‘बहिरा व्यक्तिहरूलाई मूलधारमा आउन धेरै समस्या’ (भिडियोसहित)

लोकपथ
117
Shares

आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस । सन् १९५८ सेप्टेम्बर २३ तारिखमा इटालीको रोममा बहिरा व्यक्तिहरू पहिलो पटक भेला भएको सम्झना स्वरूप यो दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र संघको महासभाले ४ वर्षअगाडि साङ्केतिक भाषालाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मान्यता दिएपछि यो दिवसलाई नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइने गरेको छ ।

राष्ट्रिय बहिरा महासंघ नेपालले यो दिवसलाई भाषिक आन्दोलनको रूपमा विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको थियो । विगतका वर्षहरूमा सप्ताहव्यापी रूपमा मनाइने गरेकोमा यस पटक कोरोनाका कारण सीमित कार्यक्रम गरेर मात्र मनाइएको छ ।

नेपालको अहिलेको अवस्थामा बहिरा व्यक्तिहरू अन्य समुदायको तुलनामा शिक्षित भएका समेत निकै पछि परेको राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारी बताउँछन् । बहिरा व्यक्तिहरूको क्षेत्रमा काम गर्ने संघसंस्थाको सङ्ख्या धेरै कम भएको कारणले गर्दा पनि बहिरा व्यक्तिहरू पछि परेको बताउँछन् । योबाहेक नेपालका बहिरा व्यक्तिहरुका लागि केबल ५ हजार शब्दहरू मात्र विकास भएको छ भने देशैभर २५ देखि ३० जना मात्र दोभासे रहेका छन् ।

यही कारणले पनि नेपालमा बहिरा व्यक्तिहरू तुलनात्मक रूपमा पछि परेको उनी बताउँछन् । अधिकारीका अनुसार अहिले देशभरका ६ वटा स्थानमा बहिरा विद्यार्थीहरूलाई पढ्ने प्लस टु हाइस्कुलहरु सञ्चालनमा रहेका कारण शिक्षित बहिराहरूको सङ्ख्यामा वृद्धि भए पनि रोजगारका क्षेत्रहरू भने कमै खुलेका छन् ।

नेपालको सामाजिक परिवेशअनुसार पनि बहिरा विद्यार्थीहरूलाई शिक्षाको सहज पहुँच छैन भने सरकारी तवरबाट पनि खासै सुविधाहरू रहेको छैन । अधिकारी भन्छन्, ‘सरकारले साङ्केतिक भाषालाई पनि राष्ट्रिय भाषाको रूपमा मान्यता दिने हो भने नेपालका बहिरा व्यक्तिहरूले धेरै स्थानमा अवसरहरू पाउने थिए ।’

सन् २०११ को तथ्यांकले नेपालमा ७९ हजारभन्दा बढी व्यक्तिहरू बहिरा रहेको अनुमान गरिन्छ । विश्वको परिदृश्यलाई हेर्ने हो भने बहिरा व्यक्तिहरूको सङ्ख्या ७ करोडभन्दा बढी रहेको संयुक्त राष्ट्र संघ विकास कोषले जनाएको छ ।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीसँग दोभासे दिनेश श्रेष्ठको सहयोगमा लोकपथले गरेको कुराकानीको भिडियो अंश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?