अर्थमन्त्री र गभर्नरको केमेस्ट्री : किन भइरहन्छ सधैँ धरमर ?

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको सम्बन्ध केही चिसिएको छ ।

राष्ट्र बैंकले सरकारलाई नै अप्ठ्यारो पार्ने गरी नीति लिएपछि अर्थमन्त्री गभर्नर अधिकारीसँग रुष्ट बनेका छन् । अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीचको सम्बन्धमा चिसोपना त्यतिबेलादेखि सुरु भएको थियो, जतिबेला मौद्रिक नीतिको पूर्वसन्धामा नयाँ सरकार आयो । नयाँ सरकार आएसँगै अर्थमन्त्री जनार्दन शर्माले बजेट संशोधनदेखि मौद्रिक नीति प्रभावित बताए ।

अर्थमन्त्री शर्माले सार्वजनिक गर्ने तयारीमा रहेको मौद्रिक नीतिमाथि चासो देखाएपछि करिब एक महिनासम्म प्रभावित बनाएका थिए । अर्थमन्त्री शर्माले मौद्रिक नीति हस्तक्षेप गरे पनि गभर्नर अधिकारीले भने आफ्नो स्ट्यान्ड लिन सकेनन् । हरेक वर्ष जेठ १५ मा बजेट सार्वजनिक गरेपछि राष्ट्र बैंकले सो बजेटको कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीति सार्वजनिक गर्छ । तर यसपाली भने गभर्नर अधिकारीले करिब एक महिना ढिला गरी मौद्रिक नीति सार्वजनिक गरेका थिए ।

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच सम्बन्ध चिसिनुमा यति मात्रै कारण छैनन् । सार्वजनिक हुनुभन्दा अगावै चुहिएको मौद्रिक नीति सार्वजनिक भएपछि बजारमा एकाएक बैंकिङ प्रणालीबाट तरलता (लगानीयोग्य रकम) हराउनु, सेयर बजारमा उथलपुथल आउनुलगायतका विभिन्न विषय रहेका छन् ।

यी विषयहरुका कारण अर्थनन्त्रमा नै नकारात्मक असर परेको भन्दै गभर्नर अधिकारीसँग अर्थमन्त्री शर्मा रुष्ट भएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव संकलन गर्दै गर्दा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई असर गर्ने कुनै पनि नीति नल्याउन सुझाव दिएका थिए ।

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीचको यो चिसोपन त उदाहरण मात्रै हो । यस्ता उदाहरण हाम्रो राजनीतिमा थुप्रै छन् । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालबीचको सम्बन्ध पनि सधैँ चिसो नै रह्यो ।

पूर्वअर्थमन्त्री खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर समेत भएकाले उनले आफू अर्थमन्त्री हुँदा राष्ट्र बैंकलाई निकै हस्तक्षेप गरे । अर्थमन्त्रीका रुपमा सबैभन्दा बढी हस्तक्षेप गर्ने अर्थमन्त्रीका रुपमा डा. खतिवडा देखिन्छन् । उनले आफू अरुको तुलनामा बढी विषय गत ज्ञान भएको तथा अर्थतन्त्रको जानकार भएको भन्दै अरुलाई हेप्ने प्रवृत्ति उनमा थियो ।

किन मिल्दैन अर्थमन्त्री र गभर्नरको केमेस्ट्री ?

अर्थमन्त्री राजनीतिक पृष्ठमूमिबाट आएका हुन्छन् । उनीहरुले जनताका इच्छा र चाहनाहरु पूरा गर्नुपर्ने हुन्छ । त्यसैले अर्थमन्त्रीहरुले सकेसम्म चर्चित खालका कार्यक्रमहरु ल्याउन चाहन्छन् । स्पष्ट भाषामा भन्नुपर्दा अर्थमन्त्रीहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि बजेट छर्न चाहन्छन् ।

तर गभर्नरको हकमा त्यसको ठीक उल्टो हुन्छ । गभर्नरले सकेसम्म पैसाको प्रवाहलाई कम गरेर बजारमा सन्तुलन गर्ने प्रयास गरेका हुन्छन् । त्यसैले अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध खासै सुमधुर हुन सक्दैन ।

नेपालको इतिहासमै चारवटा अर्थमन्त्री भोग्ने गभर्नर हुन्, चिरञ्जीवी नेपाल । नेपालका अनुसार संसारका कुनै पनि मुलुकहरुमा यस्ता विवाद निरन्तर भइरहन्छन् । गभर्नर भनेको पूर्ण रुपमा वित्तीय क्षेत्रलाई नियमन गर्ने र स्थायित्व भएको संस्थाको प्रमुख पनि हो । मन्त्री भनेका एक वर्ष छ महिनामा परिवर्तन भइरहन्छन् । त्यसैले उनीहरुले केन्द्रीय बैंकलाई प्रभावित बनाउने प्रयास गरिरहने डा. नेपालको बुझाइ छ । ‘मेरो पालमा पाँचवटा अर्थमन्त्रीसँग काम गर्नु प-यो, तर कुनैसँग पनि मेरो सम्बन्ध त्यति राम्रो भएन’ उनले भने । अर्थ मन्त्रीहरुले राष्ट्र बैंकलाई बलियो देख्ने भएकाले हस्तक्षेप गर्न चाहन्छन् ।

डा. खतिवडाको राष्ट्र बैंकमाथि यति हस्तक्षेप बढेको थियो कि उनी अर्थमन्त्री हुँदा उनको ९० प्रतिशत ध्यान राष्ट्र बैंकमा र अर्थमन्त्रीका हैसियतले १० प्रतिशत मात्रै सरकारको काम गर्नेगरेको डा. नेपालको भनाइ छ । राष्ट्र बैंकको गभर्नरको पावर देखेर कतिपय अर्थमन्त्रीहरुलाई जलन समेत हुने गरेकाले अर्थमन्त्री र गभर्नरबीचमा खासै राम्रो सम्बन्ध नहुने उनको तर्क छ ।

समग्रमा गभर्नर वित्तीय क्षेत्रलाई पूर्ण रुपमा सन्तुलित रुपमा अगाडि बढाउने भएकाले क्षणिक रुपमा आउने अर्थमन्त्रीसँग मत मिल्न सक्दैन । अझ स्पष्ट रुपमा भन्नुपर्दा अर्थमन्त्री र गभर्नरबीचको राष्ट्रिय स्वार्थ मिल्दैन । त्यसैले प्रायः अर्थमन्त्री र गभर्नरबीच विवाद भइरहन्छ ।

‘अर्थमन्त्रीले जनता खुसी पार्नुपर्ने र गभर्नरले वित्तीय प्रणाली सन्तुलनमा राख्नुपर्ने भएकाले मत मिल्दैन’, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भने ।

अर्थमन्त्रीहरुले राजनीतिक रुपमा आफ्ना समर्थकबीच चर्चा पाउन मनपरी बजेट छर्ने गर्छन् भने गभर्नरहरुले त्यसलाई नियन्त्रण गर्दै वित्तीय सन्तुलन राख्न खोज्ने भएकाले अधिकांश अर्थमन्त्री तथा गभर्नरहरुका बीचमा मतभेद हुने गरेको उनको तर्क छ ।

अर्थमन्त्रीले जस्तो क्षणिक रुपमा बजेट छरेर केही समय चर्चा भए पनि कालान्तरमा त्यसले समस्या निम्त्याउने भन्दै गभर्नरले नियन्त्रण गर्न खोज्दा विवाद हुने क्षेत्रीको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?