४ कम्पनीको इन्साइडर ट्रेडिङबारे परेको उजुरीविरुद्ध अर्को उजुरी, के भन्छ सेबोन ?

काठमाडौं  । ४ कम्पनीमा इन्साइडर ट्रेडिङ र कर्नरिङ भएको भन्दै नेपाल धितोपत्र बोर्डमा छानबिनका लागि परेपछि उजुरी गर्ने लगानीकर्ताविरुद्ध कारबाहीको माग गर्दै अर्का लगानीकर्ताले काउन्टर उजुरी दिएका छन् ।

बदनियत राखी निवेदन दर्ता गर्ने ध्रुवप्रसाद भट्टराईमाथि छानबिन गरी कारबाही गरी क्षतिपूर्तिसमेत भराइपाऊँ भन्दै अर्का लगानीकर्ता भीष्मप्रसाद संग्रौलाले नियामक निकाय बोर्डमा निवेदन दिएका हुन् ।

अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर, रैराङ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावरसहित अधिकांश हाइड्रोपावर कम्पनीमा इन्साइडर ट्रेडिङ भएको भन्दै छानबिन गर्न माग गर्दै ध्रुवप्रसाद भट्टराईले भदौ २८ गते सोमबार बोर्डमा उजुरी दिएका थिए ।

उक्त कम्पनीहरुको बारेमा निराधार हल्ला फिँजाएर उक्त कम्पनीको मूल्यमा प्रभाव परी चलखेल गर्ने बदनियत राखेको भन्दै अर्का लगानीकर्ता भीष्मप्रसाद संग्रौलाले बोर्डमा उजुरी गराएका हुन् ।

संग्रौलाले उक्त उजुरीपश्चात ती कम्पनीहरुको बजारमूल्य घट्न गएको र समग्र बजारमा समेत नकारात्मक असर पर्न गई आफूले आर्थिक क्षति बेहोर्नुपरेकोले भट्टाराईलाई प्रचालिक कानुनबमोजिम कारबाही गराई क्षतिपूर्ति भराउन अनुरोध गर्दै बोर्डमा निवेदन दिएका छ ।

साथै उनले भट्टराई आफैँले सेयर कर्नरिङ गरी सबै सेयर बेची अकुत सम्पत्ति अहिले बजारबाहिर रहेको र बजारविरोधी गतिविधिमा संलग्न रहेको समेत आरोप लगाएका छन् ।

के भन्छ सेबोन ?

उक्त उजुरीहरु सेबोनको उजुरी शाखामा पुगिसकेको र उजुरी शाखाले हेरिसकेपछि अध्ययन गरी छानबिन गरिने नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले लोकपथलाई जानकारी दिए । ‘आएका डकुमेन्टहरु हामीले हेर्नुपर्यो, हेरिसकेपछि कुरा के हो भन्नेबारे हामी बोल्छौँ ‘, उनले भने ।

इन्साइडर ट्रेडिङ के हो ?

धितोपत्रसम्बन्धी ऐन नियमको व्यवस्थाबमोजिम लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ ।

यस प्रकारको कारोबार गर्न धितोपत्रसम्बन्धी ऐननियमले बन्देज गरेको छ । इन्साइडर ट्रेडिङमा कम्पनीका अध्यक्षसहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखा अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरु, लेखापरीक्षकलगायतको संलग्नता हुने सम्भावना उच्च हुन्छ ।

धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्ड सजाय

भित्री कारोबार : (१) कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ ।

स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि ‘भित्री सूचना वा जानकारी’ भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनैखास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भित्री कारोबार भएको भन्ने कारणले मात्र भइसकेको कारोबारमा कुनै असर परेको मानिने छैन ।

के छ सजाय ?

भित्री सूचना सार्वजनिक गरी झुटो कारोबार गरेमा, मूल्यमा उतारचढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र एक वर्ष कैद वा दुवै कारबाही हुने उल्लेख छ ।

झुक्याउने विवरण दिएमा, जालसाजीयुक्त कारोबार गरेमा, लिखत विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा १ देखि ३ लाख जरिवाना, २ वर्ष जेल वा दुवै सजाय हुने व्यवस्था रहेको छ । ऐनमा भएको कुरा बर्खिलाप गरे ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?