१९ मङ्सिर २०७९, सोमवार

‘हिमाली : आमाले बुनेको’-आमाहरू आत्मनिर्भर बन्दै

२०७८,आश्विन,२,शनिवार ०९:४८

1.413k
Shares

न थाक्नु छ, न हार्नु छ । पाइलाहरु फराकिलो बाटोमा पुग्दै छन् । प्रत्येक दिन सानो पाइला चाल्दै र सिक्दै अगाडि बड्नु छ भन्ने अठोटका साथ सुरुवात भएको ‘हिमाली’ एक पहिरन उद्योग हो ।

‘हिमाली’ एउटा कम्पनी मात्र नभएर आमाहरूको मिहिनेतको कथा हो ।

भर्खर २५ वर्षमा टेकेका ठिटो, जो बुबाले सुरु गरेको ४० वर्ष पुरानो पसलहरूको सपलायर्स कम्पनीलाई आफ्नो सोचसँग मिलाउँदै छन् । कम्पनीलाई मात्र होइन हरेक आमाहरूको जीवनमा नयाँ आयाम थप्न दिनरात प्रयास गर्दै छन् ।

वालिङमा ४० वर्ष पुरानो व्यापारी भनेर चिनिन्थ्ये उनका बुबा । जो अहिले यो संसारमा छैनन् ।

सुवास पंगिनी । जो ब्याचलर पढ्दा पढ्दै अंकलहरूको कारखाना हेर्न गएका थिए । त्यहाँ कस्तो र कसरी काम हुन्छ भनेर हेर्ने रहर थियो उनको ।

ब्याचलर्स सकेपछि उनी स्याङ्जामा फर्किए । त्यहाँका अधिकांश आमाहरू आफ्नो समयलाई घरको चार कुनामा मात्र सीमित गएर बसेको देखे ।
उनलाई काठमाडौँमा छँदा घुम्न गएको कारखानाको याद आयो । आफ्नै गाउँमा केही गर्न सकिन्छ कि भनेर निक्कै घोरिए ।

केही नयाँ काम गर्ने हुटहुटी उनको मनमा शान्त भएको थिएन ।

यही क्रममा उनले चिसापानी भन्ने ठाउँमा कम्पनीको सुरुवात गरेका हुन् । त्यहाँबाट वालिङ ७ किलोमिटर टाढा छ । गाईभैँसी नै पाले पनि दुध बेच्न समेत नसक्ने अवस्था छ ।

यही अवस्था र समस्याबाट मुक्ति पाउन गरिएको सोच र खोजको परिणाम हो, ‘हिमाली : आमाले बुनेको’ ।
अहिले उद्यमको रूपमा विकास भएको छ ।

गाउँमै मेसिन पु¥याएर महिलाहरूलाई तालिम दिएर कपडा बनाउने सोच आयो । सुरुमा ६ लाख लगानी लाग्ने अनुमान आयो ।

दुई भाइ र केही साथीको सहयोगमा खर्च जुटाए । वालिङ वडा नम्बर ५, चिसापानीको बेसारपानीमा मेसिन राखेर परीक्षण गर्ने निधो भयो ।

यसरी स्याङ्जाको वालिङमा स्थापना भएको कम्पनीले स्थानीय आमाहरूलाई सीप सिकाउँदै दीर्घकालीन लक्ष्यका साथ अगाडि बड्दै छ । अहिले चिसापानीका २० जना महिला र ५ जना पुरुष आबद्ध छन् । आमाहरू ऊनीका स्वेटर, गलबन्दी र टोपी बुन्दछन् ।

‘३०/४० वर्षपहिले वालिङमा मेरो बुबाले सुरुमा सञ्चालन गरेको हिमाली सप्लायर्स भनेर डिलर्स थियो । बुबा बितेपछि सो कम्पनी यतिकै ओझेल परेको थियो’, पँगेनीले भने, ‘आफू सानो छँदादेखि नै हिमालीलाई देखेर हुर्केकाले पनि यो कम्पनीसँग मेरो भावनत्मक साइनो रहेको छ ।’

सुरुको फेजमा हामीले गाउँ–गाउँ गएर एउटा तालिम आएको छ भन्ने तरिकाले कुरा गर्दा ७० जना महिलाहरूले इच्छा देखाएको उनले बताए । ‘तर पछि धेरैजसो आमाहरूले घरको समस्या देखाउँदै आउन नपाउने भन्दै आउनुभएन’, पंगेनीले भने ।

सुरुमा तालिम लिनका लागि ५ जना आमाहरू आएका थिए । उनीहरूले राम्ररी तालिम लिएर मासिक १० देखि १५ हजारसम्म आम्दानी गर्न थाले ।

‘उहाँहरूले त्यो कमाई थाप्नुभएको पल मेरा लागि मात्र नभई उहाँहरूका लागि जीवनको एक महत्वपूर्ण  क्षण थियो’, उनले भने ‘यो थाहा पाएपछि बिस्तारै अरु आमाहरू पनि हिमालीमा जोडिन थाल्नुभयो ।’

दृढ आत्मविस्वास र निरन्तरताको कारण नै अहिले सबैको विस्वास जित्न सफल भएको पंगेनीले बताए ।

आमाहरू आत्मनिर्भर भएपछि मात्र छोराछोरीहरू स्वतन्त्र हुने उनको धारणा छ । यही अभियान रहेको छ हिमालीको । हिमालीले अहिले गाउँ–गाउँमा आमाहरूलाई आफ्नो अनुकूल समयमा काम गर्न मिल्ने प्रोडक्सन युनिटहरू बनाएको छ ।

‘जबसम्म आमाहरूको हातमा आफ्नै कमाइको पैसा हुँदैन, जति नै पढेलेखे पनि छोरीहरू स्वतन्त्र हुन सक्दैनन् । हिमाली यही अठोट र आशाको प्रतिबिम्ब हो’, सीईयो सुवाश पंगेनीले भने, ‘हरेक ठाउँमा उद्योग होस् सबैको हातमा सीप र रोजगार अनि पो बन्छ देश । समृद्ध नेपालको एक पाइला, उत्पादन र रोजगार हो ।’

गाउँ–गाउँका आमाहरू जो आफ्नो घरबाट बाहिर जान पाउँदैनन्, उनीहरूलाई केन्द्रित गरेर यो कम्पनी सञ्चालनमा ल्याएको पंगेनीले बताए ।

 

यसको उद्देश्य भनेको यही गाउँठाउँँमा रोजगारी सिर्जना गर्दै खेर गइरहेको जनशक्तिलाई नै परिचालन गर्नु हो । यसले आमा महिलाहरूलाई नै लक्षित गर्दछ ।

कम्पनीले ऊनीको धागोबाट बजारमा माग भएका स्याम्पल पिसका आधारमा आमाहरूलाई तालिम दिई तो उत्पादन गर्न सक्ने सक्षम बनाउने र रोजगार पनि दिलाउने गर्दछ ।

आमाहरूको कोसेलीजस्तै ती ऊनीको कपडाहरू नेपाली बजारमा उपलब्ध हुन थालेपछि उनीलाई मात्र होइन आमाहरूलाई पनि हौसला मिलेको छ ।

महिलाहरूलाई सीप सिकाउने, रोजगारी दिने, हिसाबकिताब राख्ने काम सुवास आफँैले गर्छन् । दिनकर ब्रान्डिङ र मार्केटिङमा सक्रिय छन् ।

अबको दुई वर्षमा हिमालीका सामान विदेश निर्यात गर्ने र पाँच वर्षमा एक हजार महिलालाई रोजगारी दिने लक्ष्य कम्पनीले राखेको छ ।

‘नेपाली बजारमा हामीलाई प्रतिस्पर्धा गर्न एकदमै कठिन छ । यहाँ हातले बनाएको नेपाली कपडा रूचाउने संख्या निकै कम छ । त्यसैले हाम्रा लक्षित ग्राहक विदेशी नै हुन्’, उनले भने ।

एक रुपैयाँ समेत कमाउन अवसर नभएको आफ्नै गाउँमा महिनाको १० देखि १५ हजारसम्म कमाउन सक्षम भएका छन् यहाँका आमाहरू ।

कम्पनीलाई अझ विस्तार गर्दै यो वर्ष बच्चाहरूको लागि हातले बुनेको उनीको लुगाहरू पनि बनाउन सुरु गर्ने तर्खरमा छन् उनीहरू ।

कामतिर हात चलाउँदै थप्छन्, ‘हाम्रो आफ्नै कथा छ । आफ्नै माटोलाई माया गर्दै अगाडि बढ्दै छौँ । आमाको मायाले बुनेको कोसेली । हामी सीप सिकाउने झुपडी गाउँ–गाउँलाई उत्पादनसँग जोड्दै छौँ ।’

केही नयाँ गर्नुपर्छ भन्ने सोच र दृढ आत्मविस्वासले कम्पनी सफलताको बाटोमा लम्किँदै छ । ‘पहिले सहरबाट कपडाहरू गाउँ आउँथ्यो, अहिले गाउँबाट सहरतिर लाँदै छौँ । खोला फर्केको हो कि जस्तो लाग्छ’ उनी खुशी देखिन्थे ।

बुन्ने सीप कहिल्यै नसिकेका आमाहरूका लागि बुन्ने, नापअनुसार लुगा बनाउने, डिजाइन निकाल्ने आदि काम सिक्न गाह्रो भए पनि मिहिनेत गरे असम्भव केही छैन भन्ने देखाउन हिमालीमा गाँसिएका आमाहरू सफल भएका छन् ।

 

यस्ता उद्यम र उद्यमीहरूलाई सरकार र स्थानीय तहबाट साथ र सहयोग मिलेमा हरेक आमाहरूलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विस्वास सञ्चालक पंगेनीको छ ।

हरेक ठाउँमा रहेका यस्तै खालका उद्यमीहरूले देशको अर्थ व्यवस्थामा मात्र नभई गाउँ–गाउँमा उद्यमशीलताको विकास भई देश आत्मनिर्भतातिर अघि बढ्ने उनको विस्वास छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२,शनिवार ०९:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आइतवार भएको पहिलो खेलमा फ्रान्सले पोल्याण्डलाई हराएको छ । जितसँगै फ्रान्स विश्वकप

काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन राज काफ्ले विजयी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र अन्र्तघात भएको भन्दै यसमा संलग्न जो कोहीलाई कारबाही गरिने बताएका छन्

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रमुख ठूला दलको प्रभाव साँघुरिदै गएको छ । पार्टीभित्रको आन्तरिक विग्रह, गठबन्धनका उम्मेदवारविरुद्ध आफ्नै पार्टीका नेताहरूले

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५
माओवादी बैठकमा विशेष महाधिवेशनको माग
 २०७९,मङ्सिर,१८,आईतवार १९:४६