काठमाडौं । देशका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
जाजरकोट, नलगाड नगरपालिका-५ ग्रेनीस्थित सडकमा भे।०१ ज ९८७ नम्बरको जिप अनियन्त्रित भई पल्टिएर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका-२ बस्ने ४२ वर्षीय शान्ती रोकाय र जुम्ला गोठीचौर गाउँपालिका-१ मणिसाँघु बस्ने ५५ वर्षीय मंगल महतरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका बारेकोट गाउँपालिका-१ रामीडाँडा बस्ने १५ वर्षीय रुपक बुढा लगायत ६ जनालाई प्राथामिक अस्पताल दुल्लु जाजरकोट पठाएकोमा ३ जना डिष्चार्ज भएका छन् भने ३ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी बाँके, डुडुवा गाउँपालिका-४ राप्ती पुलस्थित सडकमा भे. १ ख १४८३ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा टाउको पुलको खम्बामा ठोक्किँदा बसमा सवार गेरुवा गाउँपालिका(१ पाताभार बस्ने १५ वर्षीय आदर्श परियारको मृत्यु भएको छ । पुलको खम्बामा ठोक्किएर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका-१३ जितगढीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-११ मजुवा बस्ने ३० वर्षीय राजु सिंजापतीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै कञ्चपुर, कृष्णपुर नगरपालिका-५ बालुवा नालास्थित सडकमा म.१ च २८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री सोही नगरपालिका चिनिमिल बस्ने ४५ वर्षीय कृष्ण ऐरको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया