चुरे संरक्षणका सात प्रयास

लोकपथ
1.1k
Shares

बाबुराम विश्वकर्मा- 

सरकारले गुरुयोजना नै बनाएर राष्ट्रिय गौरवको आयोजनाको रुपमा सञ्चालन गरेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले सात वर्ष पूरा गरेको छ । प्रथम राष्ट्रपति डा. रामवरण यादवको अतिरिक्त सक्रियताका कारण सुरु गरिएको चुरे संरक्षणको बजेट चुरेमा भन्दा बढी मधेसका मैदानी भागमा छरिएको छ । तर, समितिले चुरेमै केन्द्रित गरेका कामको भने नतिजा देखिन थालेको छ ।

दृष्टान्त एक : सुखजोर खहरे नियन्त्रण

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ को जमुनीबास चुरेको खहरेबाट प्रभावित गाउँ हो । गत सालसम्म चुरेको भू–क्षय र खहरले धनुषाको पुरानो गाउँ जमुनीबासलाई नराम्रोसँग प्रभावित गरेको थियो । सुखजोर खहरेलेले स्थानीयको खेताबारी पुर्ने, घरभित्र पानी पसेर बस्नै नहुने स्थिति सृजना गरेको थियो । चुरेको कहरले जमुनीबासवासी हैरान थिए ।

वडा नम्बर ८ का शमशेर हेन्जन र राजु गोलेको घरमा त गत सालको बर्खामा चुरेको खहरे पसेको थियो । वन विनाश, चुरेका रुख कटान तथा नदिजन्य पर्दाथ ओसारपसारले चुरेका गाउँ प्रभावित हुन्छन् । वर्षायाममा जमुनीबास नजिकैका दुई खहरे सुखजोर र अनारीले वडा नम्बर ८ को बोलांग टोल पनि नराम्ररी प्रभावित हुनेगरेको थियो ।

तर, गत फागुनदेखि सुखजोर खहरेमा ६ वटा साना बाँध बाँधेर चुरेको नदीजन्य पर्दाथलाई चुरेमै रोक्ने प्रयास गरिएको छ । अनारी र सुखजोर शिर संरक्षण उपभोक्ता समितिको पहलमा यसपालि बनाइएका बाँधले चुरेका खहरेको बर्खे कहरलाई नियन्त्रण गरेको छ । गत वर्षजस्तो यसपालिको वर्षामा खहरे छेउछाउको बस्ती जलमग्न भएन । सुखजोर खहरेको सिरानमा ७ सय १ घनमिटर बराबरको बाँध बनाइएको छ ।

त्यसको लागत श्रमदानसहित ४६ लाख छ भने त्यसमध्ये करिब ४० लाखचाहिँ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले लगानी गरेको छ । उपभोक्ता समितिका अध्यक्ष रामबहादुर घिसिङका अनुसार सुखजोर खहरे नियन्त्रणपछि यसपालिको बर्खामा चुरेको पहिरो र ढुंगामाटोपहिला जसरी बगेर गाउँ पसेन । खहरेमा बनाइएको बाँधका कारण वर्षाको पानी सहज रुपमा बग्यो । यसले जमुनीबासमा हुने क्षति कम भएको छ ।

त्यसो त सुखजोर खहरे वरिपरिको ६ हेक्टर जमिन हरियाली बनाउन वृक्षरोपण पनि गरिएको छ भने बिरुवा जोगाउन तारबार लगाइएको छ । तारबार लगाइएको जमिनमा सालका साना बिरुवा हुर्किदै छन् । खहरेको दुवै छेउमा बाँसको बिरुवा रोपिएको छ । खहरेको छेउमा यसरी बाँसको बिरुवा रोप्दा खहरे फैलिन नपाउने र क्षति कम हुने प्राविधिकहरूको विश्वास छ ।

राज्यको लगानीमा चुरेका खहरे तथा पहिरो नियन्त्रण गर्न साना बाँध र तटबन्ध निर्माण गरिएको छ । गाउँबस्तीबाट टाढा चुरे जंगलमै राज्यको लगानीमा साना बाँध तथा तटबन्ध निर्माण गर्दा सुरुमा स्थानीय बासिन्दालाई अचम्म लागेको थियो । चुरेको सुक्खा खोल्सा तथा खहरेमा राज्यले ठूलो लगानीमा भौतिक संरचना निर्माण गर्दा विकासको अपेक्षामा रहेका जनतालाई अनौठो लाग्नु स्वभाविक थियो । तर, चुरे संरक्षणको सबैभन्दा महत्वपूर्ण काम नै चुरेका खहरे नियन्त्रण भएको तथ्य बुझाइएपछि भने जनता चुरे संरक्षणको यो मोडलप्रति आशावादी हुन थालेका छन् ।

चुरे संरक्षण गर्न र चुरेका खहरेबाट मैदानी भागमा हुने क्षति कम गर्न चुरेको माथिल्लो भेगकै खहरे तथा खोल्साको उपचार अनिवार्य छ । त्यसैले चुरे संरक्षणसम्बन्धी गुरु योजनाले किटान गरेका चुरेका रणनीतिक बिन्दुहरूमा चुरे संरक्षणका पूर्वाधार निर्माण थालिएको छ । पछिल्लो समय चुरे क्षेत्रकास्थानीय जनता आफैँ उपभोक्ता समितिमार्फत सक्रिय भएर चुरे जोगाउने अभियानमा सक्रिय देखिएका छन् ।

दृष्टान्त दुई : महादेव खहरे नियन्त्रण

धनुषाको मिथिला नगरपालिका ११ को दुधपानी गाउँ सिन्धुलीको भीमान र धनुषाको रातुको सीमामा पर्छ । रातु नदीको माथिल्लो भेग नै दुधपानी हो । चुरे प्रभावित गाउँ हो दुधपानी पनि । तीन वर्षअघिसम्म चुरेको माथिल्लो भागबाट बग्ने खहरले दुधपानीवासीलाई वर्षामा हैरान पार्ने गरेको थियो । चुरेका खहरे र पहिरोले दुधापानीको बस्ती जोखिममा मात्र परेको थिएन, खेतीयोग्य जमिन, सामुदायिक भवन र विद्यालयमा समेत खहरे पस्ने गरेको थियो । तर, तीन वर्ष यता, दुधपानी क्षेत्रका खहरेको कथा बदलिएको छ । चुरेका खहरेमा साना बाँध निर्माण गर्न थालिएपछि खहरले निम्त्याउने संकट न्यून हुन थालेको छ ।

दुधपानीमा पनि खहरेको दुवै किनारामा वृक्षरोपण गरिएको छ । चुरेको जगंलमा चरिचरण रोकिएपछि त दुधपानीको दुर्दशा कम भएको छ । स्थानीय जनता, सामुदायिक वन र राष्ट्रपति तराई मधेस संरक्षण विकास समितिको संयुक्त प्रयासले दुधापानीवासीलाई राहत पुगेको छ ।

एउटा केस हेरौं : दुधपानीको महादेव आधारभूत विद्यालयको पूर्वतिरको महादेव खहरले तीन वर्षअघिसम्म वर्षायाममा उत्पात मच्चाउने गरेको थियो । राति खहरे उर्लेपछि विद्यालयवरिपरिका बासिन्दा निदाउन पाउँदैनथे । चुरेबाट उर्लेको खहरेले वर्षाभरि नै विद्यालय जलमग्न हुन्थ्यो । विद्यालयछेउमा बनाइएको महादेव मन्दिरको पनि खहरेले बेहाल बनाउने गरेको थियो । त्यति मात्र होइन, खहरेको माटो, गिट्टी र ढुंगाले रातुखोला किनारको धानबाली पुर्ने गरेको थियो भने पानीका स्रोतहरू पनि पुरिन्थे ।

खहरेको पीडा भोगेका स्थानीय नवराज राउतले भने, ‘महादेव खहरेले हामीलाई हरेक वर्ष ज्यादै हैरान पारेको थियो । तर, खहरेमा बाँध बनाइएपछि हाम्रा धेरै समस्या समाधान भएका छन् ।’

हुन पनि दुधपानीको महादेव आधारभूत विद्यालय नजिकैको महादेव खहरेमा दुई वटा बाँध बनाइएको छ भने खहरको दुवै किनारामा पर्खाल लगाइएको छ । यसले चुरेको नदिजन्य पर्दाथ चुरेमै रोकिएको छ । खहरे नियन्त्रणले खेतबारी, बस्ती र विद्यालयमा पुग्ने क्षति कम भएको छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले स्थानीय उपभोक्तामार्फत गत वर्ष १९ लाख लगानी गरेर महादेव खहरेमा बाँध निर्माण गरेको हो । यसले चुरेका खहरे र पहिरोबाट हुने क्षति कम गरेको छ । महादेव खहरे नियन्त्रण उपभोक्ता समितिको सक्रियतामा खहरेमा स्थानीय उपभोक्ताले बनाएका बाँधको दुवै किनारामा बिरुवा रोपिएको छ भने बाँधवरिपरि तारजाली लगाइएको छ ।

चुरेको माथिल्लो क्षेत्र हो दुधपानी । दुधपानीवासीले सामुदायिक वनमार्फत खुला चरिचरण बन्द गरेका छन् भने वन क्षेत्र संरक्षण गरिएको छ । चरिचरण बन्दले दुधपानीमा विगतको तुलनामा अहिले हरियाली बढेको छ । महादेव खहरे उपभोक्ता समितिका अध्यक्ष भोजबहादुर बड्वालका अनुसार खहरे नियन्त्रण गर्नुअघि वर्षामा पानीका स्रोत पुरिने, भू–क्षय हुने, सिँचाइ र खानेपानीको समेत संकट हुनेगरेको थियो ।

चुरेको कहरले त्यहाँका कतिपय घरहरू पनि जोखिममा परेका थिए । तर, खहरे नियन्त्रण गरेर हरियाली बढाइएपछि यसपालिदेखि महादेव आधारभूत विद्यालय, महादेव मन्दिर, सामुदायिक वनको भवन र महादेव खहरे नजिकको ५० बिघा खेत सुरक्षित भएको छ । बड्वाल भन्छन्, ‘महादेव खहरे नियन्त्रणबाट यहाँका १२० घरधुरी सुरक्षित भएका छन ।’

दृष्टान्त तीन : लामिडाँडा र लोटा खहरे नियन्त्रण

दुधपानीमै स्थानीयलाई दुख दिने चुरेको अर्को खहरे हो लामिडाँडाँ खहरे । दुई वर्षअघि मिथिला नगरपालिकाको १५ लाख र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको १९ लाख लगानीमा खहरेमा बाँध निर्माण गरी ताराजाली लगाएको छ । त्यसले अहिले खहरे आसपासका स्थानीय बासिन्दालाई हाइसन्चो भएको छ ।

कतिसम्म भने ०६५—०६६ को वर्षामा उर्लिएको खहरेले लामिडाँडाका करिब ३२ घर परिवारको बेहाल भएको थियो । एक स्थानीयका अनुसार, त्यतिबेला चुरेको भयावह भेलले बगाउने डरले सबै स्थानीय बासिन्दा रातभरि चुरेको जंगलमा भेला भएर बसेका थिए । त्यो बेलाको दुखान्त फेरि दोहोरिने डरले स्थानीय जनताकै मागबमोजिम लामिडाँडा खहरे नियन्त्रण गरिएको हो । दुई वर्ष लगाएर गरिएको खहर नियन्त्रणले ०६५ सालमा खहरेको जोखिममा परेका ३२ घर यसपालिको बर्खामा ढुक्कले आफ्नै घरमा बस्न पाए । खहरे नजिकैको महिला सहकारी भवन, लामिडाँडा खानेपानी आयोजना र वरिपरिको खेत सुरक्षित भएको छ ।

मिथिला नगरपालिका ११ को रातु नदि आसपासकै अर्को खहरे हो लोटा खहरे । यो खहरे पनि चुरेकै उपज हो । यसको कहरले स्थानीयलाई सताएको धेरै भयो । तर, गत साल खहरेको किनार संरक्षण गर्न बाँध निर्माण गरी तारजाली लगाइएपछि खहरेको असर कम भएको छ । यसले खहरे एउटै बाटोबाट बग्न थालेको छ भने जोखिममा परेको करिब ६० बिघा खेत सुरक्षित भएकोमहादेव खहरे संरक्षण उपभोक्ता समितिका अध्यक्ष भोजबहादुर बड्वाल बताउँछन् । उनका अनुसार लोटा खहरे नियन्त्रणबाट त्यहाँका २५ घरधुरी सुरक्षित भएका छन् ।

खहरे नियन्त्रण तथा चुरेको खुल्ला चरिचरण रोकिएपछि दुधपानी र रातु नदिको उत्तरी क्षेत्रको चुरेले पुर्नजीवन पाउन थालेको छ । स्थानीयका अनुसार दश वर्षअघिको चुरेभन्दा अहिलेको चुरेमा परिवर्तन देखिन थालेको छ । सामुदायिक वनको माध्यमबाट खुल्ला चरिचरण बन्द भएको छ, घाँसदाउरा गर्न र वन फडानी गर्न रोकिएको छ ।

मुख्य त त्यस क्षेत्रमा चुरेको अतिक्रमण पनि रोकिएको छ । त्यसले गर्दा चुरेमा सालका नयाँ रुखहरू हुर्किन पाएका छन् भने हरियाली बढेको छ । दुधपानी र रातुका गाउँ नजिकै अचेल चुरेका मृग, खरोयो, कछुवा, कालिजहरू बेलाबेलामा विचरण गर्न थालेका छन् ।

दृष्टान्त चार : चुरेको माटो चुरेमै, स्वच्छ पानी सबैलाई

मिथिला नगरपालिका ७ को ढल्केबरबाट करिब ५ किलोमिटर उत्तर लागेपछि चुरे पुगिन्छ । ढल्केबरबाट उत्तरतिरको सानोबसी खोल्सीमा एक वर्षअघिसम्म हिउँदमा टिपर, ट्याक्टर, गोरुगाडा आदि सक्रिय हुन्थे वनपैदावार र नदिजन्य पदार्थ संकलन गर्न । तर, यसपालि सानोबसी खोल्सीमा चारपांग्रे सवारी जान नसक्ने बनाइएको छ । सानोबसी खोल्सीमा यसै वर्ष तीनवटा साना बाँध (चेक ड्याम) बनाइएको छ भने एउटा पर्खाल निर्माण गरिएको छ । यसले सानोबसी खोल्सीवरिपरिको चुरे क्षेत्रमा चारपांग्रे सवारीसाधन छिर्न नमिल्ने भएको छ ।

हुन त सानोबसीमा बनाइएका बाँध चारपांग्रे सवारीसाधन रोक्नका लागि बनाइएको होइन । बर्खामा चुरेबाट बग्ने नदिजन्य पदार्थ चुरेमै रोक्नका लागि बाँध बनाइएको हो । चुरेको माटो चुरेमै थुनछेक गर्दा चुरेको क्षयीकरण कम हुने भएकोले सानोबसीमा बाँध बनाइएका हुन् । तर, चुरेको सानोबसी खोल्सीमा बनाइएका तीन बाँधले ढल्केबरबाट चुरेको माथिल्लो भेग प्रवेश गर्ने चारपांग्रे सवारीसाधनलाई निषेध गरेका छन् । किनभने मालवहाक चारपांग्रे सवारी यी बाँध कटेर चुरेको माथिल्लो भागमा प्रवेश गर्न सक्दैनन् ।

चुरे क्षेत्रको वन मासिनुको एउटा कारण खुला र अनियन्त्रित चरिचरण पनि हो । यी बाँधले खोल्सीको बाटो भएर चुरेको जंगल छिर्ने घरपालुवा पशुलाई पनि सकस परेको छ । यी बाँधले सानोबसी क्षेत्रमा यसअघि हुने गरेको अवैध चोरी निकासी र चुरे दोहन रोक्न सहयोग पुगेको उपभोक्ताहरूको भनाइ छ । बाँध निर्माणको रेखदेखमा खटिएका राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिको जनकपुर एकाइका इन्जिनियर देवपुजन यादवले भने, ‘यी बाँधले चुरेको माटो चुरेमा राख्नुका साथै चुरे क्षेत्रमाथि भइरहेको अत्याधिक दोहनलाई पनि नियन्त्रण गर्न सहयोग पुग्नेछ, यस्ता बाँध चुरेको माथिल्लो क्षेत्रका खोल्सी तथा खहरेमा बढीभन्दा बढी निर्माण गर्न जरुरी छ ।’

चुरेका खहरे तथा खोल्सीमा साना तथा ठूला बाँध निर्माण गरेर चुरे क्षेत्रको माटो, बालुवा तथा गेगरलाई चुरे क्षेत्रमै राख्नुलाई विज्ञहरूले चुरे संरक्षणको सबैभन्दा प्रभावकारी उपाय मानेका छन् । १० वर्षअघिसम्म यो कार्यक्रमबारे स्थानीय जनता तथा नीति निर्मातालाई पनि जानकारी थिएन । तर, अहिले यो कार्यक्रम चुरे जोगाउने महत्वपूर्ण माध्यम भएको छ ।

यसपालिको बर्खामा सानोबसी खोल्सीमा बनाइएका साना बाँधले चुरेको माथिल्लो क्षेत्रबाट बगेर आउने पानीको बहाव रोक्ने, माटो र बालुवालगायतका नदिजन्य पर्दाथलाई चुरेमै राख्न सक्षम भएको छ । सानोबसी खोल्सी उपभोक्ता समितिका अध्यक्ष केशव प्रसाई भन्छन्, ‘विगतमा चुरेको अनकन्टार खोल्सामा किन यत्रो पैसा हालेर बाँध बनाइएको होला भन्ने लाग्थ्यो । तर, अहिले बाँधका कारण चुरेबाट हुने क्षति न्यून भएपछि जनता स्वयं बाँध निर्माणमा सक्रिय भएका छन् ।’

दृष्टान्त पाँच : भूमिगत जल उपयोग

चुरे संरक्षण विकास समितिले मिथिला नगरपालिका ७ को जलाध नदिमा गएको वर्ष नै भूमिगत जल उत्खनन गरेर मिथिला नगरपालिकाको वडा ७ का बासिन्दाका लागि खानेपानीको जाहो गरी दिएको छ । भूमिगत जल उपयोग र पुनभरण चुरे संरक्षणको अर्को महत्वपूर्ण कार्यक्रम हो ।

जलाध नदी क्षेत्रको भूमिगत जल उपयोग गरेर मिथिला नगरपालिका ७ को दमार पोखरीमा पानी हालिएको छ । दमार पोखरी ढल्के तथा जनकपुर क्षेत्रको एउटा महत्वपूर्ण पर्यटकीय तथा धार्मिक गन्तव्य बन्न पुगेको छ । मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो भन्छन्, ‘राष्ट्रपति चुरे संरक्षण समितिको जनकपुर एकाइको सहयोगमा हामीले दमार पोखरीको स्तरोन्नति गरेका छौँ, चुरेको फेदीमा जलभण्डारण, पर्यापर्यटन र हरियाली बढाइएपछि त्यो ठाउँ रमणीय गन्तव्य बनेको छ ।’

दृष्टान्त छ : वर्षाको पानी संकलन

चुरे क्षेत्रको परिचय नै वर्षामा जलमग्न अनि हिउँदमा सुक्खाजस्तो बन्न पुगेको छ । चैत वैशाखमा चुरेमा पानी नै फेला पार्न कठिन हुन्छ । यो संकटलाई कम गर्न चुरे क्षेत्रमा साना तथा ठूला पोखरी, ताल, तलैया र पानीको स्रोत संरक्षण जरुरी हुन्छ ।

चुरेमा वर्षाको पानी संकलनबाट पर्यापर्यटन बढाउन, जमिनमुनि पानी पुनभण्डारण गर्न र चुरे क्षेत्रमा हरियाली सृजना गर्न सहयोग पुग्ने भएकोले मिथिला नगरपालिका वडा नम्बर १० को धनौजीमागत वर्ष आकाशे पानी संग्रह केन्द्र (रेन वाटर हार्भेस्टिङ) बनाइएको छ । त्यसले धनौजीमा हरियाली बढाएको छ । आकाशे पानी संकलन केन्द्रका कारण चुरेको सुक्खा क्षेत्रमा पर्ने धनौजीमा चैत्र वैशाखमा पनि पानीको तलाउ देख्न पाइन्छ ।

पानी संकलन केन्द्रले चुरेको पानीलाई चुरे क्षेत्रमै रोकेको छ भने अरु बेला सुख्खा हुने स्थानमा चैत वैशाखमा पनि पशु तथा चराचुरुंगीले पानीको पहुँच पाएका छन् । चुरेको सुक्खा क्षेत्रलाई रसिलो र ओसिलो बनाउन, जमिनमुनि पानी पुनर्भरण गर्न यो मोडलका पानी संकलन केन्द्रको संख्या बढाउनुको विकल्प छैन । यस्ता पानी संकलन केन्द्र जति धेरै भए, उति नै चुरे क्षेत्रमा हरियाली बढाउन सकिन्छ ।

चुरे क्षेत्रमा अनगिन्ती खोल्सा, उराठलाग्दा थुम्का, खहरे, अधिकांश ठाउँमा पानी नभएका सुख्खा बगर देखिन्छन् । प्राय हिउँदमा चुरेमा आगलागी हुन्छ, यसपालि पनि धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रौतहटको उत्तरी क्षेत्रको चुरेमा आगलागी भयो । कतिपय स्थानमा ससाना पानीका दह आगलागी र प्रदूषणले चैत वैशाखमा सुके । सुख्खा र आगलागीले चुरे विनाश अरु बढ्यो ।

जहाँसुकै पनि सफा पानी भएको दह, पोखरी र तालतलैया निलो हुनुपर्ने । तर, आगलागी र प्रदूषणले चुरे क्षेत्रका जलाधार पनि प्रदूषित भएनन्, काला नै बने । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको जनकपुर एकाइ प्रमुख शिवकुमार पोखरेल भन्छन्, ‘हिउँदमा प्रदूषण र आगलागीले चुरेका पानीका दह वा स्रोतहरू कालै भए । त्यसैले चुरेमा वृक्षरोपण गर्ने र खहरे र खोल्सा नियन्त्रण गरेर हरियाली बढाउन धेरै काम गर्न बाँकी छ ।’

दृष्टान्त सात : नदी गहिराउने काम

बर्खायाममा चुरेका खहरेहरू मिसिएर बग्ने ठूला नदिले मधेसको खेतीयोग्य जमिन कटान गरेर क्षति भएको छ । माथिल्लो भेगबाट बग्ने माटो, बालुवा र गेगर नदिको बीचमा थुप्रिने अनि नदीचाहिँ बीचबाट होइन दायाँबायाँ किनाराबाट बग्ने गरेको छ । यसले कृषि जमिन कटान गर्ने गरेको छ ।

चुरे क्षेत्रको नदीजन्य पदार्थ नदीको बीच भाग थुप्रिएर धेरै ठाउँ टापुजस्तो देखिन्छ । यसको असर पूर्वपश्चिम राजमार्गका पुलहरूमा पनि परेको छ । जस्तो धनुषाको औरही पुलमुनिको नदीलाई हेरौं : त्यहाँ नदिजन्य पदार्थ थुप्रिएर बर्खामा पुलमाथिबाट पानी बग्न थालेको धेरै वर्ष भएको छ । राजमार्गका कयौँ पुलहरू सुरक्षित गर्न नदिलाई गहिराएर त्यसको बहाबलाई व्यवस्थित गर्न जरुरी हुन्छ ।

धनुषाको महेन्द्रनगर र नक्टाझिझ जोड्ने पुल केही वर्षअघि औरहीले बगायो । त्यसको कारण पुलमुनि थुप्रिएको नदिजन्य पदार्थ थियो । केही वर्षअघि त्यहाँ नयाँ पुल निर्माण गरिएको छ । नदिको दायाँबायाँ किनारामा अग्ला पर्खाल लगाएर नदीको बीचको भागलाई गहिरो बनाउने हो भने त्यसले अहिलेका संकटलाई निकास दिनेछ । नदी एउटै मार्गबाट केन्द्रीकृत भएर बग्ने हो भने नदी किनाराको खेतीयोग्य जमिन पनि सुरक्षित हुनेछ । यो समस्या समाधान गर्नका लागि नीतिगत रुपमै सरकारले स्पष्ट कार्ययोजना ल्याउन जरुरी हुन्छ ।

मधेसका धेरै ठाउँमा वर्षाको बाढी र खहेरेले नदीको बीच भाग टापु बन्ने र किनाराबाट नदि बग्ने क्रम रोकिएको छैन । मैदानी भागका धेरै बस्तीहरू चुरेका नदिको यो प्रवृतिको शिकार भएका छन् । नदीको बीच भागमाथुप्रिएको नदीजन्य पर्दाथलाई हटाएर नदिलाई पुरानो मार्गबाट बग्ने बनाउने कार्यक्रम पनि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको प्राथमिकतामा परेको छ । त्यसलाई समितिले नदी स्थरीकरण नाम दिएको छ ।

नदी स्थरीकरणमा नदीको दुवै किनारामा अग्लो र बलियो पर्खाल लगाउने र नदीको बीच भागलाई गहिराउने काम गरिएको छ । यसले वर्षाको बेला नदीले गर्ने क्षतिलाई न्यूनीकरण समेत गरेको छ । दृष्टान्तका लागि महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर ११ र १२ को बीचमा रहेको खयरमारा खोलामा यो वर्ष नदि स्थरीकरण गरिएको छ करिब ७० लाख बजेटमा ।

चुरेबाट उत्पन्न भएको त्यो नदिले खयरमारास्थित निर्मला लामा प्राविधिक शिक्षालयको जमिन मात्र होइन, खयरमारा बजारलाई नै तहननहस बनाउने जोखिम बढाएको थियो । त्यहाँ नदीको गहिराइ बढाएर दुवै किनारामा पर्खाल लगाइएको छ । यसले अब खयरमारा बजार क्षेत्र, निर्मल लामा प्राविधिक शिक्षालय, स्थानीय वस्ती र जमिन सुरक्षित भएको छ ।

चुरे संकट कुनै एउटा कुरामा मात्र केन्द्रित छैन । चुरे क्षेत्रको वन विनाश र मनपरी उत्खननले खहरे र खोल्सीहरू हरेक वर्ष थपिएका छन् । भू–क्षय चुरेको चर्को समस्या हो । भू–क्षय, गल्छी र खहरेबाट बग्ने वर्षाको भेल र बाढीले खोलानाला कतै छुट्टिएका छन् त कतै दायाँबायाँ लागेर पुरानो जमिनको अस्तित्व नै संकटमा परेको छ ।

चुरेबाट बग्ने नदिमा आउने बाढी पहिरोले कयौँ ठाउँमा पानीका स्रोतहरू लोप भएका छन् । जलाशय सुक्नु, सीमासार क्षेत्र सुख्खा र खण्डहर हुनु अनि ससाना दहहरू पानीविहीन बन्नु चुरेको गम्भीर दुर्भाग्य भएको छ । यसको सिधा असर भने तराई मधेसको जनजीवनमा परेको छ ।

चुरे संटकको अनुपातमा यसरी सञ्चालन गरिएका कार्यक्रम पर्याप्त भने छैनन । समितिले सीमित साधन स्रोतका भरमा चुरेका गल्छी, पहिरो, खहरे नियन्त्रण, नदि तथा खोला किनारा स्थरीकरण (दायाँबायाँ पर्खाल लगाउने र नदीको बीच भाग गहिरो पार्ने) भूमिगत जल पुनभरण तथा वर्षातको पानी संकलन, चुरे क्षेत्रको भू–क्षय कम गर्न बाँस, घाँस, बिरुवा, फलफूल रोप्नेजस्ता कार्यक्रम सञ्चालन गरेको छ ।

चुरे संरक्षण कार्यक्रमको मुख्य ध्याउन्न चरे क्षेत्रको संरक्षण नै हो । तर, चुरे संरक्षण कार्यक्रमलाई मधेसका मैदानी भागसम्म विस्तार गरिएकोले चुरेको कोर क्षेत्रमा संरक्षणसम्बन्धी पूर्वाधार निर्माण, वृक्षरोपण, खहरे तथा पहिरो नियन्त्रणलगायतका कार्यक्रममा स्रोत अपुग भएको देखिन्छ । चुरेको क्षयीकरणको मुख्य कारण चुरेको चर्को दोहन हो । चुरेको कोर क्षेत्रको दोहन रोकेर त्यस क्षेत्रको समस्याको निदान नखोजी चुरेले मैदानी भागमा बढाउने क्षति कम हुँदैन ।

राष्टपति चुरे संरक्षणका पछिल्लो सात वर्षमा न्यूनतम एक अर्ब १५ करोडदेखि अधिकतम एक अर्ब ७७ करोड रुपैयाँसम्म खर्च गरिएको छ । यो बजेटको अधिक हिस्सा पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतिर खर्चिइएका कारण चुरेको कोर क्षेत्रमा बजेट नै अपुग भएको छ । त्यसैले चुरे संरक्षणको काम चुरेमै केन्द्रित गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?