नयाँ नोटको जतन गर्न राष्ट्र बैंकको आग्रह : कसरी गर्ने जतन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोटको संरक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

दशैँ नजिकिँदै गर्दा नयाँ नोट फोहोर हुनसक्ने सम्भावना भएपछि राष्ट्र बैंकले नयाँ नोटको संरक्षण गर्न आग्रह गरेको हो । सर्वसाधारणले दैनिक रूपमा गरिने किनमेलमा होस् या चाडबाडमा होस् नोटहरूको जथाभावी प्रयोग गर्दै आएका छन्  । तर ती नोट छाप्न आर्थिक रूपमा ठूलो खर्च लाग्ने गरेको छ । नयाँ नोट छाप्न राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्दै आएको छ । त्यसैले नोटको जतन गर्न राष्ट्र बैंकले आग्रह गर्दै आएको हो ।

राष्ट्र बैंकले निष्काशन गरेको नोट, मोहर, रुपैयाँ, रेचकी वा पैसा नेपाली मुद्रा हुने भनी नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन– २०१४ को दफा २ मा उल्लेख गरेको छ । सबैले ती मुद्राको प्रयोग जतपूर्वक गर्नुपर्ने उल्लेख गरिएको छ । कागजी नोट चाँडै बिग्रने भएकाले सावधानीपूर्वक चलाउनुपर्नेमा राष्ट्र बैंकको जोड छ ।कागजी नोटलाई जतनपूर्वक चलाउन सकेनौँ भने नोटको आयु चाँडै सकिन्छ । त्यसैले नोटको जतन गर्नु सबैको दायित्व हो ।

यसरी गरौँ नयाँ नोटको संरक्षण

नयाँ नोट नेपालीको सभ्यताको प्रतिक हो । त्यसैले नयाँ नोटको जतन गर्नु हामी सबैको दायित्व हो । हामीले दैनिक रूपमा किनमेल गर्दा जनपूर्वक पैसाको कारोबार गर्ने, पैसालाई नदोबार्ने, नखुम्च्याउने तथा स्टिच नलगाउने गर्नुपर्छ । त्यसो गर्नाले नोट चाँडै पुराना तथा झुत्रा हुनुका साथै आयु पनि घट्छ ।

त्यसका साथै चाडबाडमा पैसामा टिका तथा रङ नलगाउने, पानीमा नभिजाउने तथा जतनपूर्वक प्रयोग गर्ने गर्नुपर्छ । हामी सबैले नयाँ नोटको संरक्षण गर्न सके नोटको जतन हुनुका साथै राष्ट्रलाई पर्ने ठूलो आर्थिक भारबाट पनि बचाउन सकिन्छ ।

 

नोट जतन गर्ने सवालमा सर्वोच्च अदालतले समेत अन्तरिम आदेश जारी गरिसकेको छ । सर्वाेच्च अदालतले राष्ट्र बैंक, अर्थ मन्त्रालय र सरकारको नाममा बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न, जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसपछि नयाँ नोटमा केरमेट गर्ने, फोहोर गर्ने, मैलो बनाउने गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ ।

त्यसका साथै यदि कसैले नयाँ नोटमा केरमेट गर्ने, फोहोर गर्ने, झिजाउने तथा मैला बनाउने गरेकमा राष्ट्र बैंकले कानुनबमोजिम कारबाही गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?