अल्जाइमर रोग किन हुन्छ र यसबाट कसरी बच्ने ?

लोकपथ
442
Shares

आज विश्व अल्जाइमर दिवस । प्रत्येक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाइदैं आइएको छ । यो वर्ष पनि ‘डिमेन्सिया बारे थाहा पाऔँ, अल्जाइमर बारे थाहा पाऔँ’ भन्ने नाराका साथ सेप्टेम्बर महिना भर मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार अहिले विश्वमा ५ करोड ५० लाख व्यक्तिहरू डिमेन्सियाबाट पीडित रहेका छन् भने प्रत्येक वर्ष १ करोड नयाँ बिमारीहरू थपिँदै गएका छन् । त्यसैले पनि अल्जाइमर रोगको समस्या विश्वमा तीव्र रूपमा बढिरहेको देखिन्छ ।

अल्जाइमर रोग के हो ?

अल्जाइमर रोग मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको समस्या हो । यो समस्या साधारण रूपमा सुरु हुन्छ र पछि गएर जटिल किसिमको समस्या बनेर देखा पर्ने गर्छ । सामान्य अवस्थामा हुँदा धेरै व्यक्ति वा परिवारका सदस्यहरूले यो समस्या प्रति वास्ता नै गर्दैनन् पछि गएर यही समस्या जटिल बनेर देखा पर्ने गर्छ । यो हुनुको मुख्य कारण भनेको धेरै व्यक्तिलाई अल्जाइमर रोगको विषयमा जानकारी नहुनु नै हो । तर अल्जाइमर रोगको प्रकृति र यसले ल्याउने समस्यालाई हेर्ने हो भने यो रोगको विषयमा घरमा वृद्ध अवस्थाका व्यक्ति भएको परिवार वा कुनै बेला आफू पनि वृद्ध अवस्थामा पुगिन्छ भन्ने कुराको महसुस गर्ने व्यक्तिहरूले अल्जाइमरको विषयमा जानकारी भने राख्नै पर्छ ।

मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुदैं जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ । यसरी मस्तिष्कका कोशहरू नष्ट हुदैं गएपछि उक्त व्यक्तिले केही बेर अगाडी गरेकै कुराहरू बिर्सन थाल्छ । यो बिर्सने क्रम बढ्दै गएपछि उक्त व्यक्तिलाई अल्जाइमर हुन्छ । सामान्य प्रक्रियाको रूपमा देखिएको बिर्सने समस्या बढ्दै गएर अल्जाइमर हुन्छ र यो विषयमा रोग लागेकै व्यक्तिलाई समेत थाहा हुँदैन । यो समस्या सबैलाई थाहा हुदैंन भन्ने पनि होइन । यो समस्या हुने क्रममा केही लक्षणहरू पनि देखा पर्ने गर्छ । डिमेन्सिया भएको अवस्थामा देखिने केही लक्षणहरू थाहा पाउन सकेमा उक्त व्यक्तिलाई अल्जाइमर हुनबाट रोक्न पनि सकिन्छ ।

सम्झनामा कमीः अल्जाइमर रोगको प्रमुख लक्षण नै सम्झन नसक्नु नै हो । यो रोग जटिल हुनु भन्दा अगाडी उक्त व्यक्तिले केही कुरा बिर्सेको जस्तो हुन्छ । यो क्रम बढ्दै गएर पछि उसले धेरै कुराहरू बिर्सन थाल्छ ।

बोल्न र लेख्नमा समस्या हुनुः यदि कुनै व्यक्तिलाई एक्कासि बोल्न र लेख्नमा कुनै किसिमको समस्या आएमा उसले तुरुन्त चिकित्सकको परामर्शमा जानु पर्छ । किनकि यो समस्या पनि अल्जाइमर रोगको लक्षण हुन सक्छ ।

निर्णय गर्न गाह्रो हुनेः यदि कुनै व्यक्तिलाई केही कुराको निर्णय गर्न गाह्रो हुन्छ भने त्यो पनि अल्जाइमरको समस्या भएको हुन सक्छ ।

मनस्थिति परिवर्तन भैरहनेः अल्जाइमर रोगको एक लक्षणमा मनस्थिति बेला बेलामा परिवर्तन भइरहने पनि हो ।

यस्तो किसिमको समस्या देखियो भने सबैभन्दा राम्रो चिकित्सकको परामर्शमा जानु नै हुन्छ ।

अल्जाइमर रोग हुनुको मुख्य कारण

अल्जाइमर रोग जुनसुकै व्यक्तिलाई पनि हुनसक्छ । यसका धेरै किसिमका कारणहरू रहेका हुन सक्छन् । अल्जाइमर यही कारणले नै हुन्छ भन्ने कुरामा केही शोधहरू भएको कारण त्यसैलाई बढी आधार मान्नु पर्ने अवस्था देखिन्छ ।

बुढ्यौलीः अल्जाइमर रोगको समस्या बढी जसो वृद्ध अवस्थामा पुगेका व्यक्तिहरूमा देखिने गरेको छ । त्यसैले ६० वर्ष भन्दा बढी उमेर भएका व्यक्तिहरूले यो रोगको सङ्क्रमण हुन नदिन आफ्नो स्वास्थ्य, खानपिन र जीवनशैलीमा धेरै नै सुधार गर्नुपर्छ ।

बंशाणुगतः अल्जाइमर रोग बंशाणुगत रूपमा पनि देखा पर्ने गर्छ । त्यसैले आफ्नो घरपरिवारमा रहेका ज्येष्ठ व्यक्तिलाई अल्जाइमरको समस्या भएको छ भने उसका सन्तानहरुले आफ्नो मानसिक स्वास्थ्यको विषयमा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

अन्य रोगः अल्जाइमर रोग अन्य रोगका कारणले पनि देखा पर्न सक्छ । जस्तो मधुमेह भएका वा मुटु सम्बन्धी समस्या भएका व्यक्तिहरूमा पनि देखा पर्न सक्छ । यस्ता किसिमका समस्या भएका व्यक्तिहरूले उपचार राम्ररी हुन नपाएको अवस्थामा अल्जाइमर रोग हुने गरेको पाइएको छ ।

तनावः अल्जाइमरको समस्या मानसिक स्वास्थसंग सम्बन्धित भएको कारण बढी तनावमा रहने व्यक्तिमा पनि यो समस्या देखिन सक्छ ।

अल्जाइमर हुन नदिन के गर्ने ?

यदि कसैलाई अल्जाइमर भएको छ वा हुने सम्भावना देखिएको छ भने सबैभन्दा राम्रो उपाय भनेकै उपचारमा जानु नै हो । यदि अल्जाइमर हुने सम्भावना भएका व्यक्तिले निम्न उपायहरू नियमित रूपमा गर्नै पर्ने हुन्छ ।

कसरत गर्नेः अल्जाइमर हुन नदिन नियमित रूपमा कुनै पनि किसिमको कसरत भने गर्नै पर्छ । कसरत शारीरिक र मानसिक दुवै भएमा अझ राम्रो हो । अझ शारीरिक अभ्यास गर्दा मानसिक अभ्यास पनि गर्न सकेमा मस्तिष्क सम्बन्धी समस्याहरू कम हुन सक्छ ।

औषधि सेवनः अल्जाइमर रोगको समस्या भएका व्यक्तिले चिकित्सकको परामर्शमा दिएको औषधिहरू नियमित रूपमा सेवन गर्नुपर्छ । यस्ता किसिमका औषधिहरूको सेवनले अल्जाइमरको समस्या बढ्नबाट रोक्ने गर्छ ।

थेरापी गर्नेः अल्जाइमरका कतिपय समस्याहरू नियमित रूपमा थेरापी पनि गर्नुपर्छ । मस्तिष्कका विभिन्न थेरापीहरूले अल्जाइमर हुने समस्यालाई रोक्न मद्दत गर्छ ।

अल्जाइमर दिवसको अवसरमा यो लेख विभिन्न शोध र अनुसन्धानहरूमा आधार भएर तयार पारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?