दशैँको मुखैमा तरकारीको मूल्य वृद्धि, सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल

अहो ! के साह्रो महँगी बढेको होला ?

आज के तरकारी पकाउने होला ?
.. आम्मै कति महँगो हो ? अब त छाक टार्नै मुस्किल होलाजस्तो छ ।

यी माथिका प्रश्नहरु अचेल हरेक गृहिणीको मुखबाट सुनिन्छ । तरकारीको मूल्य अचाक्ली बढेपछि भान्सामा के पकाउने होला भन्ने चिन्ता आम व्यक्तिमा परेको छ । हरेक तरकारी पसलमा तरकारी किन्न आउने ग्राहकहरु महँगीको गुनासो गरिरहेका हुन्छन् ।

महँगी बढ्दा हरेक भान्सामा छाक टार्ने मुस्किल बनेको छ । बिहान खायो बेलुकी के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।

‘एक सय रुपैयाँ बोकेर आयो, छाक नै पुग्दैन । के गरेर गुजारा चलाउने होला ? एक छाक मात्र खाएर नपुग्ने !’ बिहान तरकारी किन्न पसल पुगेकी एक गृहिणीले गुनासो गरिन् । त्यसैमा थप्दै अर्की ग्राहकले थपिन्, ‘त्यही त के साह्रो मूल्य बढेको ? छाक टार्नै मुस्किल भइसक्यो भन्या ।’

अचेल हरेक तरकारी पसलमा पुगेका ग्राहकहरु यस्तै गुनासो गरिरहेका हुन्छन् । यी सबै गुनासोको कारण हो, पछिल्लो समय उपभोग्य सामानमा अत्यधिक मूल्यवृद्धि ।

अहिले नेपाली बजारमा प्रायजसो तरकारीको मूल्य अत्यधिक आकाशिएको छ । दैनिक उपभोग्य तरकारीको मूल्य अत्यधिक बढ्दा ज्यालामादुर गरेर जीविकोपार्जन गर्नेहरु सबैभन्दा धेरै मारमा परेका छन् ।

चाडपर्व नजिकिएसँगै बढ्छ भाउ

हरेक वर्ष चाडपर्व नजिकिएसँगै नेपाली बजारमा तरकारीको मूल्य बढ्ने गरेको छन् । अहिले पनि चाडपर्व नजिकिएसँगै बजारमा तरकारीको भाउ छोइनसक्क्नु भएको हो । पछिल्लो एक महिनाको अवधिमा तरकारीको मूल्य अचाक्ली बढेको छ ।

विशेष गरी स्रोहश्राद्ध चलिरहेको बेला तरकारीको मूल्य झनै आकाशिएको हो । यस बेला माछामासुको कम खपत हुने हुँदा हरियो तरकारीको मूल्य झनै बढ्ने गरेको छ ।

किन बढ्यो मूल्य ?

बजारमा आपूर्तिभन्दा माग बढेको कारण तरकारी तथा फलफूलको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

‘बजार भाउ बढ्नुमा विभिन्न कारणहरु छन्, आलु प्याजको मूल्य त्यति धेरै बढेको छैन । विशेष गरी साग, सिमी, बोडी, लौका, घिरौँला करेलालगायतको मूल्य अलि बढी बढेको हो । यस्ता किसिमको प्रोडक्टहरु मौसमी उत्पादन भए पनि पातलिँदै गएको छ ।

अघिल्लो महिनातिरको तुलनामा अहिले माग पनि बढेको । चाडबाड पनि नाजिएको छ र हिउँदे तरकारी आइसकेको छैन। त्यसैले तरकारीको मूल्य बढेको हो’, उनले भने ।

अहिले भारतबाट पनि तरकारीहरु कम मात्रामा भित्रिएको उनले बताए । वर्षको सिजनमा हरेक वर्ष तरकारीको मूल्य वृद्धि हुने गरेको उनले भनाइ छ ।

हाल कालिमाटीबाट बजारमा दैनिक ७५० टन तरकारी खपत हुँदै आएको पनि उनले जानकारी दिए । अहिले नेपाली तरकारी बजारमा ६५ प्रतिशत स्वदेशी उत्पादनले धान्ने र बाँकी भारतबाट आयात हुने गरेको उनी बताउँछन् । भारतबाट विशेष गरी प्याज, आलु, फलफूल, माछालगायतका सामग्रीहरु भित्रिने गरेको उनले बताए ।

उनले थपे, ‘सिजनका तरकारीहरु चाहिँ स्वदेशी उत्पादनले नै धान्छन् आलु प्याजचाहिँ भारतबाट नै आयात हुन्छ, भारतबाट आयात नगरी स्वदेशी उत्पादनले धान्ने अवस्था छैन । चीनबाट चाहिँ स्याउ भित्रिन्छ ।’

तरकारीको मूल्य एक्कासि बढेको भन्न नमिल्ने उनले बताए भदौको दोस्रो हप्तादेखि मूल्य बढ्न सुरु गरेको उनको भनाइ छ । मौसमी कारणहरु, माग बढ्नु, उत्पादन घट्नु, वर्षाले बाटो बिग्रदा आयातमा समस्या हुनुलगायत कारण नै मूल्य बढ्नुको कारण रहेको उनले बताए ।

पछिल्लो एक महिनाको अवधिमा रायोको सागको मूल्य प्रतिकेजी औसत ५५ रुपैयाँले बढेको छ । गत भदौ १५ गते कालिमाटीको थोक बजारमा प्रतिकेजी औसत १०५ रुपैयाँ रहेको रायोको साग अहिले बढेर औसत १६० रुपैयाँ पुगेको छ ।

अहिले विशेष गरी साग, सिमी, बोडी, लौका, घिरौला करेला लगायतको मूल्य अन्यको तुलनमा धेरै बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

गत भदौ १५ गते प्रतिकेजी ७५ रुपैयाँ रहेको घ्यूसिमी (लोकल) अहिले (आज) ९५ रुपैयाँ पुगेको छ त्यसैगरी बोडीको मूल्य ५५ रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । यद्यपि सबै तरकारीको मूल्य भने बढेको छैन ।

मारमा उपभोक्ता

कालिमाटीको थोक बजारमा तुलनामा स्थानीय बजारमा महँगी बढी नै हुन्छ । जसले गर्दा उपभोक्ताहरु मारमा पर्नेगरेका छन् । दैनिक ज्यालादारी गर्ने मजदुरहरु बिहान खाए बेलुकी के खाने अवस्थामा पुगेका छन् । उपभोक्ताहरु तरकारी किन्नै डराउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?