कैलाली, ५ वैशाख । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।धनगढी उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आज आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा उनले भने, ‘विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ र यसमा सबैको सहयोग आवश्यक छ ।’मुख्यमन्त्री भट्टले भर्ना अभियानलाई प्रभावकारी बनाउन उनले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गर्नुभएको हो । यसअघि उनकी छोरी डोटीको केआइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन् ।मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरु अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न आग्रह गरे ।कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुगेका मुख्यमन्त्री भट्टले आज बिहान आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई उक्त विद्यालयमा भर्ना गराए ।देशभरि वैशाख २ बाट शुरु गरिएको विद्यालय भर्ना अभियान यस प्रदेशमा पनि जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया