मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

पोखरा, २ वैशाख । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए ।भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी र आमाले मजदूरी गरी परिवारको गर्जो टार्दै आएकी छन् ।राष्ट्रिय भर्ना अभियान, २०७५ को आज यहाँ शुभारम्भ गर्दै उनले बेरोजगारी समस्या समाधान गर्न गुणस्तरीय शिक्षा अपरिहार्य भएकामा जोड दिए ।कार्यक्रममा उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले गुणस्तरीय शिक्षाका माध्यमबाट उत्पादित जनशक्तिले जीविकोपार्जन गर्न सक्ने अवस्था सिर्जना हुनुपर्ने बताए ।महानगरपालिका – ७ का वडाध्यक्ष रामचन्द्र बरालले भर्ना अभियान सम्पन्न पार्न सबैको सहकार्य आवश्यक हुने बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन र विद्यार्थीका सुविधालाई लक्ष्य गरी बस सेवा सञ्चालन भइसकेको बताए ।विद्यालयका प्रअ केदारनाथ अधिकारीले भर्ना अभियानअन्तर्गत हालसम्म निजी विद्यालयबाट ६० नयाँ विद्यार्थी भर्ना भइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?