‘खरायो बेक्स’ : बेकरीको क्षेत्रमा नयाँ आयाम थप्दै (भिडियोसहित)

उनी १४ वर्षकी थिइन् । घरमा भर्खरै आमाबुबाले माइक्रोवेब र बेकिङ गर्ने केही भाँडा ल्याएका थिए ।
उनमा बेकरीप्रति छुट्टै रुचि थियो । टीभीमा केक बनाएको हेरेर बनाउने कोसिस गर्थिन् । नजानेर धेरै पटक बिग्रियो पनि ।

तर उनलाई नरमाइलो भने लागेन । बरू अर्को पटक अझै राम्रो बनाउँछु भनेर हौसला आउँथ्यो ।
हरेक गल्तीले अझ राम्रो बनाउने मौका दिएको महसुस हुन्थ्यो उनलाई ।
त्यही रुचिलाई प्रियंका प्रधानले अहिले उद्यमका रूपमा विकास गरेको नाम हो, ‘खरायो बेक्स’ ।

२९ वर्षीया प्रधानले बैंकिङ विषय पढेर पनि मिडिया क्षेत्रमा लगभग ७ वर्षसम्म काम गर्दै आएकी थिइन् । तर उनको मन भने सानैदेखि बेकरीमा थियो ।

कामका कारण कहिल्यै यसमा ध्यान दिन सकेकी थिइनन् ।

तर अघिल्लो वर्षको लकडाउनमा अफिस बन्द भएका कारण उनी घरमै बस्नुपर्ने बाध्यतामा परिन् । काम नभएपछि आम्दानीको स्रोत थिएन । खाली समय सदुपयोग गर्दै उनले आफ्नो बेकरीको रुचि ब्युँताइन् ।

त्यही प्रयासलाई उनको देवर सयुजले साथ दिएका छन् ।

‘जब लकडाउनमा म ३ महिना घर बसेँ, त्यो समय मैले कम्पनीमा सधैँ ९ देखि ५ बजेसम्म काम गर्दा आफ्नो वास्तविक रुचि गुमाइरहेकी रहिछु भन्ने आभास हुन थाल्यो’, उनले भनिन्, ‘राम्रो पैसा कमाइरहे पनि हृदय खुसी थिएन । एउटा धेरामा बाँधिएजस्तो महसुस हुन्थ्यो । तर लामो समयदेखि गरिरहेको जागिर चट्टै छोड्न पनि सकिरहेकी थिइनँ ।’

बेकरी परिकार बनाउने आफ्नो ‘ड्रिम जब’ नै भएको प्रधान बताउँछिन् । यतिसम्मको रुचि थियो कि आफू जागिर हुँदा पनि पाँच बजेपछि अफिस सकेर साथीको बेकरी पसलमा काम गर्नेगरेको तर दुवै काममा हात हाल्दा धपेडी भएर बेकरीमा निरन्तरता दिन नपाएको उनले बताइन् ।

कसैका लागि त्यो लकडाउन अभिसाप भयो भनी प्रियंका प्रधानलाई अवसर भइदियो । यही अवसरबाट अहिले उनले आफ्नो सपना पूरा गर्दै छिन् ।

अहिले खरायो बेक्सले विशेष गरेर ब्राउनी नै बनाइरहेको छ । अहिले ट्रफल, चकलेट स्ल्याब, चोकोबल, प्रोटिन बारजस्ता बेकरी परिकारहरू पनि बनाउन थालेको प्रधानले बताइन् ।

यी सबै बेकरी परिकार प्रधान घरको किचेन खाली भएको बेलामा आफैँ बनाउँछिन् । उनको देवर सयूजले भने यसको मार्केटिङ र डेलिभरी हेरिरहेका छन् । उनीहरुको आफ्नै खरायो डेलिभरी पनि सुरु भएको थियो ।

‘पहिलो पटक अर्डर आउँदाको खुसी शब्दमा भन्नै सक्दिनँ’ उनले भनिन्, ‘अर्डर आउँछ भन्ने थाहा थियो तर त्यति खुसी भइएला भन्ने सोचेकी थिइनँ । म यति भन्न चाहन्छु, दिस इज पर्सियस मुमेन्ट अफ माइ लाइफ ।’

खरायो बेक्स सुरु गर्दा प्रियंकाको भर्खरै बिहे भएको थियो । घरमा पनि समय दिनुपर्ने थियो तर ग्राहकका निम्ति अझ कसरी राम्रो र मीठो बनाउने भन्ने कुराले पनि आफू दिनरात यसैमा लागिरहेको प्रधानले बताइन् ।

‘सुरुमा हामी राति दुई बजेसम्म ब्राउनी बनाएर बस्थ्यौँ । बनाएर परिवारका सदस्यहरूलाई चखाउँथेँ । उनीहरूले राम्रो छ भनेपछि बल्ल फाइनल गथ्र्यौँ’, प्रधानले भनिन् ।

परिवारले पनि यसमा साथ दिएको र यस्तो सहयोग पाउँदा आफूलाई खुसी लागेको उनी बताउँछिन् ।

अहिले खरायो बेक्सका परिकार पूरा ‘फुल अफ ह्यापिनेस बाकस’ भनेर किन्न पाइन्छ । त्यो पूरा बाकसको मूल्य १३ सय ६० रुपैयाँ पर्छ । दशैँ, तिहार, नयाँ वर्ष, आमा–बुवाको मुख हेर्ने दिनजस्ता उत्सवमा बढी अर्डर आउँछ । उनका अनुसार यस्ता चाडपर्वका बेला महिनामा तीन लाख रुपैयाँसम्म कमाइ हुनेगरेको बताउँछिन् ।

हाल प्रधानकी नन्द लसता बज्रचार्यले खरायो बेक्सलाई अगाडि बढाइरहेकी छिन् ।

ग्राहकले खरायो बेक्सको इन्स्टाग्राम र फेसबुक पेजबाट अर्डर गर्न सक्ने प्रधानले बताइन् ।

‘आफूलाई मनपरेको काममा राम्रो कमाइ हुँदा निकै खुसी छु । पहिले जागिरमा बाँधिएकी थिएँ, अहिले पिँजडाबाट निस्किएको चरीझैँ भएको छु’, प्रधानले भनिन्, ‘धेरैलाई बेकरीबाट राम्रो कमाइ हुँदैनजस्तो लाग्छ । तर होइनरहेछ । कोसिस नगरी निर्णय लिन नहुनेरहेछ ।’

आफूलाई इच्छा भएको काम होस् या उद्यम नै किन नहोस् मनदेखि नै गर्नुपर्छ । अनि मात्र आफ्नो मनैदेखि खुसी भइने प्रधानले बताइन् ।

जसले नयाँ काम सुरु गर्दै हुनुहुन्छ, हजुरहरू नआत्तिनुस्, आँट गर्नुस् र त्यसलाई अगाडि बढाउन मिहिनेत गर्न थाल्नुस् । आफूलाई थाहा छैन भनी साथीहरूसँग सल्लाह लिनुस् । एकदिन पक्कै पनि सफलताको उचाइतर्फ पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?