प्याङगाउँ : न प्याङ न गाउँ (भिडियोसहित)

नाम सुन्दै नौलो । ललितपुरको गोदावरी नगरपालिका-११ मा अवस्थित यो सानो नमूना गाउँ अर्थात् प्याङगाउँ ।

ललितपुरको लगनखेलस्थित बसपार्कबाट करिब ७ किमिको दूरीमा रहेको छ, यो गाउँ । जहाँ पुग्न अहिले सार्वजनिक बस पनि पाइन्छ ।

बसबाट यात्रा गर्दै हुनुहुन्छ भने कम्तीमा एक घण्टा लाग्छ प्याङगाउँ पुग्न । यदि तपाईं आफ्नै सवारीसाधनबाट यात्रा गर्दै हुनुहुन्छ भने आधा घण्टाभित्रै त्यहाँ पुग्न सकिन्छ ।


प्याङगाउँको मुख्य सडक अहिले अन्यत्रजस्तै सहरीकरण भइसकेको छ । बसपार्कबाट करिब पाँच मिनेटको पैदल यात्रापछि सुन्दर पोखरी र कलात्मक स्वागत गेट भेटिन्छ । यो पुरानो बस्ती मुख्य प्रवेशद्वार नै यही हो । यहाँबाट करिब १० मिनटेको पैदल यात्रापछि गाउँको पुछारमा पुगिन्छ ।

ललितपुरको एउटा नमूना बस्ती हो यो । मुस्किलले एक सय घरधुरी ।

ठाउँ-ठाउँमा पाटी, त्यहाँ आराम गरिरहेका आमाबुबा, दाजुभाई र दिदिबहिनीहरू । गुच्चा खेलिरहेका छन्, बालबालिकाहरु ।
मुख्य सडकको दुईतिर घरहरू । सीमित संख्यामा मात्रै पुरानो घरहरू छन् ।

अन्यत्रझै यहाँ पनि सिमेन्टका घरहरू थपिँदै गएका छन् । घरका भित्तामा कलात्मक शैलीमा झुण्ड्याएका खुर्सानी, भटमास र मकै । खाल्डाखुल्डी सडक । ठाउँ-ठाउँमा धारा । दुईवटा मन्दिर ।

यो पृथक खालको नेवार बस्ती हो । यहाँ महर्जन समुदायको बसोबास छ । महर्जन समुदाय भए पनि यहाँ बोलिने नेवारी भाषा नजिकै रहेको मूल सडकमा रहेका महर्जनहरूले बोल्नेभन्दा विल्कुलै फरक छ । स्थानीय कृष्ण महर्जन भन्छन्, ‘हामीसँगै यो भाषा पनि लोप हुने पक्का छ ।’

यो गाउँको पुरानो नाम हो, संगु र गामल । गामलबाट अपभ्रंश भई गाम्ले पनि भन्ने गरिन्छ । गामल, गाम्ले हुँदै एक्कासि गाउँको नाम नै परिवर्तन भएर कसरी प्याङगाउँ रहन पुग्यो त ? यसको पनि छुट्टै कथा छ ।

किंवदन्तीअनुसार भक्तपुरका मल्ल राजा शिकार खेल्दै दक्षिण ललितपुरको संखु भन्ने ठाउँमा पुगेका थिए । सोही क्रममा राजा र त्यहाँकी एक युवतीबीच शारीरिक सम्पर्क भयो ।

पछि शिशुको जन्म भयो । राजाका श्रीमतीपट्टिका सन्तान भएकाले दरबारले स्वीकार गरेन । त्यसपछि मल्ल राजाले अहिलेको प्याङगाउँमा बसेर संसारमा कतै नभएको अनौठो प्याङ पाथी बनाएर बेचबिखन गरी खान आदेश दिए । सोही आदेशअनुसार यहाँ यो बस्ती बसेको र प्याङ पाथी बनाउने चलन चलेको जनविश्वास रहिआएको छ ।

त्यसो त यहाँका स्थानीयहरू आफूहरूको पुख्र्यौली थलो साँखु भएको बताउँदै आएका छन् । त्यसैले यो ठाउँको नाम पनि पुख्र्यौली संखुबाट अपभ्रंश भई संगु रहेको हुनसक्ने कतिपयको अनुमान छ । यहाँका स्थानीय आफूहरू मल्ल राजाका सन्तान भएको बताउँछन् ।

मल्ल राजाको आदेशअनुसार यहाँका स्थानीयले पुर्खौंदेखि प्याङ (बासको भाँडाकुँडा ) बनाउँदै आएका छन् ।


अहिले यो बस्ती पनि आधुनिक बन्दै गएको छ भने यहाँ प्याङका भाँडाकुँडा बनाउने क्रम पनि ठप्प प्राय छ । विगत लामो समयदेखि यस्तै प्रकारका भाँडा बनाउँदै आएका स्थानीय महर्जनसँग हामीले कुराकानी गर्‍यौँ ।

अहिले ७९ वर्षीय महर्जन युवा अवस्थामा प्याङ बनाउन साथीहरूसँग बाँस लिन गाउँ-गाउँ पुग्थे । ललितपुरको दक्षिणी पहाडदेखि चुरे पहाड र चारकोषे झाडीसम्म पुग्थे रे । त्यसरी बाँसको प्याङ बनाउने, बेच्ने र त्यसबाट खानेकुरा लिएर आउने गरेको उनी बताउँछन् ।

प्याङ बनाउन धेरै मिहिनेत गर्नुपर्ने भएकाले यो भाँडो महँगो पर्ने उनी बताउँछन् । ‘अहिले पनि कोही-कोही प्याङ खोज्दै आउने गरेका छन्’, उनले भने ।

अहिले उनीसँग केही थान प्याङ सुरक्षित छन् । यसको मूल्य दुई सयदेखि १५ सय प्रतिगोटा पर्छ । उनले नयाँ पुस्तालाई पनि प्याङ बनाउन सिकाएका छन् । नयाँ पुस्तालाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

बन्दै गरेका आधुनिक घरहरू, लोपोन्मुख संस्कृति र भेषभुषा अनि हराउँदै गएको प्याङ । यसैकारण एउटा ऐतिहासिक महत्व बोकेको बस्ती प्याङगाउँ अस्तित्व गुमाउने तरखरमा छ । यसको संरक्षण र प्रवद्र्धन गर्नु जरुरी छ । त्यसका लागि स्थानीयलाई प्रोत्साहन गर्नुपर्छ । सरकारले प्याङको बजारीकरण गर्न सहयोग गर्ने हो भने प्याङगाउँको पहिचान जोगिएला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?