कुसुन्डा जातिका ‘राजा मामा’को निधन

काठमाडौं, ५ वैशाख । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’ को ७५ वर्षको उमेरमा निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको बुधबार बिहान आफ्नै घरमा निधन भएको हो ।उनी कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति थिए । राजा मामा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेपछि परिवारका सदस्यले उठाएका थिए । तर उनको केही बेरमा नै निधन भएको बताइएको छ ।राजा मामा उच्च रक्तचापको बिरामी थिए । उनको निधनले लोपोन्मुख कुसुन्डा जाती र सिंगो आदिवासी जनजातीहरुलाई अपुरणीय क्षति पुगेको छ ।उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । प्रतिष्ठानले २०६१ सालतिर इन्द्रमाया तामाङसँग बिहे गराइदिएको थियो ।उनी गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाती अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् ।उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका छन् । उनको श्रीमती र तीन कक्षामा अध्ययनरत एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?