कोरोना कहरमा पनि लाइनमा बसेर नयाँ नोट साटिने : बचिएला त संक्रमणबाट ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिदेखि नयाँ नोट सटही सुविधा दिनेभएको छ ।
नेपालीहरूको महान चाड दशैँ नजिकिँदै गर्दा राष्ट्र बैंकले नयाँ (सुकिला) नोट सटही सुविधा दिन लागेको हो ।

राष्ट्र बैंकले हरेक वर्षजस्तै प्रतिव्यक्ति १८ हजार ५०० सयका दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने जनाएको छ । राष्ट्र बैंकले लामो समयदेखि दशैँको बेलामा लाइनमा बसेर नयाँ नोट सटही सुविधा दिँदै आएको थियो । यसपाली पनि सार्वसाधारणहरूले लाइनमै बसेर नयाँ नोट साट्नुपर्ने भएको छ ।

कोरोना कहर कायमै रहे पनि लाइनमा बसेर नयाँ नोट साट्नुपर्ने बाध्यता हटेको छैन । तर यसपाली लाइनमा बस्दा भौतिक दूरी कायम गरेर नयाँ नोट सटही गरिने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘भौतिक दूरी कामय गरी लाइनमा बसेर नयाँ नोट साट्ने व्यवस्था मिलाएका छौँ’, उनले भने ।
कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै राष्ट्र बैंकले यसपाली सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट उपलब्ध गराएको छ ।

‘भीडभाड कम होस् भनेर सबै बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही गर्न दिएका छौँ’, प्रवक्ता ढकालले भने । सबै बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही गर्ने जिम्मा दिँदा संक्रमण कम हुने भन्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

 

३५ अर्बभन्दा बढी सुकिला नोट बजारमा

राष्ट्र बैंकले दशैँलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरका नयाँ नोट बजारमा पठाइसकेको छ । सबै बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट नयाँ नोट लगिसकेका छन् । राष्ट्र बैंकले हरेक वर्षका दशैँ तिहारमा ५० अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट बजारमा पठाउँदै आएको छ । जसमध्ये सर्वसाधारणहरूका लागि मात्रै १५ अर्बको हाराहाराहरीमा नयाँ नोट सटही हुनेगरेका छन् । राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट सटही गर्नेछ ।

 

राष्ट्रिय चाडपर्वमा नयाँ नोट, भएन प्रभावकारी

राष्ट्र बैंकले नयाँ नोटप्रति सर्वसाधारणको आकर्षण कम गर्न राष्ट्रिय चावपर्वहरूमा पनि नयाँ नोट सटही गर्ने सुविधा उपलब्ध गराउँदै आएको थियो ।राष्ट्र बैंकले हाम्रा ठूला चाडपर्वहरू दशैँ र तिहारबाहेक जनै पूर्णिमा, इन्द्रजात्रा, वैशाख (गुरु) पूर्णिमा, लोसार, माघेसक्रान्तीलगायतका विभिन्न राष्ट्रिय चाडवाडमा पनि नयाँ नोट साट्न पाइने व्यवस्था गरेको छ ।

पछिल्लो समय राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका बेला नगद कारोबारलाई न्यूनीकरण गर्न पनि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको थियो । तर दशैँमा जस्तो नयाँ नोटको आकर्षण अन्य चाडबाडमा नभएकाले निकै कम मात्रै सटही हुनेगरेको प्रवक्ता ढकालको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?