियमित बजार अनुगमन गरिरहेका छन् भने एउटा टोली विभागमै बस्ने र आकस्मिक रूपमा काम गर्ने विभागले जनाएको छ ।

यस्तो छ अनुगमन र कारबाहीको अवस्था

विभागले जनै पूर्णिमादेखि नै चाडबार्ड लक्षित अनुगमन थालेको जनाएको छ । त्यसबेलादेखि विभागले निरन्तर बजार अनुगमन गरेर दोषीलाई कारबाही गरेको जनाएको छ । विभागले गत साउन महिनामा १ सय ८४ वटा अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा विभिन्न व्यवसाय तथा फर्महरूलाई ५ लाख ९० हजार जरिवाना गरेको छ ।

त्यस्तै भदौमा २ सय ४० वटा अनुगमन गरेकोमा १७ लाखभन्दा बढी जरिवान गरेको छ । त्यस्तै, असोजमा विभागले ३ सय १४ वटा व्यवसाय तथा फर्मको अनुगमन गरेको छ । जसमा १ सय ६७ वटालाई १५ लाख २८ हजार जरिवाना गरेको विभागले जनाएको छ ।

अनुगमन गरिएका अधिकांश व्यवसाय तथा फर्ममा कुनै न कुनै कैफियत भेटिएको प्रवक्ता सेढाईले बताए । उपभोक्ता ठग्ने कुनै पनि मर्फ तथा व्यवसायीलाई कडा कारबाही गर्ने उनले बताए ।
‘चाडबाडको मौका छापेर उपभोक्ता ठग्नेलाई छोडिन्न’, प्रवक्ता सेढाईले भने ।

विभागले चाडबाडको बेला गर्ने मौसमी अनुगमनमा केही ठाउँका सीमित पसलमा छापा मार्ने तथा केहीलाई मात्रै सामान्य कारबाही गर्ने काम गर्दै आएको छ । सरकारकारको यस्तो फितलो अनुगमन र कारबाहीले व्यवसायीले गरेको अस्वाभाविक मूल्य वृद्धि र कालोबजारी रोक्न नसक्ने उपभोक्तावादी अधिकारकर्मी बताउँछन् ।

चाडबाडको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक रूपमा वृद्धि हुने भए पनि सरकारको अनुगमनले नियन्त्रण गर्न सकेको देखिँदैन । सरकारले निरन्तर रूपमा बजार अनुगमन गर्नेगरेको बताए पनि आम उपभोक्ताले राहत महसुस गर्नेगरी अनुगमन भएको छैन ।

रोकिएला त मूल्य वृद्धि र कालोबजारी ?

सरकारले चाडबाड लक्षित गरेको अनुगमन प्रभावकारी नभएको उपभोक्तावादीहरूले जनाएका छन् । सरकार अरु समयमा सुतेर बस्ने तर चाडबाड आएसँगै अनुगमनको ढोङ गर्नेगरेको उपभोक्तावादीहरूको भनाइ छ । चाडबाडको वरिपरि उद्योगी तथा व्यवसायीहरूले दैनिक उपभोग्य वस्तुमा उपभोक्ताको ढाड सेक्ने गरी मूल्य वृद्धि गर्ने तथा कालोबजारी गर्दा पनि सरकारले प्रभावकारी अनुगमन गरेर आम उपभोक्तालाई राहत महसुस गराउन नसकेको उपभोक्ता अधिकार कर्मी माधव तिमल्सिनाले बताए ।’

चाडबाडलक्षित अनुगमनले उपभोक्तालाई राहत दिन सकेको छैन’, उनले भने । उपभोक्ताले महसुस गर्ने गरी बजार अनुगमन हुन नसकेको उनको भनाइ छ ।

उपभोक्ता सधैँ मारमा

सरकारले प्रभावकारी रूपमा बजार अनुगमन नगर्ने तथा मौसमी अनुगमन गर्नेगरेका कारण उपभोक्ता सधैँ मारमा पर्ने गरेका छन् । सरकारले प्रभावकार अनुगमन नगर्दा पसलैपिच्छे फरक–फरक मूल्य छ । अहिले बजारमा दाल, चामल, खानेतेल, गेडागुडी, हरियो तरकारी, फलफूललगायतका दैनिक उपभोग्य वस्तुहरू महँगिएका छन् ।

सरकारको अनुगमन प्रभावकारी नहुँदा आम उपभोक्ताले पसलैपिच्छेको फरक–फरक मूल्य तिर्न बाध्य छन् भने सरकारले गरेको अनुगमनले राहत महसुस गराउन सकेको छैन ।

दोषी को ?
चाडबाडको मौका छापेर व्यसायीहरूले मनपरी मूल्य वृद्धि गर्ने र सरकारले प्रभावकारी अनुगमन नगर्ने हुँदा उपभोक्ता सधैँ मारमा पर्नेगरेका छन् । सरकार र व्यवसायी कहिल्यै जिम्मेवार नहुँदा उपभोक्ता मारमा परेका छन् ।

यसमा सरकार र व्यवसायी दुवै दोषी भएको उपभोक्ताकर्मी तिमल्सिना बताउँछन् । सरकारले ३६५ दिन नै प्रभावकारी रूपमा अनुगमन नगरेका कारण उपभोक्ता सधैँ मारमा पर्नुपछाडिका दोषी व्यवसायी र सरकार भएको उनको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?