यसकारण महाधिवेशनमा देउवालाई मुस्किल

कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढ्दै छ ।

कोरोना महामारीका बीच ६४ जिल्लामा कांग्रेसको वडा अधिवेशन सकिएको छ । वडा अधिवेशन सकिएका ती जिल्लाहरूमा शनिबारबाट स्थानीय तहको नेतृत्व चयन हुँदै छ ।

बाँकी १३ जिल्लामा क्रियाशील सदस्य विवादका कारण वडा अधिवेशन पनि हुन सकेको छैन । ती जिल्लामा दशैँपछि वडा अधिवेशन हुनेछ । तर हिमाली जिल्लामा भने सबै तहको अधिवेशन दशैँअघि नै सक्ने कांग्रेसको तयारी छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म हुँदै छ । १३ जिल्लामा वडा अधिवेशन हुन नसकेपछि केन्द्रीय महाधिवेशन ती जिल्लाको विवाद सकेर पुसमा सार्ने कुरा पनि उठेको कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक नेताले लोकपथलाई जानकारी दिए ।

कांग्रेसको १३औँ अधिवेशन २०७२ फागुनमा भएको थियो । प्रत्येक ४ वर्षमा हुनुपर्ने महाधिवेशन कोरोना महमारी, क्रियाशील सदस्यता विवादलगायतका कारण देखाउँदै कांग्र्रसले सबै विकल्पको प्रयोग गर्दै हाधिवेशनपछि धकेल्दै आएको हो ।

१४औँ महाधिवेशन २०७६ फागुनमै हुनुपर्ने थियो । १३औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद गत भदौ २३ बाट सकिने भएपछि कांग्रेसले भदौ १८ देखि वडा अधिवेशन सुरु गरेर महाधिवेशनमा होमिएको शन्देश दिएको हो ।

महाधिवेशन नजिकिँदै गएको अवस्थामा कांग्रेस सभापतिको होला भन्ने चासो कांग्रेस नेता कार्यकर्ता मात्रै होइन, अरु राजनीतिक दलको पनि उत्तिकै चासो छ । किनकि कांग्रेसको सभापतिको हुँदा आफूसँग गरम वा नरम व्यवहार हुन्छ भन्ने विषय अरु राजनीतिक दललाई छ ।

नेताहरू तल्ला तहका निर्वाचन सकिएपछि आफ्ना पक्षका को–कति आए र महाधिवेशन प्रतिनिधि कति भए भन्ने आकलन गरेर मात्रै आफ्नो उम्मेदवारीलाई टुंगो लगाउने गृहकार्यमा लागेका छन् ।

मुख्य प्रतिस्पर्धा देउवा र पौडेल पक्षबीच नै हुने

वर्तमान सभापति शेरबहादुर देउवाले यो पटक पनि सभापतिमा उम्मेदवार बन्ने बताइसकेका छन् । तर उनले औपचारिक रूपमा घोषणा गरेका छैनन् । देउवाले भित्रभित्रै तयारी भने गरिरहेका छन् । देउवा निकट एक नेताका भन्छन्, ‘देउवा आन्तरिक मूल्यांकन गरेर अघि बढ्ने सोचमा छन् । १३औँ महाधिवेशनदेखि कोइराला परिवारबाट कांग्रेसको नेतृत्व खोसेका देउवा अहिले पनि नेतृत्व आफ्नो हातबाट अन्त नजाओस् भन्नेमा छन् ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा पनि सभापतिमा आकांक्षी धेरै छन् । पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री, प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला सभापतिमा लड्ने तरखरमा छन् । यो पक्षले साझा उम्मेदवार उठाउने बताए पनि आजसम्म टुंग्याएको छैन् । यो पक्षबाट जो उम्मेदवार बने पनि देउवासँग सिधै टक्कर पर्नेछ ।

पौडेल पक्षका नेता धनराज गुरुङको अनुसार साझा उम्मेदवारका लागि छलफलको प्रयास जारी छ । उनले लोकपथसँग भने जो भए पनि साझा उम्मेदवार हुन्छ । तर गुरुङले भनेजस्तो सहज हुने अवस्था देखिएको छैन । किनकि पौडेल पक्षमा सभापतिको दाबेदार भनिएकाहरूले एकले अर्काेलाई छोड्ने संकेत अहिलेसम्म देखिएको छैन । यदि छोड्ने भए वडा अधिवेशनअघि सभापति उम्मेदवार टुंगो लागिसक्थ्यो ।

देउवालाई मुस्किल

एक कांग्रेस केन्द्रीय सदस्यका अनुसार देउवालाई विगतमा जस्तो निर्वाचन जितेर पार्टी सभापति बन्न सहज छैन । देउवाइतर पक्षका नेताहरूले देउवाले पार्टीमा मनमौजी गरेको, पार्टीको विधि र प्रक्रियालाई मिचेको जस्ता आरोप लगाउने गरेका छन् ।

देउवा पक्षका नेता गोपालमान श्रेष्ठ भने पार्टीमा देउवाजत्तिको लचक कोही नभएको दाबी गर्छन् । देउवाले पार्टीमा आफ्नो पक्षको बहुमत हुँदाहुँदै पनि त्यसको प्रयोग नगरेको श्रेष्ठले लोकपथलाई बताए । देउवाले पार्टीको विरोधी पक्ष अर्थात् पौडेल समूहले जे भन्यो त्यही मान्दा पार्टीका विभागहरू ढिलो गठन भएको श्रेष्ठको भनाइ छ ।

त्यति मात्रै नभई देउवाले पार्टीमा पौडेल पक्षका कुरा सुन्दा तरुण दल, नेपाल विद्यार्थी संघलगायतका भातृ संगठन तहसनहस भएका नेता श्रेष्ठको दाबी छ ।

तर देउवालाई लामो समयसम्म साथ दिएका उपसभापति विमलेन्द्र निधि उनीसँग टाढिएका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेर निधिले देउवालाई चुनौती दिएका छन् । निधिको पक्षमा कम्तीमा पनि ३ सयदेखि ४ सयसम्म मत रहेको आकलन कांग्रेस नेताहरूको छ । यस पटक निधि आफैँ उम्मेदवार भन्दा त्यो भोट देउवातर्फ जाने अवस्था छैन ।

त्यस्तै कांग्रेसका पाका नेता कुलबहादुर गुरुङसँग पनि निधिको भन्दा बढी भोट रहेको कांग्रेस नेताहरूको दाबी छ । १३औँ महाधिवेशनमा यो भोट देउवालाई गएको थियो । तर यस पटक यो भोट देउवालाई जान्छ कि जाँदैन भन्ने यकिन नभएको कांग्रेस नेताहरू नै बताउँछन् ।
त्यसैगरी पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री गोविन्दराज जोशी, लक्ष्मण घिमिरेलगायतको पक्षमा रहेको मत पनि देउवालाई परेको थियो । तर उनीहरू अहिले देउवासँग असन्तुष्ट रहेका बताइएको छ । यसले पनि देउवालाई सभापति पद हत्याउन मुस्किल पर्नेछ ।

त्यस्तै देउवा अहिले प्रधानमन्त्री रहेकाले उनले जनताको पक्षमा खासै गतिलो काम नगरिहालेकाले त्यसले पनि कार्यकर्तामा उनको लोकप्रियता गुम्दै गएको पौडेल पक्षको विश्लेषण छ । तर पौडेल पक्षले साझा उम्मेदवार उठाउन सकेन भने देउवालाई नै फाइदा पुग्ने कांग्रेस नेताहरू बताउँछन् ।

यति हुँदाहुँदै पनि कांग्रेसको जिल्ला तहको अधिवेशन सकिएर महाधिवेशन प्रतिनिधिको टुंगो नलागेसम्म कसको पक्षमा कोको आए भनेर भोटको हिसाबकिताब गरिहाल्न सकिने अवस्था भने नभएको कांग्रेस नेताहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?