भारतमा थप ३१ हजार जनामा कोरोना संक्रमण

RSS
130
Shares

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ संक्रमितमध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् ।भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ । यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो ।

पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ । नयाँ संक्रमित भएकाहरू भन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै देखिएकाले सक्रिय संक्रमितहरुको सङ्ख्यामा कमी आएको हो ।

पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट संक्रमितमुक्त भएको अधिकारीहरूले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोनाभाइरसबाट संक्रमितमुक्त भएका छन् ।

कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३१८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?