बेरोजगारीले जर्जर बनाउँदै छ नेपाली समाज, जागिरको लागि भौतारिँदै युवा

काठमाडौं । नेपालमा रोजगारी र अवसर निकै जटिल विषयवस्तुहरू हुन् । हाम्रो देश नेपालमा झन् रोजगारी र अवसरको चर्चा सडकदेखि सदनसम्म हुने गर्दछ । विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसले झन् देशलाई चुनौती थपेको छ ।

नेपालको युवाहरू मध्यपूर्व, युरोपदेखि अमेरिका अध्यनको लागि विदेशिएको पाइन्छ । अझै त्योभन्दा बढी रोजगारीको सिलसिलामा हजारौँ, लाखौँ युवाहरू विदेशिएको पाइन्छ । नेपालमा युवाहरू पथ निर्देशकको अभावमा भौतारिरहेका छन् ।

नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा विदेशिएका छन् । स्वदेशमै रोजगारी र अवसर प्राप्त भइदिएको भए यसरी अधिकांश युवा विदेशिने थिएनन् । गाउँघरतिर हेर्ने हो भने शून्य भएको छ । साना केटाकेटी र वृद्धाबाहेक युवाहरू सबै विदेश पलायन भएका छन् । बस्तीहरू युवाविहीन बन्दै गएका छन् ।

कोरोना माहामारीले हजाराँै युवा रोजगारी गुमाएर घर फर्केका छन् । यसले झनै बेरोजगारीको समस्या थपिदिएको छ । काम गर्ने युवाहरू सबै विदेश पलायन हुँदा कृषियोग्य जमिनहरू सबै बाँझो हुँदै गएका छन् । माहामारी, राजनीतिक अवस्थाजस्ता विविध कारणले थलिएको नेपालले देशमै भएका युवाहरूलाई त रोजगारी दिन सकेको छैन भने विदेशबाट फर्किएका युवालाई कसरी रोजगारी दिने ? यो देशको लागि र जनताको लागि पनि निकै चुनौतीको विषय हो । कतिपय उच्च शिक्षाका लागि प्रक्रिया पूरा भए पनि जान नपाएर हजारौँ युवायुवती मानसिक तनावबाट गुज्रिरहेका छन् ।

स्वदेशमै रोजगारीका नयाँ सम्भावना खोज्न त्यति सहज छैन । राज्यले लगानीको वातावरण र प्रतिफलको सुनिश्चितता गर्न सकेको छैन । जसले गर्दा वैदेशिक लगानी भित्रिन सकेको छैन । महामारीको कारणले भएका सबै व्यवसाय बन्द हुने अवस्थामा पुगिसकेका छन् । त्यसबाट व्यवसायीको लगानी त डुब्यो नै सँगसँगै धेरै जनाको रोजिरोटी पनि खोसिएको छ ।

राज्यले रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकाशका निम्ति क्रियासिल रहेका कोषहरूको परिणाममुखी नतिजा दिन सकेको छैन । युवालक्षित कार्यक्रमलाई एकीकृत गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदमार्फत सञ्चालन गर्न सकेको छैन । देशमा लगानीमैत्री वातावरण नहुँदा रोजगारीको अवसरहरू न्यून हुँदै गएका हुन् । युवा बेरोजगारी बढेको छ । युवाभन्दा पनि शिक्षित युवा बेरोजगारी बढेको छ ।

देशमा पर्याप्त रोजगारीका अवसरहरू सिर्जना हुन नसक्नु, सीप विकास र रोजगारीबीच तालमेल नहुनु र देश विकासमा आवश्यक पर्ने श्रमशक्ति बाहिरिनु समस्याको रूपमा रहेको छ । जसले गर्दा आज विकास निर्माणका काममा श्रमिक मजदुरको अभाव हुन थालेको छ । विशेषगरी नेपालमा श्रम संस्कृतिको अभाव छ । श्रमको सम्मान पनि छैन । युवा विकासका लागि नीति तथा कार्यक्रमको अभाव छ । भएका कार्यक्रमहरूको पनि कार्यान्वयनमा चुनौती छ ।

देश विकासको अभियान सफल बनाउने हो भने युवाहरूमा लगानी गर्नुपर्दछ । विकासमा युवा रोजगारीको नयाँ अवसरका लागि तत्काल कृषि र पर्यटनमा बढाउन आवश्यक छ ।

कृषिमा युवाको आकर्षण बढाउन व्यावसायिक कृषिमा जोड दिन जरुरी छ । जसका लागि युवालाई ज्ञान सीप, पुँजी र प्रविधि हस्तान्तरण गर्नुपर्छ । यस्ता कार्यक्रमलाई अघि बढाइयो भने स्वदेशमै युवाहरूले रोजगारी प्राप्त गर्न सक्छन् ।

कतिपय युवाहरू पैसा कमाउने र भविष्यको सुन्दर सपना देखेर विदेशिएका हुन्छन् तर कतिपयले भने जस्तो काम नपाएर फर्किनुपर्ने अवस्था आउँछ भने कतिपयको त विदेशमै मृत्यु समेत हुनेगरेको तितो सत्य अवगतै छ । घर परिवारकै खम्बा भनिएका छोराछोरीको वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएका खबरहरूले कति मर्माहत छन्, परिवार ।

कति नवविवाहित महिलाको सिउँदोको सिन्दुर मेटिएको छ भने कति बालबालिका बालाखामै टुहुरा भएका छन् । कति सपना अधुरै सकिएका छन् । यो प्राय सबै निम्न वर्गका नेपालीहरूले भोग्दै आइरहेको पीडा हो ।

विदेशमा सिकेको ज्ञान सीप, अनुभव र पुँजीलाई उपयोग गरी युवाहरूले आफ्नै प्रयासमा व्यवसाय सुरु गरेका पनि छन् । पछिल्लो समय नेपालमा विदेशबाट फर्केका युवाले उद्यमशीलताको क्षेत्रमा गतिलो उदाहरण पेस गरेका छन् ।

पुँजी र प्रविधिका साथसाथै युवाशक्तिलाई समयको गतिसँगै परिचालन गर्न सकेमा विकासले गति लिन सक्छ । यसका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्छ । त्यसैगरी, युवा रोजगारीका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना र कार्यक्रम तय हुनुपर्छ । युवालाई सिर्जनशील बनाउन देशभित्र अवसर सिर्जना गर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?