बाजुरा र दार्चुलामा चामल अभाव

धनगढी । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ बिच्छ्यागाउँका जुनकला बुढा दुई दिन पैदल यात्रा गरेर कवाडी पुगिन् । उनी चामल किन्नका लागि कवाडी खाद्य डिपोमा पुगेकी थिइन् । तर, कवाडी खाद्य डिपोमा चामलको एक दाना पनि थिएन । उनी रित्तै हात घर फर्किइन् ।

जुनकलाको पाँच जनाको परिवार छ । घरमा चामल सकिएपछि उनले ऋण सापट गरेर चामल किन्न कवाडी डिपो आएकी थिएन् । ‘आमा हिड्न सक्नुहुन्न । बुबा बिरामी हुनुहुन्छ । अनि आफैँ चामल किन्न आएकी थिएँ । तर, डिपोमा चामलको एक दाना पनि रहेनछ’ उनले भनिन् ।

उनीजस्तै बिछ्याका धर्मा बुढाले पनि चामल पाइनन् । खाद्य डिपोमा चामल नपाएपछि उनी निराश हुदै घर फर्किइन् । ‘सरकारले हाम्रो दुःख हेर्दैन । यताउता गरेर पैसाको जोहो गरेर चामल किन्न आए, तर पाइएन’ उनले भनिन् ।

हिमाली गाउँपालिकाका बासिन्दाहरू अहिले चामलका लागि दिनहुँजसो खाद्य डिपो धाइरहेका छन् । हिमाली गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष अम्मलाल कार्कीले कवाडी खाद्य डिपोमा चामलको मौज्दात नभएकाले रित्तो हात फर्किनु परेको बताए । दसैँ तिहार नजिकिएको छ । दसैँ तिहारमा चामलको निकै माग बढ्छ । तर, खाद्य डिपोमा अझै पनि चामल ढुवानी हुनसकेको छैन ।

हिमाली गाउपालिकाको बिच्छ्या गाउमा चार हजार जनसंख्या छ । आफ्नो उत्पादनले दुई महिना पनि खान पुग्दैन । हिमाली गाउँपालिका बाजुराको विकट गाउँपालिका हो । गाउँपालिकाबाट सदरमुकाम मार्तडी पुग्न एक साता लाग्ने गर्दछ ।

दसैँ तिहार नजिकिदै गए पनि सुदूरपश्चिम प्रदेशका बाजुरा र दार्चुलामा चामल ढुवानीमा अझैं समस्या रहेको छ । वर्षायाममा बाढीपहिरोका कारण बिग्रेका सडकखण्ड अझैं नबनेका कारण चामल ढुवानीमा समस्या रहेको बताइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढी कार्यालयका अनुसार दार्चुला र बाजुरा जिल्लामा चामलको निकै माग भए पनि ढुवानी गर्न कठिनाई भइरहेको छ । कम्पनीका धनगढी कार्यालय प्रमुख इन्जिला बस्नेतले भनिन्, ‘हामीले चामल ढुवानीका लागि टेण्डर आह्वान गरेर सम्झौता पनि गरिसकेका छौं । सडक सञ्चालनमा रहेका ठाउँमा पठाउछौँ । तर, बाटोको समस्या भएका ठाउँमा भने समयमा पठाउन गाह्रो छ ।’

यस वर्षको वर्षायाममा बाजुरा र दार्चुला जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध बनेका छन् । सडक अवरुद्धका कारण चामल माग भएका स्थानमा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्काल चामल ढुवानी गर्न नसक्ने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका खाद्य डिपोहरूमा चामलको अभाव रहेको छ ।

कम्पनीको धनगढी कार्यालयका अनुसार अछाम जिल्लाका तीन डिपोमा दुई हजार क्विन्टल, बैतडीका चार वटा डिपोमा चार हजार पाँच सय क्विन्टल, बाजुराका तीन डिपोमा दश हजार क्विन्टल, बझाङका चार वटा डिपोमा चार हजार क्विन्टल र दार्चुलाका छ वटा डिपोमा चार हजार नौ सय क्विन्टल चामल माग भएको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा अहिले पनि ६२ दशमलव ३ प्रतिशत जनताले बर्षभरिमा केही महिना भोकै वा आधा पेट खाएर जीवन धान्नु परेको तथ्य सार्वजनिक गरिएको थियो । प्रदेश स्वास्थ्य सेवा प्रवद्र्धन रणनीति २०७६ अनुसार सुदूरपश्चिम प्रदेशका २६ लाख १५ हजार एक सय ४८ मध्ये १६ लाख २९ हजार दुई सय जनताले बर्षभरिमा केही महिना भोकै वा आधा पेट खाएर जीवन धानी रहेको उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा आवश्यकता भन्दा बढि खाद्यान्न उत्पादन भएपनि उत्पादन भएका खाद्यान्नहरू प्रदेश बाहिर र भारततिर निर्यातले प्रदेशमा खाद्यान्न अभाव हुने गरेको छ । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा आवश्यक खाद्यान्न पाँच लाख ४३ हजार ४२ मेट्रिक टन छ । प्रदेशमा उपभोग्य खाद्यान्न सात लाख पाँच हजार सात सय ६७ मेट्रिक टन उत्पादन भएको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम प्रदेशका सबै जनताले पेटभरी खाएर पनि एक लाख ६२ हजार सात सय २५ मेट्रिक टन खाद्यान्न बचत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?