बैंकिङ प्रणालीमा तरलता अभावले ब्याजदरमा दबाब : पाउलान् त साना निक्षेपकर्ताले राहत ?

पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता (लगानीयोग्य पुँजी) को असर बजारमा देखिन थालेको छ ।

प्रणालीमा तरलता अभाव भएसँगै ब्याजदर उकालो लाग्न थालेको छ । अहिले अधिकांश बैंकहरूले ब्याजदर बढाएका छन् । बैंकहरूले असोज १ गते(आज) देखि लागू हुनेगरी ब्याजदर बढाएका छन् । ब्याजदर बढ्ने भएपछि साना लगानीकर्तालाई समेत यसापाली राहत पुग्ने देखिएको छ । अहिले निक्षेपको ब्याजदर १०.०७ प्रतिशतको हाराहारीमा पुगिसकेको छ ।

कुन–कुन बैंकले बढाए ब्याजदर ?

वाणिज्य बैंकहरूमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले बढाएको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी ब्याजदर बढाएको हो । बैंकले असोजदेखि बचत खतामा ५.०७ प्रतिशत ब्याजदर उपलब्ध गराएको छ ।

गत भदौमा बैंकले बचतमा २.५७ देखि ४ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । माछापुच्छ्रे बैंक, प्राइम बैंक, एभरेष्ट बैंक, एनएमबी बैंक, कृषि विकास बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंकलगायतका २४ वटा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् ।

साना निक्षेपकर्तालाई राहत

प्रणालीमा तरलता अभावको फाइदा भने साना लगानीकर्तालाई भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर बैंक सापट ब्याजदर समेत अहिले ४.८८ प्रतिशत पुगिसेकेको छ । ब्याजदर उकालो लागेसँगै साना निक्षेपकर्ताले राहत पाउने भएका हुन् । २ देखि ४ प्रतिशतको हाराहारीमा रहेको बचतको ब्याजदर अहिले बढेर ६ प्रतिशत नाघेको छ । त्यसो हुँदा लामो समयसम्म राम्रो ब्याज नपाएका साना निक्षेपकर्ताले राहत पाउने भएका छन् । यसपाली बढेको ब्याजदरले साना लगानीकर्ताले न्याय पाउने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘ब्याजदर बढेसँगै अब साना निक्षेपकर्ताले पनि न्याय पाउने भएका छन्’, उनले भने ।

बैंकहरूले मुद्दती निक्षेपमा राम्रो ब्याजदर दिने भए पनि बचतको ब्याजदर निकै कम मात्रामा मात्रै दिनेगरेका छन् । त्यसैले साना निक्षेपकर्ता सधैँ मारमा पर्दै आएका थिए । ब्याजदर बढेसँगै यी लगानीकर्ताले राहतको महसुस गर्ने प्रवक्ता ढकालको भनाइ छ ।

ब्याजदर बढेपछि ठूला मात्र नभएर साना निक्षेपकर्ताले पनि राहत महसुस गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहाले बताए ।

‘ब्याजदर बढेसँगै साना लगानीकर्तालाई राहत भएको छ’, उनले भने । साना निक्षेपककर्ता प्रायः मारमा पर्ने भए पनि ब्याजदर बढ्न थालेपछि भने राहत महसुस गरेका हुन् । अहिले बढेको ब्याजदर दीर्घकालीन नभएको अध्यक्ष दाहालका भनाइ छ ।

सरकारको खर्च बढ्ने र असोजमा अन्य समयको तुलनामा बढी रेमिट्यान्स आउने भएकाले प्रणालीमा तरलता बढ्छ । त्यति मात्रै नभएर बैंकहले सिफानान्सिङबापतको १ खर्ब रुपैयाँ राष्ट्र बैंकसँग लिन बाँकी भएकाले पनि प्रणालीमा तरलता आउने पक्का छन् । त्यसैले अहिले बढेको ब्याजदर कात्तिक महिनामै ओरालो लाग्ने दाहालको आकलन छ ।

ब्याजदर बढेसँगै सेयर बजार प्रभावित

अधिकांश बैंकहरूले ब्याजदर बढाएपछि सेयर बजार भने प्रभावित भएको छ । पछिल्लो समय लगातार रूपमा सेयर बजारमा गिरावट आइरहेका बेला ब्याजदर बढ्दा सेयर बजार थप तरंगित बनेको हो ।

एकातिर ब्याजदर बढ्नु र अर्कातिर केही समयदेखि लगातार रूपमा निन्तर बजार घट्नुले सेयर बजारका लगानीकर्ता मारमा परेका छन् ।

तरलता प्रवाह गर्दै राष्ट्र बैंक

प्रणालीमा तरलताको कमी भई ब्याजदर बढ्न थालेपछि राष्ट्र बैंकले बजारमा तरलता पठाउन थालेको छ । पछिल्लो समय प्रणालीमा २० अर्ब रुपैयाँ मात्रै तरलता छ । तरलताको चरम अभाव भएपछि राष्ट्र बैंकले पटक–पटक गरी तरलता प्रवाह गरेको छ ।

प्रणालीमा तरलता अभाव भएसँगै राष्ट्र बैंकले बिहीबार मात्रै २० अर्ब रुपैयाँबराबरको तरलता रिपोमार्फत बजारमा ल्याएको छ । यो तरलता १४ दिनका लागि हो ।

त्यस्तै, राष्ट्र बैंकले गत २३ मा ३० अर्ब रुपैयाँ तरलता बजार पठाएको थियो । त्यसअघि पनि २० अर्ब रुपैयाँ तरलता बजार पठाएको थियो ।

यसले बजारमा तरलता कमी भए प्रवाह गर्ने र बढी भए प्रशोचन गरेर बजार सन्तुलनमा राख्ने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?