पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

चितवन २९ चैत्र । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका स्वर्गीय महाप्रसाद पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।नेकपा माओवादी केन्द्र चितवनका सदस्य पौडेलको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले आफू गुमनाम भएर पनि पार्टीप्रति महत्वपूर्ण भूमिका निर्वाह गर्ने पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।‘हिजो पञ्चायत कालदेखि जनयुद्धकाल हुँदै जनआन्दोलनसम्म आफू गुमनाम भएरपनि पार्टी, आन्दोलन र नेतृत्वप्रति सधैँ इमानदारीतापूर्वक भूमिका निर्वाह गर्ने पौडेल परिवारका सदस्य महाप्रसादको निधनले हाम्रो पार्टीले ठूलो क्षति व्यहोरेको छ’, उनले भने ।चितवन कल्याणपुर निवासी पौडेलको गत चैत्र २३ गतेका दिन निधन भएको थियो । स्वर्गीय पौडेल पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालका माइला भाइ हुन ।उनको निधनले व्यक्तिगत भन्दा पनि पार्टीगत पीडा बढी भएको भन्दै अध्यक्ष प्रचण्डले भने– ‘व्यक्तिगत नाता सम्बन्धका कारण एउटा पीडाबोध हुनु स्वाभाविक हो, तर त्यो भन्दा बढी पीडा एक जना इमानदार सदस्य गुमाउँदा भएको छ ।’इमानदार कार्यकर्ताको निधनले पार्टीलाई ठूलो क्षति पुगे पनि पीडालाई शक्तिमा बदलेर सामाजिक सेवामा लाग्न अध्यक्ष प्रचण्डले नेता कार्यकर्ता र परिवारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?