सेबोन र लगानीकर्ताबीचको सहमतिले आउला त बजारमा स्थिरता ? यसो भन्छन् सरोकारवालाहरु

काठमाडौं । सेयर बजारमा अस्थिरिता बढ्दै गएपछि विभिन्न मागसहित आन्दोलित बनेका लगानीकर्ताहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग गरेको छलफलमा सहमति जुटेको छ ।

सेयर बजारमा निरन्तर गिरावट आएसँगै आन्दोलित बनेका पुँजी बजार सुधार संघर्ष समितिका लगानीकर्ता र सेबोनबीच हिजो (बुधबार) भएको छलफलमा सहमति जुटेको हो ।

लगानीकर्ताहरुको माग सम्बोधनमा बोर्ड सकारात्मक देखिएको छ । लगानीकर्ताको ५ कार्यदिनमा बोर्डको संचालक बैठकमा जानकारी गराई नियमानुसार आवश्यक कार्य अगाडि बढाउने गरि बोर्डले लगानीकर्तासँग छलफल गरेको हो ।

सहमति पत्रमा बोर्डका तर्फबाट प्रवक्ता निरज गिरी र पुँजी बजार सुधार संघर्ष समितिका तर्फबाट रोहन कार्की, दिपेन्द्र अग्रवाल, जयन्द्र झा लगायतका लगानीकर्ताहरुले हस्ताक्षर गरेका छन् ।

बोर्डले उक्त मागहरु सम्बोधन गर्ने कुरामा सकारात्मक देखिएको र अर्थमन्त्रालय र राष्ट्र बैंकलाई पनि माग सम्बोधन गरिदिन सेबोनले पत्र काटिदिने गरी सहमति पत्रमा हस्ताक्षर भएको समितिका संयोजक रोहन कार्कीले बताए ।

‘हामीले अहिलेलाई आन्दोलन स्थगित गरेका छौँ । हाम्रो माग ५ कार्यदिनभित्र बोर्ड बैठकमा लाने र कार्यान्यन गर्ने गरि सहमति भएको छ । यो समयभित्र हाम्रो माग सम्बोधन भएन भने हामी पुन: आन्दोलनमा उत्रनेछौँ’ कार्कीले भने ।

लगानीकर्ताको माग के-के छन् ?

१. विगतका आन्दोलनको मर्मलाई बुझेर तत्कालिन अर्थमन्त्रीद्वारा पारित ५८ बुँदे सहमतिलाई अक्षरस पालना गर्नु।
२. मार्जिन/सेयर प्रकृतिको कर्जामा लगाइएको ४ करोड र १२ करोडको सीमा तुरुन्त खारेज गर्नुपर्ने ।
३. लघुवित्त कम्पनीहरुको २०% भन्दा माथिको बोनस सेयर वितरण गर्दा ५०% रिजर्व राख्नुपर्ने व्यावास्थालई तत्काल खारेज गर्नुपर्ने।
४. १% बाट १.३% हुनेगरी बढाईएको असल कर्जा सम्बन्धि व्यवस्थालाई तत्काल खारेज गरि १% कायम गर्नुपर्ने ।
५. बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोलिएको विद्यमान समयावधिलाई संसोधन गरि पुरानै व्यवस्था अनुसार १२ओ दिनको औषत मूल्य कायम गर्नुपर्ने ।

६. अरु सबै क्षेत्रमा अप्रवाह हुने कर्जा जस्तै सेयर कर्जालाई पनि कुल उधारो कोष (Total Lending Fund) मा समावेश गर्नुपर्ने ।
७. कोरोना भाइरसको महामारीले गर्दा पछाडी परेका समग्र अर्थतन्त्रलाई उकास्न र राहत पुग्ने गरी मुद्दती निक्षेपमा ब्याजदर न्युनतम कायम गर्नुपर्ने ।
८. बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजार मार्फत सेयर खरिद बिक्री गर्न रोक लगाउने गरि जारी गरिएको निर्देशन तत्काल खारेज गरि बैंक तथा वित्तीय संस्थाहरुले पुँजी बजारमा लगानी गर्न पाउने पुरानै व्यवस्था कायम गर्नुपर्ने ।
९. अत्यधिक र असमान ब्रोकर कमिसनलाई घटाएर ०.१० फ्याल्ट रेट बेसिस कायम गर्नुपर्ने ।
१०. बजारमा हुने चलखेल, बुक बिल्डिङ तत्काल खारेज गर्नुपर्ने ।
११. १० कित्ता आईपीओको आवेदन दिन पाउने व्यवस्था कायमै गर्नुपर्ने ।

१२. ब्रोकरको संख्या थप गर्नुका साथै बैंक तथा अन्य सूचीकृत कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने निर्णय तत्काल कार्यन्वयन गर्नुपर्ने ।
१३. ब्रोकर कम्पनीहरुबाट हुने अनुचित कार्यहरु को छानबिन गरि त्यस्ता ब्रोकरहरुको लाइसेन्स तत्काल खारेज गर्नुपर्ने ।

१४. FH, FDI र FPI लाई मन्त्रिपरिषद्बाट पास गराएर तत्काल संचालन गर्नुपर्ने ।
१५. TMS मा ट्रेडिङ टाइम मा भइरहेको प्राविधिक समस्यालाई व्यवस्थित तरिकाले तत्काल समाधन गर्नुपर्ने ।

१६. Capital Gain Tax लाई ७.५% बाट पुन: घटाएर पुरानै ५% व्यवस्था लागु गरि long term capital gain tax. C-ASWA Charge र सेबोन Tax लगायतका आम नेपाली सेयर लगानीकर्तालाई माथि लगाइएका करहरु तत्काल खारेज गर्नुपर्ने ।
१७. नियमनकारी निकायहरुले जारे गर्ने नीति कम्तिमा ३ वर्षका लागि स्थायी हुनुपर्ने ।

बजारमा किन आयो अस्थिरता ?

भदौयता सेयर बजारमा व्यापक अस्थिरता देखिएको छ । नेपाल राष्ट्र बैंकले गत साउन २९ गते मौद्रिक नीति जारी गर्दै सेयर धितो कर्जामा ४-१२ करोडको सीमा तोकेको थियो ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति- २०७८ जारी गदै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था कायम गरेका थिए । त्यसयता बजारले गति लिन सकेको थिएन। बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु आन्दोलित बनेका थिए ।

सेयर बजार भयवित बनेको भन्दै लगानीकर्ताहरु सेयर बजार सुधारका १८ मागसहित अर्थमन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन् ।
तर माग सम्बोधनमा सम्बन्धित निकायले कुनै चाँसो नदेखाएपछि लगानीकर्ताहरु आन्दोलित बनेका थिए । लगानीकर्ताहरु आमरण अनसनमा समेत बसेका थिए । सेयर बजारमा अस्थिरता देखिएसँगै लगानीकर्ताहरु विभिन्न १८ बुँदे मागसहित आन्दोलनमा उत्रिएका थिए ।

के भन्छन् सरोकार वाला ?

सहमति मात्र गर्ने तर कार्यान्वयन नगर्ने हो भने सहमति अर्थहीन हुने नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

‘पहिला जस्तै सम्झौता हुने त्यसपछि कार्यन्वयन नगर्ने सम्झौतापत्रलाई थन्काएर राख्ने हो भने हामीले पहिले गरेको आन्दोलन जस्तै हो । सम्बन्धित निकायले लगानीकर्तालाई साच्चै समस्या परेको रहेछ भनेर सम्बोधन गर्दिने हो भने ठिकै होला तर अहिले आन्दोलन गरुन्जेल हुन्छ हामी गर्दिन्छौं भन्ने फेरि पछि चुप लागेर बस्ने चाहिँ यसै भन्न सकिन्न’, उनले भनिन् । लगानीकर्ताको समस्यालाई सम्बन्धित निकाय बुझिदिने हो भने सेयर बजारमा उतारचढाव नआउने उनले बताइन् ।

घटबढ हुने बजारको नियम नै भए पनि अस्वाभाविक रुपमा उतारचढाव आउनु चाहिँ समस्या नै भएको भन्दै नियामक निकायले ३/३ महिनामा परिवर्तन गर्ने नीति नियमलाई स्थिर बनाउनुपर्ने उनले बताइन् ।

‘सेयर बजारलाई नियामक निकायको नीति नियमले ठूलो प्रभाव पार्छ । त्यसैले सेयर बजारमा स्थिरता ल्याउन नियामक निकायको नीति नियम स्पष्ट र स्थिर हुनुपर्छ । ३/३ महिनामा परिवर्तन गर्दा लगानीकर्ताले लाखौं घाटा व्यहोर्नुपर्ने हुन्छ’, उनले भनिन् ।

लगानीकर्ताहरुले गरेको माग जायजै भएको र लगानीकर्ताको हितकै लागि भएको लगानीकर्ता कमल पन्थी बताउँछन् । ‘उहाँहरुको माग जायजै छ । हिजो बोर्डसँग सहमति पनि भयो । बोर्डसँग सम्बन्धित माग बोर्डले केहि नीतिनियममा परिवर्तन गर्ने कुरा आयो । त्यसैगरी, अर्थमन्त्रालय, नेप्से र राष्ट्र बैंकसँग सम्बन्धित कुराहरु सम्बोधन गर्ने र ती निकायलाई ब्रिफिङ पनि गर्छौं भनेर सहमति भएको छ । यो कुरा कार्यान्यन हुने हो भने बजार सकारात्मक बाटोमा लाग्छ’, उनले भने ।

राष्ट्र बैंकले ब्याजदरमा गरेको कडाई र बैंकहरुले ब्याजदर घटाएको सूचनाले लगानीकर्ताहरुको मनोबल बढेको उनले बताए ।

‘लगानीकर्ताको मनोबल बढेको छ । बैंकहरुले पनि अपेक्षित लाभांश घोषणा गरेका छन् त्यसैले आज बैंकिङ सेक्टरमा राम्रो भोल्युम देखिएको छ । सरकारको बजेट पनि पास भएको छ । खर्च गर्ने बाटो खुलेको छ । लगानीकर्ताहरुले आत्तिनु पर्दैन लाभांश दिने कम्पनीलाई छनोट गर्नुपर्छ । घटबढ हुने त बजार नियम नै हो । तर पहिलाजस्तो नकारात्मक सर्किट नै त नलाग्ला । दशैँ पछि बजारले गति लिन्छ’, उनले भने ।

बजार बढ्ने र घट्ने भन्ने कुरामा लगानीकर्ताको मनोबलले पनि ठूलो प्रभाव पार्छ । लगानीकर्ताको मनोबल उच्च हुने हो भने सेयर बजारले गति लिने जानकारहरु बताउँछन् । अब बिस्तारै कम्पनीहरुले पनि प्रतिफल घोषणा गर्दैछन् । यसले पनि बजारलाई गति लिन सजिलो हुने विश्लेषकहरुको अनुमान छ ।

आज बजारमा झिनो अंकको सुधार

अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा झिनो अंकले बढेको छ । आज बैंकिङ समूहको सेयरमूल्य बढेको छ । बुधबार २ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका थिए । उक्त बैंकहरुको लाभांश अपेक्षित भएको कारण पनि आज लगानीकर्ताहरु बैंकिङ समूहमा सिफ्ट भएको देखिन्छ ।

आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ बिन्दुमा पुगेको छ । आज नेप्से ०.१० प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले बढेर ५३०.०२ बिन्दुमा पुगेको छ ।

आज कुल २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर खरिदबिक्री गर्दा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ । बुधबार ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँको कारोबार भएको भएको थियो ।

आज कुल १३ उपसमूहमध्ये २ वटा मात्र उपसमूहको सेयर मूल्य बढेको छ, भने ११ समूहको सेयरमूल्य घटेको छ । आज बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?