बैंकिङ प्रणालीमा भयावह बन्दै तरलता संकट : कसरी जुटाउलान् बैंकले लगानी ?

काठमाडौं
पछिल्लो समय बैंकिङ प्रणालीमा तीव्र रूपमा तरलता (लगानी योग्य पुँजी)को संकट चुलिँदै गएको छ ।

अयातका लागि अत्यधिक मात्रामा ऋण विस्तार हुँदा तरलता संकट चुलिँदै गएको हो । तरलता संकट चुलिँदै गएपछि बैंकलाई लगानी गर्न समस्या हुने देखिएको छ । अघिल्लोे वर्षको फागुनदेखि सुरु भएको कोरोना महामारीका कारण बैंकहरूले लगानी गर्न नपाएर प्रणालीमा २ खर्बभन्दा बढी तरलता थुप्रिएको थियो । त्यसबेला लागू गर्न नपाएका बैंकहरूले अन्धाधुन्ध लगानी गर्दा प्रणालीमा चरम तरलता संकट चुलिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार अहिले प्रणालीमा २१ अर्ब ३७ करोड रुपैयाँ मात्रै तरलता छ ।

२८ अर्बभन्दा बढी एसएलएफ प्रयोग

प्रणालीमा तरलता संकट चुलिएपछि बैंकसँग बैंक तथा वित्तीय संस्थाले २८ अर्ब ३४ करोड रुपैयाँबराबरको स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गरेका छन् । यो एसएलएफ हालसम्मकै उच्च हो । गत बुधबार मात्रै बैंकहरूले १२ पटकसम्म एसएलएफ उठाएका थिए । चालू आर्थिक वर्षमा मात्रै बैंकहरूले ४ खर्ब १० अर्ब ५६ करोड रुपैयाँ एसएलएफ उठाइसकेका छन् ।

प्रणालीमा तरलता संकट बढेसँगै राष्ट्र बैंकले बिहीबार मात्रै ३० अर्ब रुपैयाँबराबरको तरलता रिपोमार्फत बजारमा पठाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ५ प्रतिशत ब्याजदरमा तरलता उपलब्ध गराएको हो । राष्ट्र बैंकले एक साताका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई सो तरलता उपलब्ध गराएको हो । त्यसले केही समयका लागि बजारमा तरलताको संटक समाधान गर्नेछ ।

यसअघि पनि राष्ट्र बैंकले रिपोमार्फत पटक–पटक गरी ७० अर्ब तरलता बजारमा पठाइसकेको छ । प्रणालीमा संकट निम्तिने अवस्था आयो भने राष्ट्र बैंकले मौद्रिक औजारहरू प्रयोग गरेर बजार सन्तुलनमा ल्याउने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

‘बजारमा संकट आउने अवस्था भयो भने राष्ट्र बैंकले त्यसलाई ह्यान्डिलिङ गर्छ’, उनले भने । तरलता अभावका कारण बजारमा प्रणालीमा समस्या आइरहेकाले राष्ट्र बैंकले मौद्रिक औजारको प्रयोग गरेर बजारमा तरलता पठाउने काम गरिरहेको सहप्रवक्ता पोखरेलको भनाइ छ ।

प्रणालीमा तरलताको हाहाकार भएपछि बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप खोसाखोस गर्न थाले । बैंकहरूले असोज १ गतेदेखि लागू हुनेगरी धमाधम ब्याजदर बढाए निक्षेप तानातान गर्न थालेका थिए । बैंकहरूले ब्याजदर बढाए पनि निक्षेप संकलनमा भने खासै सुधार हुन सकेको थिएन ।

उता, बैंकहरूको यस्तो कामका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीईओहरूलाई डाकेर बजारमा अस्वस्थ प्रतिस्पर्धा हुने गरे ब्याजदर नबढाउन निर्देशन दिएपछि बैंकहरूले ब्याजदर घटाउँदै पुनः नयाँ ब्याजदर सार्वजनिक गर्न थाले ।

के लगानी प्रभावित हुने नै हो त ?

बैंकहरूले अन्धाधुन्ध लगानी गर्दा प्रणालीमा तरलतको संकट आएसँगै त्यसले लगानीमा नै असर गरिरहेको छ । अहिले बैंकहरू नयाँ लगानी विस्तार गर्ने अवस्थामा छैनन् । अहिले यस्तो अवस्था ल्याउनुमा जिम्मेवार बैंकहरू नै भएको सहप्रवक्ता पोखरेल बताउँछन् ।

बैंकहरूले लगानीमा जुन तीव्रता ल्याए, त्यसो निरीक्षण पनि राष्ट्र बैंकले गरिरहेको छ । त्यसका साथै बर्जाको लगानी बढ्दै गर्दा बैंकहरूले उत्पादनशील क्षेत्रका कति लगानी गरे, सो क्षेत्रमा लगानी बढेको हो कि होइन भन्ने राष्ट्र बैंकले अध्ययन गर्ने उनको भनाइ छ । यदि बैंकहरूले उत्पादनशील क्षेत्रका लगानी बढाएर अहिलेको अवस्था आएको रहेछ भने पनि बजार सन्तुलनमा राख्न राष्ट्र बैंक हरबखत तयार रहेको पोखरेलको दाबी थियो ।

प्रणालीमा तरलताको संकटले लगानीमा असर गरे पनि दीर्घकालीन अवस्थासम्म नरहने नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले बताए ।

‘तत्कालका लागि त समस्या भएकै छ, तर केही समयपछि हट्छ’, उनले भने । सरकारको बजेट खर्च भइरहेको र दशैँ लागेसँगै रेमिट्यान्स पनि भित्रिने भएकाले लामो समयसम्म तरलताको संकट नरहने उपाध्यक्ष उपाध्यायको भनाइ छ ।

केही समयमा नै बैंकले लगानी गर्न नपाएर उथलपुथल नै हुने अवस्था नहुने उनले बताए ।

बैंकिङ विज्ञ अनलराज भट्टराईले पनि अहिले तरलता संकटको अवस्था लामो समय नहरने बताए । अहिले पनि बजारमा हल्ला भएजस्तो भयावहको अवस्था नभएको उनको भनाइ थियो ।


‘यो क्षणिक समस्या हो, केही समयमा हट्छ’, भट्टराईले भने । तरलता संकटका कारण बैंकहरू लगानी गर्नै नसक्ने अवस्था नभएको उनको तर्क थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?