सेयर बजारको ओरालो यात्रा : दोष कसको ?

काठमाडौं । लामो समयदेखि सेयर बजारले गति लिन नसक्दा लगानीकर्ताहरु मारमा परेका छन् । भदौयता नेपाली सेयर बजारले गति लिन सकेको छैन । भदौ २ गते अलटाइम हाइ रेकर्ड बनाएको सेयर बजार त्यसपश्चात नयाँ रेकर्ड बनाउन सकेको छैन । त्यस दिन सेयर बजारले ३१९९ विन्दु चुमेर ऐतिहासिक विन्दु चुमेको थियो । सो दिन २१ अर्ब १६ करोडभन्दा माथिको कारोबार भएको थियो ।

त्यसपश्चात सेयर बजार २ दिन मात्र ३१ सयको विन्दु छोएको छ । कारोबार रकम ५ अर्बसम्म खुम्चिएको अवस्था छ । राष्ट्र बैंकले जारी गरेको सेयर धितो कर्जाको सीमाका कारण सेयर बजारमा गिरावट आएको विश्लेषकहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले साउन २९ गते आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको सीमालाई ४-१२ करोड कायम गरेको थियो ।

बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति २०६८ जारी गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायका साथ केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको थियो । सो व्यवस्था पश्चात सेयर बजार प्रभावित भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् सेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिँदै सेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था गरेको थियो।

त्यसैगरी, सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङ्कन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन कायम गरेको थियो ।
मौद्रिक नीति जारी भइसके पश्चात जम्मा २२ दिन खुलेको सेयर बजारमा १० दिन मात्र बजार बढेको छ, भने १२ दिन सेयर बजारले ओरालो यात्रा तय गरेको छ । अधिकांश दिन बजार झिनो अंकले बढ्दा भारी अंकले घटेको छ । यो अवधिलाई हेर्ने हो भने मौद्रिक नीति सार्वजनिक हुनुअघि सेयर बजार ३१७८.९१ विन्दुमा पुगेर बन्द भएको थियो । अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २८१२.२६ विन्दुमा पुगेर रोकिएको छ । यसरी हेर्ने हो भने सो अवधिमा बजारमा ३६६.६५ अंकको गिरावट आएको छ ।

बजार घट्नुमा को दोषी ?

बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया हो । बजार एउटा निश्चित विन्दुमा पुगेपछि करेक्सन आउँछ । यो स्वाभाविक नै हो र चलिरहेको प्रक्रिया नै हो । तर कहिलेकाही बजारमा असामान्य उतारचढाव पनि देखिन्छ । यो हुँदा लगानीकर्ताहरुमा एक किसिमको डर पैदा हुन्छ । सेयर बजारमा लगानीकर्ताको मनोबलले ठूलो अर्थ राख्छ । लगानीकर्ताले मनोबल उच्च बनाउने हो भने सेयर बजार आफ्नै गतिमा चलिरहन्छ ।
तर पछिल्लो समय नेपाली सेयर बजारलाई हल्लाले ठूलो प्रभाव पारिरहेको छ । इन्साइडर ट्रेडिङ र हल्लाका कारण बजार प्रभावित भइरहेको अवस्था छ ।
पछिल्लो समय सेयर बजार घट्नुको कारण के हो ? बजारमा करेक्सन आएकै हो ? बजार घटाउन चलखेल भएकै हो त ? बजार घट्नुमा दोष कसको ? यो विषयमा हामीले सेयर बजारका जानकार व्यक्तिहरुसँग सोधेका छौँ ।

‘बजारमा आउनुपर्ने करेक्सन आएको हो’ : केशव कोइराला (काका), लगानीकर्ता

राष्ट्र बैंकले बजारलाई व्यवस्थित गराउन खोज्दा बजार करेक्सन आएको सेयर लगानीकर्ता केशव कोइराला बताउँछन् । उनले भने- ‘पछिल्लो समय सेयर बजारका मेरुदण्डका रुपमा चिनिएका मजबुत कम्पनीहरु चाहिँ नबढ्ने तर कमजोर वित्त्तीय अवस्था भएका र न्यून पुँजी भएका कम्पनीहरुको चाहिँ कर्नरिङ गरेर सेयरमूल्य बढाएर बजार उचालेको अवस्था छ । यसले पछि गएर अर्थतन्त्रमा नकारात्मक असर पर्ने र नयाँ लगानीकर्ता जो चाहिँ लाखौँको संख्यामा बजार भित्रिएका छन् उनीहरु त्यहि कमजोर कम्पनीको फन्दामा परेर भोलि उनीहरुको लगानी डुब्ने डर देखिएपछि राष्ट्र बैंकले त्यसको नियन्त्रण गर्न खोजेको हो ।’

सेयर बजारमा करेक्सन आउनुको कारण राष्ट्र बैंकले गरेको कडाई भएको उनको तर्क छ । तर राष्ट्र बैंकले चालेको यो कदम सहि भएको उनले बताए ।

‘पछिल्लो समय बजार कृतिम रुपमा भरिएको थियो । कमजोर कम्पनी र कमजोर समूहहरुलाई लिएर ४, ५ सय अंक कृतिम रुपमा बढाइएको थियो त्यो घट्नु जरुरी थियो अन्तिममा गएर राष्ट्र बैंकले ऋण लिने सीमामा कडाई गरेपछि बजार घटेको हो ।’ उनले भने ।
बजार घट्नुलाई सामान्य रुपले लिनुपर्ने बताउँदै उनले अप्राकृतिक रुपमा ठूला लगानीहरुले कमजोर कम्पनीहरुलाई दशौँ,पन्ध्रौँ गुणा बढाएको कारण गर्दा हुनुपर्ने भएको दुर्घटना मात्र भएको बताए ।

अप्राकृतिक रुपमा बजार बढाउनेहरुको कारण नै बजारमा गिरावट आएको उनको भनाइ छ ।’राष्ट्र बैंकले धितोपत्र बोर्ड र नेप्सेले गर्न नसकेको काम गरेको छ । राष्ट्र बैंकले साना लगानीकर्ताको लगानीलाई जोगाउने काम गरेको छ ।’ उनले भने ।

सेयर बजार घट्नुमा राष्ट्र बैंक र अर्थमन्त्रालय दुवैको दोष छ : रोहन कार्की, युवा लगानीकर्ता

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जारी गरेको सेयर धितो कर्जाको सीमाका कारण नै बजारमा पहिरो गएको युवा लगानीकर्ता तथा पुँजीबजार सुधार संघर्ष समितिका संयोजक रोहन कार्कीले बताए ।

उनले दिनहुँ नयाँ कीर्तिमानीतर्फ लागिरहेको सेयर बजारलाई राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा तोकेर २ सयको मिटरमा कुदिरहेको गाडीलाई २ मिटरभित्र रोक भने जस्तै गरेको आरोप लगाए ।

राष्ट्र बैंकले बजारको गतिलाई ब्रेक लगाउन खोज्दा भएको दुर्घटना नै पछिल्लो बजारको अवस्था भएको उनले बताए ।
अन्य कारणहरुले बजारमा असर पारिरहेको अवस्थामा राष्ट्र बैंकका कारण झन् आम लगानीकर्तामा त्रास उत्पन्न भएको उनले बताए ।
‘४-१२ को सीमाका कारण ठूला लगानीकर्ताहरुले सेयर बेच्नु पर्यो । यसको कारण आम लगानीकर्ताहरु आत्तिए । जसले गर्दा बजारमा झनै त्रासको अवस्था सिर्जना भयो । ‘, उनले भने ।

यसमा राष्ट्र बैंकको मुख्य दोष भएको भन्दै बजार घट्नुमा अर्थमन्त्रालयको दोष रहेको आरोप उनले लगाए । ‘बजारमा यस्तो अवस्था उत्पन्न हुँदा पनि पनि अर्थमन्त्रालयले सकारात्मक कुरा नबोल्नु, मौद्रिक नीतिमा जुन कुरा आयो त्यो नीतिभन्दा नि निर्देशन अझ कडा भएर आउनु नै सेयर बजार घट्नुको कारण हो ।’ उनले थपे ।

बजार घटाउन नियामक निकाय नै लागि परेको उनको आरोप छ । उनले भने, बजारमा यति धेरै गिरावट आउँदा पनि लगानीकर्तालाई संयमित हुन कुनै आह्वान गरिएको छैन आजसम्म यो विषयमा कुनै कुरा बोलिएको छैन । बजार घटे घट्छ, २, ४ जना मान्छे झुण्डिए झुन्डिन्छ लगानीकर्ताले सम्पत्ति गुमाए गुमाउँछ हामीलाई केहि फरक पर्दैन भन्ने खालको व्यवहार नियामक निकायको देखिरहेको छ ।’

यी ४ कारण बजार घट्यो : मुक्ति अर्याल, सेयर विश्लेषक

सेयर बजार घट्नुको दोष राष्ट्र बैंकलाई जाने सेयर विश्लेषक मुक्ति अर्याल बताउँछन् । ‘बजार घट्नुको पहिलो कारण राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जारी गरेको सेयर धितो कर्जा हो, अर्को कारण तरलताको अभाव भएको हल्ला, तेस्रो कारण ब्याजदर र चौथो मार्केटमा करेक्सन आउने बेला भएको थियो ।’, उनले भने । तर बजारले अको साताबाट गति लिने उनले बताए ।

बजार घट्नुमा राज्यको दोष छ : डमरु बल्लभ घिमिरे, लगानीकर्ता

लगानीकर्ता डमरु बल्लभ घिमिरेले सेयर बजारमा गिरावट आउनुको मुख्य दोष राज्य भएको बताए । उनले राज्य बजार केन्द्रित नहुँदा बजारमा गिरावट आएको आरोप लगाए ।

घट्नु बढ्नु बजारको नियम नै रहेकोले लगानीकर्ताहरु आत्तिनु नपर्ने सेयर विश्लेषक तथा जानकार व्यक्तिहरु बताउँछन् । सेयर बजार बढ्ने वा घट्ने भन्ने कुरा लगानीकर्ताको मनोबलमा भर पर्ने भन्दै नआत्तिन र संयमित हुन विश्लेषकहरु आग्रह गर्छन् । सेयर बजारमा लगानी गर्नुपूर्व हरेक कुराको अध्ययन गरेर मात्र लगानी गर्नु उचित हुन्छ । सुझबुझपूर्ण लगानी गर्ने हो भने लगानीकर्ताले पछुताउनु नपर्ने जानकारहरु बताउँछन् । अहिले प्राय सबैजसो कम्पनीको सेयर घटेको र यो किन्ने समय भएको विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?