स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्ने : अभिभावक ढुक्क हुने आधार छ ?

दिपेन्द्र अधिकारी । काठमाडौं-

सरकारले भौतिक रूपमा पठनपाठनको अनुमति दिएको छैन । भौतिक रूपमा विद्यालय खोल्ने भए स्थानीय तह, जिल्लास्थित कोभिड १९ व्यवस्थापन केन्द्रसँग समन्वय गरेर खोल्न सकिने भनेर व्यवस्था गरेको छ ।

सोहीअनुसार आजबाट अधिकांश स्थानीय तहमा विद्यालय खुल्दै छन् । विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आलोपालो पद्धतिमा कक्षा सञ्चालनको लागि शैक्षिक वातावरण बनाउन तल्लीन छन् । अभिभावकहरू भने दशैँअघि वैकल्पिक माध्यमबाटै सिकाइ निरन्तर हुनुपर्ने पक्षमा छन् ।

स्वास्थ्य सुरक्षाको ग्यारेन्टीमै शंका गर्दै अभिभावकहरू दशैँअघि आफ्ना बालबालिका विद्यालयमा पठाउन चाहँदैनन् । दशैँ आउन तीन हप्ता बाँकी रहेको बेला विद्यालय खोल्नुको कुनै तुक नरहेको अभिभावक महासंघका वरिष्ठ उपाध्यक्ष सुवास भण्डारी बताउँछन्

दशैँ आउन १५–२० दिन बाँकी छ, त्यसपछि पुनः कम्तीमा १० दिन त विद्यालय बन्द हुँदै छ, अझै १५ दिन कुरौँ, दशैँ सकिएपछि अवस्था पनि थाहा हुन्छ, अनि सुरु गरौँ ।

सुवास भण्डारी : स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरौँ (वरिष्ठ उपाध्यक्ष अभिभावक महासंघ) 

कक्षाकोठमा त विद्यालमा स्वास्थ्य मापदण्ड पालना गर्नुहोला तर, विद्यार्थी कक्षाकोठाभन्दा बाहिर खेलमैदान, क्यान्टिनमा जान्छन् ती सबै स्थानमा स्वास्थ्य मापदण्ड पूरा गर्न सक्नुहुन्न । सबै विद्यार्थीको पछि लागेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्छु भने पनि पूरा गर्न सक्नुहुन्न होला, धेरै विद्यार्थी भएको ठाउँमा ।

थोरै विद्यार्थी भएको ठाउँमा पनि ठाउँ अभाव रहेको भेटेका छौँ । गोकर्णेश्वर नगरपालिकामा विद्यालय सञ्चालनमा आए । मापदण्ड पूरा गरेको भनिए पनि कतिपय विद्यालयमा मापदण्ड पूरा नगरेको पाइयो ।दशैँ आउन १५–२० दिन बाँकी छ, त्यसपछि पुनः कम्तीमा १० दिन त विद्यालय बन्द हुँदै छ, अझै १५ दिन कुरौँ, दशैँ सकिएपछि अवस्था पनि थाहा हुन्छ, अनि सुरु गरौँ ।

विद्यालयहरूले भन्दैमा हामी अभिभावकले विश्वास गरेर आाफ्ना बालबालिका विद्यालय पठाउन सक्ने स्थिति छैन ।

अभिभावकको मत एकातिर छ । काठमाडौं महानगरपालिकाभित्रका कतिपय विद्यालय भने तत्काल खोल्न कम्मर कसेर लागेका छन् । उपत्यकाका सामुदायिक र निजी विद्यालयहरू सरकारले दिएको निर्देशनबमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न लागेका छन् ।

काठमाडौं उपत्यकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले अभिभावक र विद्यालय सञ्चालकहरूबीच भद्र सहमति भएको छ । शिक्षा मन्त्रालयले भने असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने व्यवस्था गरिदिएको छ ।

स्वास्थ्य मन्त्रालयचाहिँ हतार नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. भन्छन्, ‘संक्रमणको जोखिम नबढ्ने गरी ध्यान दिनुपर्छ । यसको लागि सम्पूर्ण अभिभावक, विद्यालयका सञ्चलक, प्रधानाध्यापक तथा शिक्षकहरूलगायत समाजका सबैलाई स्वास्थ्य मन्त्रालय अनुरोध गर्दछ ।’

गजब त के छ भने, शिक्षा मन्त्रालय विद्यालय खोल भन्छ, स्वास्थ्य मन्त्रालय हतार नगरौँ भन्छ । सरकारी निकायबीचको यो गाइजात्रे शैलीलाई चुनौती दिँदै काठमाडौं र ललितपुरका कतिपय स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् ।

शक्तिकला खड्का : एकेडेमिक डिरेक्टर  (प्राक्सिस इन्टरनेसनल एकेडेमी)

सरकारले दिएको निर्देशनअनुसार नै हामीले पूर्ण तयारीका साथ आजबाट विद्यालय सञ्चालन गर्दै छौँ । स्वास्थ्य सुरक्षाको मापदण्डहरू अपनाएका हुन्छौँ । प्रवेशद्वारमा नै स्यानिटाइजर, मास्क राखेका छौँ, ज्वरो नाप्छौँ । कक्षाकोठालाई दैनिक रूपमा निर्मलीकरण गर्छौँ ।

एक बेन्चमा २ जना मात्र विद्यार्थी राखेर पठनपाठन गराउँछौँ । हाम्रा अधिकांश शिक्षक तथा कर्मचारीहरू कोभिडको भ्याक्सिन लगाइसक्नुभएको छ । आलोपालो प्रणालीमा कक्षा चलाउँछौ । साना कक्षालाई २ घण्टा मात्र राख्छौँ भने ठूला कक्षालाई ४ घण्टा जति पढाउँछौँ । तल्ला कक्षा र माथिल्ला कक्षाको भवन फरक–फरक भएका कारण क्यान्टिनदेखि अन्य व्यवस्थापनको लागि सहज छ ।

नारायणप्रसाद गौतम (प्रधानाध्यापक, पद्मोदय मावि) 

भौतिक रूपमा कक्षा सञ्चालन गर्दा गर्दा कोरोना फैलन्छ कि भन्ने चिन्ता त छँदै छ । असोज ९ सम्म कक्षा १२ को परीक्षा भएका कारण त्यसअघि पठनपाठन सम्भव छैन । त्यसपछि अभिभावकहरूले सहमति जनाउनुभयो भने आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्न तयार छौँ ।

अहिले पनि अनलाइनबाट कक्षा निरन्तर चलिरहेकै छन् । विद्यालय सञ्चालनका लागि गर्नुपर्ने तयारी गरिरहेका छौँ । विद्यालय हाता सरसफाइ, निर्मलीकरणलगायतका शैक्षिक माहोल बनाउन लागिरहेका छौँ ।

कमलाकुमारी राई (प्रधानाध्यापक, जनकल्याण मावि) 

विद्यालय जोखिममा छ भनेर हामीले अहिलेसम्म खोलेनौँ अब हामी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आलोपालो प्रणालीमा विद्यालय खोल्ने नै हो । अभिभावकको पूर्ण सहमति छ । छिटोभन्दा छिटो विद्यार्थीलाई विद्यालय पु-याउने उहाँहरूको धारणा छ । असोज ९ गतेसम्म त कक्षा १२ को परीक्षा छ । त्यसपछि सबै कक्षा खुल्छन् ।

देशभरका स्थानीय तहले आफ्नो अनुकूल विद्यालय खोल्ने प्रयास गरिरहेका छन् । तर, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गरिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?