नयाँ नोट सटही : विगतका वर्षको तुलनामा सुनसान राष्ट्र बैंक, राहत महसुस गर्दै सर्वसाधारण

धुम्बराही (काठमाडौं) स्थायी घर भएका ६५ वर्षीय ध्रुव अधिकारी नयाँ नोट साट्न लाइनमा बसेका थिए । उनी दशैँमा नयाँ नोट आवश्यक पर्ने भएकाले साट्न नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय पुगेका थिए ।

उनले विगतका वर्षहरूमा घरका अन्य सदस्यहरूलाई नयाँ नोट साट्न पठाउने गर्थे । तर यसपाली भने अधिकारी आफैँ नयाँ नोट साट्न आएका छन् । विगतका वर्षहरूमा राष्ट्र बैंकमा नयाँ नोट सटहीका लागि ठेलमठेल हुनेगरी लाइनमा बस्नुपथ्र्याे । त्यसरी लाइनमा बस्दा पनि सजिलै नयाँ नोट साट्न पाइँदैनथ्यो । त्यस्तो अवस्था बुझेका अधिकारीले यसपाली राहत महसुस गरेका छन् । राष्ट्र बैंकले कोरोना संक्रमणबाट बच्न सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही गर्ने सुविधा दिएको छ । त्यसले गर्दा सर्वसाधारणले राहत महसुस गरेका हुन् ।

त्यसैगरी, काठमाडौँ बसोबास गर्दै आएका गोरखा स्थायी घर भएका देउबहादुर तामाङले पनि विगतका वर्षहरूमा भन्दा यसपाली नयाँ नोट साट्न आउँदा केही राहत महसुस गरे । विगतका वर्षहरूमा हुने भीडभाडले आत्तिएका तामाङ भन्छन्, ‘पहिलेका वर्षमा भन्दा अहिले नयाँ नोट साट्न सजिलो भयो ।’ दशैँमा दुर्गा भवानीको पूजा गर्दा नयाँ चोखो नोट चढाउने र टिका थाप्ने नेपाली पराम्परा छ । त्यसैले नयाँ नोट सटही गर्न आएको तामाङ बताउँछन् ।

कालीमाटीकी ५३ वर्षीया सरस्वती श्रेष्ठ भने पहिलो पटक नयाँ नोट साट्न राष्ट्र बैंक आएकी थिइन् । उनले विगतका वर्षहरूमा आफ्नै वरिपरिका बैंकका शाखाबाट केही मात्रामा नयाँ नोट साट्ने गर्थिन् । तर यसपाली भने उनी नयाँ नोट साट्न राष्ट्र बैंक आएकी हुन् । पूजाका लागि तथा दशैँमा आफन्त, नातागोता र बालबच्चालाई टिका लगाएर नयाँ नोट दिने चलन भएका कारण सटहीका लागि आएको श्रेष्ठले बताइन् ।

सर्वसाधारणलाई राहत

धुम्बाराहीका अधिकारी, गोरखाका तामाङ र कालीमाटीकी श्रेष्ठ मात्रै होइनन्, यसपाली नयाँ नोट सटही गर्ने अधिकांश सर्वसाधारणले उनीहरूले जस्तै राहत महसुस गरेका छन् । राष्ट्र बैंकले कोरोना संक्रमणबाट बच्न सबै बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट साट्न दिने व्यवस्था मिलाएको छ । त्यसैले सर्वसाधारणले राहत महसुस गरेका हुन् ।

‘कोरोनाबाट बच्दै नयाँ नोट सटही गर्न व्यवस्था मिलाएका छौँ’, राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने । गत वर्ष कोरोना संक्रमण चरम रूपमा बढेका कारण राष्ट्र बैंकले नयाँ नोट सटही नै गरेन ।

 

यसपाली राष्ट्र बैंकले भौतिक दूरी कायम गर्दै नोट सटही गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

खोइ भौतिक दूरी ?

राष्ट्र बैंकले भौतिक दूरी कायम गरी नयाँ नोट साट्ने व्यवस्था मिलाएको भए पनि व्यवहारमा भने त्यस्तो देखिएन । राष्ट्र बैंकका कर्मचारीहरूले भौतिक दूरी कामय गराउने प्रयास गरिरहे पनि पहिले जस्तै सर्वसाधारण खचाखच लाइनमा बसेका छन् ।

राष्ट्र बैंकले भौतिक दूरी कामय गराउन सकेको छैन । यस्तो अवस्थामा सर्वसाधारणमा कोरोना संक्रमण सर्ने प्रबल सम्भावना हुन्छ । यसतर्फ राष्ट्र बैंकको ध्यान जान जरुरी छ ।

सुनसान राष्ट्र बैंक

दशैँकका लागि नयाँ नोट सटहीका लागि राष्ट्र बैंकमा हरेक वर्ष लाखौँ सर्वसाधारणको भीड लाग्ने गर्छ । तर यसपाली भने कोरोना संक्रमणका कारण राष्ट्र बैंकले नोट सटहीमा गरेको व्यवस्थाका कारण भीड निकै कम छ । बिहान २÷३ बजेदेखि लाइनमा बस्ने सार्वसाधारण यसपाली राष्ट्र बैंक खुल्ने समयको केही अघि मात्रै आउने गरेका छन् । अहिले राष्ट्र बैंकको प्रांगण पनि खुला देखिएको छ ।

 

३५ अर्बभन्दा बढी सुकिला नोट बजारमा 

राष्ट्र बैंकले दशैँलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरका नयाँ नोट बजारमा पठाइसकेको छ । सबै बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट नयाँ नोट लगिसकेका छन् । राष्ट्र बैंकले हरेक वर्षका दशैँ तिहारमा ५० अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट बजारमा पठाउँदै आएको छ । जसमध्ये सर्वसाधारणहरूका लागि मात्रै १५ अर्बको हाराहाराहरीमा नयाँ नोट सटही हुने गरेका छन् । राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट सटही गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?