पूर्वपञ्चलाई महाधिवेशनको चटारो, अध्यक्षमा ६ जना आकांक्षी

पूर्वपञ्चहरूको पार्टीका रूपमा रहेको राष्ट्रिय प्रतातन्त्र पार्टी (राप्रपाको) महाधिवेशन आउँदो कात्तिक २७ देखि ३० सम्म हुँदैछ ।

२०४६ मा प्रजातन्त्र पुनस्र्थापना भएपछि ३० वर्षे पञ्चायती व्यवस्था ढल्यो । पञ्चायतको अन्त्यपछि १५ जेठ २०४७ मा पूर्वपञ्चहरू मिलेर अलग्गै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठन गरे ।

गठन भएको ३० वर्षको अवधिमा यो पार्टी धेरै पटक फुट्यो । फुट र जुट राप्रपाको नियति नै बन्यो । पछिल्लो पटक २०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) बीच पार्टी एकीकरण भयो । त्यसकारण यो महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ ।

राप्रपाले आफ्नो वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई लिएको छ  । राप्रपाको एजेण्डा हिन्दु धर्म र संवैधानिक राजसंस्था छ । राप्रपामा पूर्वपञ्चहरूको बाहुल्यता छ ।

राप्रपाको महाधिवेशनपछि कांग्रेस एमालेको महाधिवेशन हुँदै छ । कांग्रेसको ९ देखि १३ मंसिर र १० देखि १३ मंसिरमा महाधिवेशन हुँदै छ । त्यसैगरी माओवादी केन्द्र, एमालेबाट फुटेर गएको नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनता समाजवादीबाट फुटेर गएको लोकतान्त्रिक समाजवादी पार्टीले पनि राष्ट्रिय सम्मेलन वा महाधिवेशनको तयारी गरिरहेका छन् ।

राप्रपाको अहिले धमाधम विभिन्न तहको अधिवेशन भइरहेको छ । अरु ठूला राजनीतिक दलहरूको जस्तो धेरै चर्चा भने राप्रपा महाधिवेशनले पाएको छैन । तर उसलाई महाधिवेशनको चटारो भने छ ।

राप्रपा नेता राजाराम श्रेष्ठका अनुसार भदौ मसान्तसम्म वडा, गाउँ÷नगर, प्रदेश, क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति जिल्ला समितको अधिवेशन सक्ने लक्ष्य राखिएकोमा नसकिएपछि यही असोज २० भित्र ती सबैको अधिवेशन सक्ने गरी समय थप गरिएको छ ।

त्यस्तै सक्रिय सदस्यता वितरण कार्य असोज २५ गतेसम्म थप गरिएको छ । अहिलेसम्म राप्रपाको ३७ जिल्ला अधिवेशन सकिएको छ ।

अन्य राजनीतिक दलको तुलनामा राप्रपाको संगठन कमजोर रहेको छ । यो उसले पनि स्वीकार गरेको छ । कतिपय राप्रपाकै नेताले पछिल्लो समय राप्रपा सेलाउँदै जान थालेको बताउँदै आएका छन् ।

राप्रपाका अर्का नेता परशुराम तामाङ भने संगठन कमजोर भएको स्वीकार्दैनन् । तामाङले लोकपथसँग भने, ‘बरु अहिले संगठन झन् बलियो हुँदै गएको छ । विगतमा संघीय संरचनाअनुसार पार्टीको संगठन थिएन तर अहिले संघीय संरचनाअनुसार पार्टी निर्माण भएको छ ।’

प्रतिनिधिसभामा अहिले राप्रपाको राजेन्द्र लिङ्देन मात्रै १ जना सांसद छन् । २०७४ को निर्वाचनमा लिङ्देनबाहेक कसैले चुनाव जित्न सकेन । राप्रपामा अहिले कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी गरी ३ जना अध्यक्ष छन् । उनीहरूको तीनवटै गुट रहेको छ ।

पार्टी अध्यक्षका लागि ६ जना आकांक्षी

राप्रपाको आगामी महाधिवेशनका लागि अहिलेका तीनै जना अध्यक्ष थापा, राणा र लोहनी आकांक्षी त हुने नै भए । त्यसैगरी युवा पुस्ताबाट धवलशमशेर राणा, राजेन्द्र लिङ्देन र जगत गौचन उम्मेदवार बन्ने तयारीमा छन् ।

थापा, राणा र लोहनीबीच सहमतिको सम्भावना नभएको तर युवा पुस्ताबाट भने ३ जनामध्ये १ जनामा सहमति बन्न सक्ने देखिन्छ ।

अबको नेतृत्व पार्टीप्रति बफादार, संगठनलाई शसक्त बनाउने हुनुपर्ने नेता राजाराम श्रेष्ठले लोकपथलाई बताए । हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राप्रपा गणतन्त्र प्राप्तपछि पनि पटक–पटक सरकारमा गएको छ । तर उसले आफ्ना एजेण्डालाई स्थापित गर्न भने सकेन ।

नेता परशुराम तामाङ राप्रपाको आगामी नेतृत्व जनता र कार्यकर्ताले रुचाएको तथा पार्टीलाई समयानुकूल अघि बढाउन सक्ने व्यक्तिको हातमा जानुपर्ने बताउँछन् ।

राप्रपाका कुनै पनि नेताले अहिलेसम्म औपचारिक रूपमा पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा भने गरिसकेका छैनन् । तत्ला तहका अधिवेशन र महाधिवेशन प्रतिनिधिको अवस्था हेरेर नेताहरू उम्मेदवारी घोषणा गर्न जोखना हेरेर बसिरहेका छन् ।

बेला–बखत देशका ठूला राजनीतिक पार्टीहरूप्रति आम नागरिकको वितृष्णा बढेका बेला राप्रपालाई वैकल्पिक शक्तिका रूपमा हेरिएको थियो । तर जनअपेक्षाअनुसार राप्रपाले आफूलाई अघि बढाउन भने सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?