फेरि ‘शुसु’ सुरु गर्छन् माधव नेपालले ?

पूर्वप्रधानमन्त्री । कुनै बेला एमाले मुखिया । त्यसअघि बैंकका खजान्ची । हो, उनी माधवकुमार नेपाल ।

एमालेभित्र चर्को विवाद भएपछि नेपालले चोला बदलेका छन् । अहिले उनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष ।

एमालेको नेतृत्व गर्दा नेपालसँग जोडिएका अनेक किस्सा छन् । कहानी छन् ।

नेपालका पिताजी मंगलकुमार उपाध्याय पण्डित थिए । शिक्षक पनि थिए । निकै अनुशासित पारिवारिक वातावरण उनी हुर्किए ।

तत्कालीन नेकपा मालेका धेरैजसो उपल्ला नेताहरूले अन्तरजातीय विवाह गरे । तर उनले स्वजातीय विवाह गरे गायत्री आचार्यसँग ।

खानपिनको मामिलामा नेपालले आफूलाई सधैँ अनुशासित राखे । चुरोट– अहँ । जाँडरक्सी– दश हात पर । खैनी– सधैँ यी सबैबाट परहेज । आफ्ना वरपरकाहरूले यस्तो अम्बल लिएको पनि मन पराउँदैनन् । चाहे त्यो आफ्नै खर्चमा खाएको किन नहोस् ।

एमालेका केही ‘लाल सिपाही’ले नेपालबाट नराम्रो भेटेका छन् । यी मामिलामा उनलाई ‘हिटलर’ उपमा पनि पाएका छन्, कमरेडहरूको दारु जमघटमा ।

कतिसम्म भने नेपालको ‘जाँड रक्सी सफाया अभियान’ले कुनै बेला एमालेभित्रका मदिरामा मस्त हुन रुचाउने कार्यकर्तालाई पर्नु पीर पर्यो । नेपालले पार्टीमा लागू गर्न खोजेको यो फलामे अनुशासनको न्वारन नै गरेका थिए–‘शुसु’ अर्थात् शुद्धीकरण र सुदृढीकरण अभियान ।
यो अभियान चलाएर नेपालले नेता–कार्यकर्तामाथि डण्डा बर्साउन थालेपछि त्यतिबेला पार्टीभित्रको एउटा पंक्तिमा नेपालप्रति अरुचि जाग्यो ।

२०५० जेठ ३ को दासढुंगा जीप दुर्घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमयी हत्यापछि २०५० जेठ ९ मा एमालेले नेपाललाई सर्वसम्मत रूपमा महासचिव चयन गर्‍यो । त्यसको दुई वर्षपछि २०५२ मा पार्टीभित्र सैद्धान्तिक, संगठानिक, कार्यशैलीगत र नैतिक आचरणमा देखिएका विकृति–विसंगतिका विरुद्ध नेपालले यो अभियान ल्याएका थिए ।

नेपालले त्यसबेला यो अभियानमा ४२ वटा बुँदा समावेश गरेका थिए । यसलाई उनले तीन तहमा विभाजन गरेका थिए । मार्क्सवादी दृष्टिकोण परित्याग गर्ने अराजक प्रवृत्ति लगायत वैचारिक क्षेत्रमा देखा परेका विकृति र विसंगतिहरू हटाउने । यो पहिलो मकसद थियो ।
पदका लागि मरिहत्ते गर्ने, कामको जिम्मेवारीको कुरै नगर्ने लगायत पार्टीको संगठनात्मक क्षेत्रमा देखिएका समस्या निराकरण गर्ने । यो दोस्रो उदेश्य थियो ।

बानीव्यहोरा, आचरण, बोली–व्यवहार, शैली, खानपिन आदि आचरणमा देखा परेका संस्कारमा सुधार ल्याउने । यो तेस्रो लक्ष्य थियो ।
यो अभियानलाई उनले पार्टीभित्र छलफलमा समेत लगेका थिए । अभियानले एमालेभित्र पराकम्प ल्यायो । मदिराप्रेमीहरू ‘लुकेर’ पिउन थाले । नेपालले अभियान सुरु गरेपछिको प्रभावलाई लिएर सार्वजनिक रूपमै टिप्पणी गरेका थिए, ‘अभियानले पार्टीमा सांस्कृतिक रूपान्तरणका निम्ति नयाँ जागरण पैदा गरेको छ ।’

नेपालले २६ वर्षअघि थालेको अभियान थियो यो ।

भदौ ९ मा एमाले विभाजित भयो । नेपालको नेतृत्वमा नेकपा समाजवादी गठन भयो । विगतमा नेपालको ‘शुसु अभियान’लाई अझै पनि बिर्सन नसकेकाहरू केपी ओली मन नपर्दा नपर्दै पनि एमालेमै बस्न रुचाए ।

नेपाल अहिले एमाले छाडेर नेकपा समाजवादीको घरमुली छन् । यो पार्टीका धेरै नेता–कार्यकर्ता कोही मदिराप्रेमी, कोही चुरोटका अम्मली त कोही सुर्तीका सौखिन छन् ।

तर नेपाललाई यी सब कुरासँग बहुत नफरत छ । आफ्नो छेउमा बसेर खाएको पिएको देख्यो कि रिस उठ्छ । कसैले ‘खान्छ रे’ भनेको सुने पनि उनको पारा गरम हुन्छ ।

६९ वर्षमा हिँड्दै छन् नेपाल । अहिले पनि उनको स्वभाव उस्तै छ ।

के नेपालले फेरि उही कथा दोहोर्‍याउलान् ? नेकपा एकीकृत समाजवादीमा पनि ‘शुसु अभियान’ सुरु गर्लान् ? जवाफको प्रतिक्षामा छ यो प्रश्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?