को हुन् नवनियुक्त परराष्ट्रमन्त्री खड्का ?

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारमा परराष्ट्रमन्त्री बन्ने सौभाग्य डा. नारायण खड्काले पाएका छन् ।

गत असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ७२ दिनपछि खड्कालाई परराष्ट्रमन्त्री बनाएका हुन् । खड्काको सरकारमा प्रवेशसँगै मन्त्रिपरिषद् सदस्यको संख्या प्रधानमन्त्री देउवासहित ७ पुगेको छ ।

देउवाले आफू प्रधानमन्त्री बनेकै दिन बालकृष्ण खाँडलाई गृह, जनार्दन शर्मालाई अर्थ, ज्ञानेन्द्र कार्कीलाई कानुन र पम्फा भुसाललाई ऊर्जामन्त्री बनाएका थिए ।

कोरोना महामारीका बेला स्वास्थ्य मन्त्री नभएको भन्दै आलोचना भएपछि देउवाले साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमनत्री बनाएका थिए । देउवाले किस्ता–किस्तामा मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा खड्कालाई मन्त्री बनाएका हुन् । खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ पनि आज लिइसकेका छन् ।

सरकारमा सहभागी पाँच राजनीतिक दलका शीर्ष नेताको बैठकले मंगलबार खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो । संयुक्त राष्ट्रसंघको महासभामा आजै भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वको टोली अमेरिका जानुपर्ने भएपछि खड्काले मन्त्री बन्ने सौभाग्य पाएका हुन् ।

खड्का को हुन् त ?

खड्का नेपाली कांग्रेसका नेता हुन् । २००५ मा भोजपुरको दिङ्लामा जन्मिएका खड्काले २०२३ मा विद्यार्थी जीवनसँगै राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी विद्यार्थी राजनीतिमा लाग्दा पटक–पटक जेल परेका छन् । अर्थशास्त्रमा भारतको पुनेबाट पीएचडी गरेका खड्का परराष्ट्र मामिलामा जानकार नेताका रूपमा चिनिन्छन् ।

उनी कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनको राजनीतिक सल्लाहकार भएका थिए । त्यसैगरी खड्कासँग राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रूपमा काम गरेको अनुभव पनि छ । २०७२ को भूकम्प जाँदा उनी सहरी विकास मन्त्री थिए ।

अहिले भने भोजपुरबाट बसाइ सरेर उनी उदयपुरमा बसोबास गर्छन् । २०७४ को आम निर्वाचनमा खड्का उदयपुर क्षेत्र नमबर १ बाट प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएका थिए । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पनि खड्का त्यहीँबाट निर्वाचित भएका थिए ।

विगतमा कृष्णप्रसाद भट्टराईको साथमा रहेका खड्का अहिले भने देउवासँग छन् । विगतमा देउवाले कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस बनाउँदा खड्का देउवाको साथमा थिए । पछि कांग्रेस एक भएपछि खड्का देउवासँग टाढिएर कोइराला परिवारसँग नजिकिए । तर पछि फेरि खड्काले १३औँ महाधिवेशनमा देउवालाई नै साथ दिए ।

खड्काको अंग्रेजीमा समेत राम्रो दखल भएकाले उनी कूटनीतिक व्यक्तिहरूसँग सहज रूपमा सम्बन्ध विस्तार गर्ने नेताका रूपमा पनि चिनिन्छन् । कांग्रेसको राजनीतिमा खड्काको उपस्थिति राम्रै छ । उनी कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य हुन् ।

खड्कालाई अध्ययनशील नेताका रूपमा पनि लिइन्छ । उनलाई परराष्ट्रमन्त्री बनाउँदा नेपालको छिमेकी मुलुकहरूसँगको सम्बन्ध अझ मजबुत हुने अपेक्षाका साथ प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा खड्कालाई चयन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?