एमाले–माकेबीच बैशाख ९ मा एकता नहुने, विवादित विषयमा सहमति खोज्न दुई अध्यक्षलाई जिम्मा

काठमाडौं, ४ बैशाख । एकता संयोजन समितिको बैठकले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकताका लागि मिल्न बाँकी विषयमा सहमति खोज्ने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले दुई अध्यक्षलाई विवाद मिलाउने जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।पार्टी एकताका लागि सबै विषयमा सहमति नजुटेका कारण बैशाख ९ गते हुने भनिएको एकता पनि पछि धकेलिएको छ । विवादित विषयमा अझै सहमति हुन नसकेकोले पार्टी एकता ९ गते नहुने भएको हो ।प्रतिवेदनका विवादित विषयमा फाइनल टच हुन बाँकी रहेकोले पार्टी एकता रोकिएको माओवादी केन्द्रका नेता श्रेष्ठले बताए ।उनले प्रतिवेदनका विवादित विषयमा अन्तिम छलफल नै नभएको भन्दै त्यसमा सहमति गर्न दुई पार्टीका अध्यक्षलाई जिम्मा दिएको समेत बताए । श्रेष्ठले एकता वैशाख ९ मा हुने भनेर घोषणा नभएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?