होम सेन्टरमै सम्पन्न भयो कक्षा १२ को परीक्षा

लोकपथ
244.6k
Shares

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।

परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको परीक्षा आजदेखि सम्पन्न भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

कूल चार हजार ३१५ विद्यालयमा भएको परीक्षामा तीन लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरदेखि सांसद शान्ता चौधरीलेसमेत कक्षा १२ को परीक्षा दिएका छन् ।

बोर्डले यसवर्ष प्रश्नपत्र इमेल गरेर विद्यालयमा पठाएको थियो । बोर्डले इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाएको थियो । बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?