चीन प्रस्थान गर्नुअघि पत्रकार सम्मेलन गरेर के-के भने परराष्ट्रमन्त्रीले ?

काठमाडौँ, ३ वैशाख – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन् । विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेजिङ त्यहाँका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भ्रमणका क्रममा विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताए ।मन्त्री ज्ञवालीका अनुसार पारवाहन, अन्तरदेशीय प्रसारण लाइन, सडक एवं अन्य प्राथकिताका क्षेत्रमा छलफल हुनेछ । उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।सो अघि मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताए ।नेपालको कूटनीतिक संयन्त्रलाई परिचालन गरेर सम्बन्ध विस्तार गरिने लक्ष्य रहेको बताउँदै समावेशी, प्रगतिशील, लोकतान्त्रिक मुलुकका रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएर आर्थिक सामाजिक विकास गरिने उनको भनाई थियो ।सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै उनले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र समृद्धिमा समर्थन र सहयोग जुटाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?