कांग्रेस महाधिवेशन : पौडेल पक्षले भेटेन साझा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन अब ६५ दिन बाँकी छ ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वको बिदाको हिसाब गर्दा ५० दिनको समय कांग्रेससँग छ ।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा आन्तरिक सरगर्मी बढेको छ । अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यताको विवादका कारण ती जिल्लामा वडा अधिवेशन हुन नसकेको हो ।

वडा अधिवेशनलाई कांग्रेस महाधिवेशनको प्रारम्भिक चरणका रूपमा लिइन्छ । १३औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको म्याद गत भदौ २३ बाट सकिने भएपछि कांग्रेसले वैधानिकताबाट जोगिन भदौ १८ बाट वडा अधिवेशन सुरु गरेर महाधिवेशनको घान हालेको हो । भदौ १८ बाटै घान हाले पनि १३ जिल्लामा भने वडा अधिवेशन अहिलेसम्म हुन सकेको छैन ।

१४औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा कांग्रेसको सभापति को बन्ला भन्ने चासो सुरु भइसकेको छ । पार्टी उपसभापति विमलेन्द्र निधि र कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले बाहेक अरुले सभापतिमा औपचारिक रूपमा उठ्ने भन्ने घोषणा गरिसकेका छैनन् । संस्थापन र संस्थापनइतरका नेताहरूले सभापतिमा प्रत्यासी बन्ने त बताएका छन् । तर औपचारिक रूपमा भने उम्मेदवारी घोषणा गरेका छैनन् ।

संस्थापन पक्षबाट अहिलेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः सभापतिमा होदोरिने बताइसकेका छन् । तर उनले औपचारिक घोषणा भने गरेका छैनन् । संस्थापनबाटै पाका नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा उठ्ने बताएका छन् तर उनी अभियान नै सुरु गरेर भने लागेका छैनन् ।

कुनै समय देउवाको विश्वासपात्र रहेका उपसभापति निधिले देउवालाई छोडेको संकेत दिएर सभापतिमा उम्मेदवारी दिएका छन् । श्रेष्ठको उम्मेदवारीभन्दा निधिको उम्मेदवारीलाई कांग्रेसमा गम्भीरतापूर्वक लिइएको छ । यद्यपि श्रेष्ठले पनि आफू सभापतिमै उठ्ने लोकपथलाई बताए ।

संस्थापनइतरमा सकस
महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थापन अर्थात् देउवा र संस्थापनइतर पक्षमा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा हुनेछ । तर पौडेल पक्षले अहिलेसम्म पनि सभापतिका लागि साझा उम्मेदवार चयन गर्न सकेको छैन । पौडेल पक्षमै रहेका गुरुङ भने सभापतिको उम्मेदवारी घोषणा गरेर गाउँ झरेका छन् ।

संस्थापनइतरमा पौडेलसहित महामन्त्री डा. शशांका कोइराला, डा. शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरू सभापतिका अकांक्षी रहेका छन् । उनीहरूमध्येबाट को हो साझा उम्मेदवार भन्ने टुंगो लागेको छैन ।

सभापतिको उम्मेदवार बनेका गुरुङ संस्थापनइतरबाट साझा उम्मेदवार बन्ने सम्भावना कम रहेको बताउँछन् । गुरुङले लोकपथसँग भने, ‘अहिलेसम्म टुंगो नलगाउनेले कहिलेसम्म लगाउँछन त ?’

पौडेल, शशांक, शेखर, सिंह सबैजना एकले अर्काेलाई सभापतिमा छोड्ने मुडमा छैनन् । त्यसैगरी पूर्वमहामन्त्री कृष्ण सिटौला पनि सभापतिको दाबेदार छन् । तर उनले छुट्टै गुट बनाउने बताइएको छ । पौडेल पक्षले आफ्नो तर्फको उम्मेदवार स्पष्ट नपार्दा कार्यकर्ता समेत अन्योलमा छन् । पौडेल पक्षकै नेता एवं केन्द्रीय सदस्य धनराज गुरुङ भने ढिला भए पनि आफूहरूको तर्फबाट साझा उम्मेदवार खडा हुने दाबी गर्छन् । देशभरका कार्यकर्तालाई को नेता कस्तो हो भन्ने थाहा छँदै छ । त्यस कारण साझा उम्मेदवार छनौटमा केही ढिला भए पनि त्यसले फरक नपार्ने धनराज बताउँछन् ।

तर यस पटक विगतको भन्दा महाधिवेशनमा छुट्टै दृश्य देखिने कांग्रेस नेताहरू बताउँछन् । किनकि विगतका गुटहरू भत्किएका छन् । एउटा गुटमा रहेका नेताहरू अर्काे गुटमा समेत लागेका छन् । जसले गर्दा विगतका मत विभाजित हुने कांग्रेस नेताहरू बताउँछन् ।

कांग्रेसको अवको नेतृत्व नेपाल र नेपाली जनतालाई समृद्धिको मार्गमा डोहो¥याउन सक्ने खालको हुनुपर्ने कांग्रेस नेता बाबुराम आचार्यले लोकपथलाई बताए ।

आचार्यले भने गुटउपगुटविहीन कांग्रेस बनाएर अघि बढ्नुपर्छ, त्यसले नेपाली जनता र राष्ट्रको हित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?