गुट-उपगुटलाई नेता व्यवस्थापनको सकस

कांग्रेस १४औं महाधिवेशन

शुक्रबारबाट नेपाली कांग्रेस १४औं महाधिवेशनमा होमिएको छ । २०७६ फागुनमै हुनुपर्ने महाधिवेशन क्रियाशील सदस्यता विवादलगायतका विविध कारण देखाएर पटक–पटक सारेर आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेगरी मिति तय भएको छ ।

महाधिवेशनको प्रारम्भिक चरणको रूपमा रहेको वडा अधिवेशन सुरु गरेर कांग्रेसले महाधिवेशनका लागि अघि बढेको सन्देश दिएको हो । यद्यपि शुक्रबार ५६ जिल्लामा वडा अधिवेशन भएको हो । बाँकी २१ जिल्लामा क्रियाशील सदस्यताको नामावली सार्वजनिक हुनेबित्तिकै वडा अधिवेशन सम्पन्न हुनेछ ।

कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएका जिल्लाको वडा अधिवेशन शुक्रबारबाट सुरु भए पनि नामावली सार्वजनिक नभएका जिल्लामा नामावली सार्वजनिक हुनेबित्तिकै वडा अधिवेशन हुने जानकारी दिए ।

कांग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद भदौ २३ बाट सकिने भएकाले त्यसअघि नै वडा अधिवेशनको घान हालेर महाधिवेशन सुरु भएको सन्देश कांग्रेसले दिएको हो । वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुनेछ ।

सभापतिमा देउवा र पौडेल पक्षबीच चर्काे प्रतिस्पर्धा

कांग्रेसको १४औं महाधिवेशनमा मुख्यतया पार्टी सभापतिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । देउवाले आफू पुनः सभापतिमा दोहोरिन चाहेको बताइसेका छन् ।

देउवा पक्षमै रहेका पार्टी उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । देउवालाई लामो समयदेखि साथ दिएका पूर्वउपसभापति गोमालमान श्रेष्ठले पनि सभापतिमा दाबी गरेका छन् ।

संस्थापन पक्षबाट देउवासहित निधि र श्रेष्ठ सभापतिमा उम्मेदवार भए त्यसको फाइदा संस्थापनइतर अर्थात् पौडेल पक्षले उठाउन सक्छ । पौडेल पक्षले सभापतिमा जो लडे पनि साझा उम्मेदवारका रूपमा एक जना मात्रै उम्मेदवार बन्ने बताइसकेको छ । तर वडा अधिवेशनअघि पौडेल पक्षले साझा उम्मेदवारको टुंगो लगाउन सकेन ।

को हो त साझा उम्मेदवार भन्ने निर्णय गर्न पौडेल पक्ष वडा अधिवेशन सुरु भइसक्दा पनि असफल भएको छ । कार्यकर्तासँग भोट माग्न पौडेल पक्षले उम्मेदवार अघि सार्न सकेको छैन । पौडेल पक्षबाट स्वयम् पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसी र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदका आकांक्षी छन् । त्यसैगरी पूर्वमहामन्त्री कृष्ण सिटौला पनि आकांक्षी देखिएका छन् तर उनी कतै खुलेका छैनन् ।

पौडेल पक्षकै केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पौडेल पक्षबाट जो उठे पनि एक जना मात्रै उठ्ने र त्यसका लागि निरन्तर छलफल भइरहेको केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले लोकपथसँग बताए । ‘हामी लोकमत बुझ्छौँ अनि एउटै उम्मेदवार चयन गर्छाैँ’, केसीले भने ।

पौडेल पक्षबाट एक जना मात्रै उम्मेदवार बनेमा देउवालाई सभापतिमा निर्वाचन जित्न त्यति सहज हुनेछैन । निधिले पौडेल पक्षसँग सहकार्य नगर्दा उनलाई पनि सहज छैन । श्रेष्ठको उम्मेदवारीलाई देउवा र पौडेल पक्ष दुवैले निधिको जति महत्व दिएको छैन । पौडेल पक्ष पनि विभाजित हुँदा सभापति हात पार्न सम्भव छैन । कांग्रेसका एक शीर्ष नेता भन्छन्, ‘यदि भोलि निधिले आफ्नो उम्मेदवारीलाई निरन्तरता दिए भने उनको पक्षमा दुवै पक्षका नेताले साथ दिन सक्छन् ।’

सभापतिका उम्मेदवारको पहिलो चरणको मतदानमा यदि आवश्यक प्रतिशत मत आएन भने दोहो¥याएर निर्वाचन गर्नुपर्दा निधिले देउवालाई समर्थन नगर्ने प्रतिबद्धता देखाए उनले दुवै पक्षको मत पाउन सक्नेछन् ।

त्यसैगरी पदाधिकारीमा पनि कांग्रेसका दुवै पक्षमा आकांक्षी धेरै छन् । केही भने खुलेका छन् । तर दुवै पक्षमा आकांक्षी धेरै भएकाले उनीहरूको व्यवस्थापन त्यति सहज छैन । दुवै पक्षमा गुट उपगुट छन् ।

देउवा गुटमा को–को छन् ?

कांग्रेसमा विभिन्न गुट उपगुट रहेका छन् । महाधिवेशनका बेला ती गुट उपगुट अरुबेलाभन्दा बढी बौरिने गर्छन् । अहिले पार्टी सभापति देउवाको गुटमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाश शरण महत, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, एनपी सावद रहेका छन् ।

देउवा गुटमा रहेका महामन्त्री खड्का र सहमहामन्त्री महतको कुरा मिल्दैन, त्यसकारण उनीहरूका आ–आफ्ना उपगुट छन् । त्यसैगरी लेखक र सावदबीच पनि त्यति राम्रो सम्बन्ध छैन । देउवाले लेखकलाई च्यापे सावद बाहिरिने र सावदलाई च्यापे लेखक बाहिरिने अवस्था रहेको देउवा पक्षका एक नेताले लोकपथलाई बताए ।

पौडेल गुटमा पनि धेरै उपगुट

वरिष्ठ नेता पौडेल पक्षको गुटमा धेरै नेता छन् । त्यो गुटमा अन्य उपगुट पनि रहेको छ । महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला पौडेल गुटमा छन् । महामन्त्री शशांकको डा. मिनेन्द्र रिजाल, दीपक गिरी र बद्री पाण्डेसहितकोे उपगुट छ ।

त्यसैगरी पूर्वमहामन्त्री सिंहले आफ्नो छुट्टै उपगुट नबनाए पनि उनलाई विभिन्न नेताको साथ छ । डा. शेखरको उपगुटमा गुरु घिमिरे, शशांकको गुटमा रहेका पाण्डे, रोल्पा सभापति अमर सिंह पुनलगायतका नेता छन् ।

निधि गुट

देउवालाई छाड्ने संकेतसहित सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिलाई शंकर भण्डारी र एनपी सावदको समर्थन रहेको छ । निधिले नेपालमा हिन्दुत्वको मुद्दा उठाए भण्डारी र सावदलगायतका नेताले साथ दिने बताइएको छ । रमेश लेखकलाई देउवाले च्पापेको खण्डमा सावदले निधिको साथ समाउने एक कांग्रेस नेताले बताए ।

सिटौला गुट

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि कांग्रेसमा आफ्नै गुट रहेको छ । अरुबेला गुपचुपजस्तै रहने सिटौलाको गुट महाधिवेशनका बेला बौरिने गरेको छ । १३औं महाधिवेशनमा देउवालाई सभापतिमा जिताउन यो गुट निर्णायक बनेको थियो ।

 

सिटौलाको गुटमा गगन थापा, उमाकान्त चौधरीलगायतका नेता छन् । थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिरहेका छन् । तर उनले पौडेल पक्षको उम्मेदवार बन्ने संकेत गरेकाले सिटौलाले महाधिवेशनमा पौडेल पक्षलाई सघाउन सक्ने कांग्रेस नेताहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?